बालबालिकालाई इन्टरनेटमा नियन्त्रणभन्दा सुरक्षित कसरी हुने भनेर सिकाउनुपर्छ

 फागुन २, २०७९ मंगलबार १३:१८:५१ | अनिल रघुवंशी
unn.prixa.net

नेपाली समाजमा इन्टरनेटको प्रयोगमा अहिले यति धेरै वृद्धि र विकास भइरहेको छ कि प्रायः सबैको हातहातमा मोबाइल र र घरघरमा इन्टरनेट पुगिसकेको छ । यो काठमाण्डौ मात्र नभएर जहाँ फोनको नेटवर्क पुगेको छ त्यहाँ डाटाबाट वा अरु इन्टरनेट प्रदायकहरुको सेवा लिएर पनि इन्टरनेट चलाउने भएकोले बच्चा र युवा मात्र नभएर इन्टरनेट चलाउने हजुरबा, हजुरआमाको सङ्ख्या पनि निकै बढेको छ । इन्टरनेट प्रयोग गर्ने क्रम गएको पाँच वर्षमा धेरै वृद्धि भएको हामीले पाएका छौँ । 

अहिले इन्टरनेटको धेरै प्रयोग सूचना, समाचार र मनोरञ्जनको लागि भइरहेको छ । अर्को भनेको सामाजिक सञ्जालमार्फत् सम्पर्क र सञ्चारको लागि पनि यसको अत्यधिक प्रयोग भइरहेको छ । हाम्रो अध्ययनमा मनोरञ्जनका लागि युट्युबको धेरै प्रयोग भइरहेको छ भने गएको दुई वर्षमा युवाहरु तथा साना उमेरका बालबालिकामा टिकटकको प्रयोग धेरै भइरहेको छ । फेसबुकमा युवाहरुको आकर्षण कम छ भने इन्स्टाग्रामको ठिकै छ । टिकटकले अहिले धेरैलाई आकर्षित गरिररहेको छ । बालबालिकाले पढ्नका लागि प्रोजेक्ट वर्कहरु गर्नको लागि गुगल सर्चको धेरै प्रयोग भइरहेको छ । काम गर्नको लागि इमेल तथा अन्य वेबसाइटहरु प्रयोगका लागि पनि इन्टरनेटको प्रयोग भइरहेको छ । अहिले इन्टरनेटको प्रयोग कामका लागिभन्दा पनि मनोरञ्जन र समय कटाउने मेलोकोरुपमा भइरहेको छ। 

बालबालिकाले रचनात्मक तथा सृजनात्मक कामको लागि पनि इन्टरनेटको प्रयोग गरिरहेका छन् । पहिला पहिला बालबालिका तथा युवाहरुले आफ्नो प्रतिभा देखाउने एउटा उचित प्लेटफर्म पाउन गाह्रो थियो। सोसल मिडियाले गर्दा कसैमा नाच्ने, गाउने, कविता लेख्ने वा ब्लग लेख्ने प्रतिभा छ भने इन्टरनेटले सजिलो बनाएको छ । एउटा प्लेटफर्म दिएको छ । एकैपटक धेरैसम्म पुग्ने माध्यम पनि बनेको छ इन्टरनेट। अहिले कलात्मक र रचनात्मक अभिव्यक्तिको लागि पनि इन्टरनेटको धेरै प्रयोग भइरहेको छ । बालबालिका तथा युवाहरुले आफ्नो प्रतिभा देखाएर आफूलाई चिनाउने तथा पैसा कमाउने माध्यम पनि बनेको छ इन्टरनेट । 

इन्टरनेटमा राम्रा मात्र नभएर नराम्रा कुरा पनि 

इन्टरनेटमा राम्रा कुरामात्र नभएर राम्रा जस्ता देखिने नराम्रा कुराहरु पनि भइरहेका छन् । कसैलाई ठूलो रकमको पुरस्कार पर्यो भनेर ठग्ने, नचिनेको मान्छेले जागिर दिन्छु भनेर ठग्ने, उपहार दिने, पैसा दिने भनेर फसाउने, मानव बेचविखनमा पनि यसको दुरुपयोग भइरहेको छ । सामाजिक सञ्जालमार्फत् सम्बन्ध बढाएर ललाइ, फकाइ गरी बालबालिकाहरुमाथि यौन दुर्व्यवहार गर्ने, अनुचित लाभ लिने जस्ता खराब उद्देश्यले अरुलाई हानी पुर्याउने काम पनि इन्टरनेटमार्फत् भइरहेको छ।

अहिले बालबालिकाहरुका लागि इन्टरनेट पढ्नका लागि, समय बिताउन तथा एकअर्कासँग सम्पर्क तथा कुराकानी गर्न पनि प्रयोग भइरहेको छ । जस्ले गर्दा बालबालिकाहरु अहिले इन्टरनेट नभइ बस्न नसक्ने अवस्थामा पुगिसकेका छन् । अहिले धेरै स्कुलहरुमा फोन लैजान दिइँदैन । इन्टरनेट पनि स्कुल दिएको मात्र चलाउन पाइन्छ । त्यसैले स्कुलबाट फर्किसकेपछि बच्चाले सबैभन्दा पहिले गर्ने काम भनेको नै फोनमार्फत् इन्टरनेट चलाउने हो । भोक लागे पनि सबैभन्दा पहिले उसलाई इन्टरनेट चलाउनु पर्छ । आमाबुबालाई पनि सजिलो हुने भएर होला इन्टरनेट चलाएर कार्टुन देखाएर खाना खुवाउने चलन छ । पछि बच्चाले कार्टुन नहेरी खानै खान मान्दैन । यसमा राम्रो वा नराम्रो दुवै जे-जे कारण भए पनि इन्टरनेटको प्रयोग बढेको छ । 

यसको हानिको सम्बन्धमा चाइल्ड सेफ नेटले युनिसेफसँग मिलेर कोभिडको समयमा गरेको एउटा अध्ययनमा पाँच जनामध्ये एक जना बालिका वा किशोरीले यौन दुर्व्यवहार वा यौनजन्य ‘हेट स्पीच’ पाउने गरेको र त्यो सङ्ख्या दश जनामा एक जना बालक वा किशोर भोग्ने गरेको पाइयो । संसारमा झण्डै पौने पाँच अर्ब इन्टरनेट प्रयोगकर्तामध्ये त्यसमा तीन जनामा एक जना १८ वर्षमुनिको रहेका छन् । यसरी इन्टरनेट प्रयोग गर्ने बालबालिकाहरुले आफूलाई अनलाइनमा कसरी सुरक्षित राख्ने भन्ने बारेमा भने धेरै कमलाई मात्र जानकारी रहेको छ । यसकारण अनलाइनमा हुने हिंसा, शोषण र दुर्व्यवहारबाट धेरै बालबालिकाले आफूलाई सुरक्षित राख्न सकेका छैनन् । उनीहरु जोखिममा रहेर नै इन्टरनेट चलाउने गरिरहेका छन् । 

हामी यसलाई डिजिटल हिंसा नभनिकन हिंसा मात्र भनौँ । किनकि हिंसा भनेको शारीरिक, मानसिक, यौनजन्य अनि विभिन्न किसिमका हिंसा हुन्छन् । डिजिटल भनेको त केवल प्लेटफर्म हो । डिजिटलरुपमा गरिएको हिंसा पनि हिंसा नै हो । कसैको बारेमा गलत सूचना दिएर, कसैलाई नराम्रा सन्देश पठाएर, फोटो, भिडियोको दुरुपयोग गरेर वा गोप्य सूचना सार्वजनिक गरेर वा यौन शोषण गरेर हिंसा गरिरहेको हुनसक्छ । यस्तो हिंसा अनलाइनका माध्यमबाट अफलाइनमा पनि गरेको हुनसक्छ । अनलाइनमा चिनजान गरेर अफलाइनमा भेटघाट गरेर त्यहाँ यौनजन्य हिंसा गर्ने वा शोषण गर्ने हुनसक्छ भने कसैले अफलाइनमै भेटघाट गरी कोही बालबालिकाको फोटो तथा भिडियो पछि अनलाइनमा राखेर त्यसलाई शोषण वा दुर्व्यवहार भएको हुनसक्छ । त्यसकारण अनलाइन र अफलाइनको यो घेरा एकदमै मसिनो भइसकेको छ । अनलाइन, अफलाइन भन्नुभन्दा पनि यो हिंसा नै हो र अनलाइन एउटा माध्यमकोरुपमा धेरै अगाडि बढेको छ। 

हाम्रो अध्ययनमा हिंसा गर्ने दुईथरी मान्छे भेटिए । पहिलो भनेको आफ्नो स्वार्थ पूर्ति गर्नको लागि बालबालिकालाई अनलाइन, अफलाइनमार्फत सम्बन्ध बढाउने, यौन शोषण गर्ने र दुर्व्यवहार गर्ने छ भने अर्को भनेको यसलाई नै माध्यम बनाएर पैसा कमाउने । यसमा भने ठूलो संरचना, सञ्जालमार्फत् अपराध हुने भएकोले यो झनै भयावह छ । दुवै नराम्रा हुन् तर दोस्रो चाहिँ तुलनात्मकरुपमा सङ्ख्या अझ बढी छ । २०१९ मा कोभिड अगाडि नेपाली बालबालिकाको यौन शोषण सम्बन्धी फोटो, भिडियो वा रिपाेर्ट अर्थात् चाइल्ड सेक्सुअल अब्युज मेटेरिएल (सीएसएएम) को साइबर चिप लाइन रिपाेर्ट जुन अमेरिकाको नेशनल सेन्टर फर मिसिङ एक्सपर्टिज चिल्ड्रेन भन्ने संस्था नेटमेकमा संसारभरिको रिपाेर्ट पठाइन्छ।

२०१९ मा नेपालका बालबालिकाहरुको त्यस्तो रिपाेर्ट ६३ हजार वटा परेको थियो । कोभिडपछि २०२० मा त्यस्तो रिपाेर्ट एक लाख ८० हजार पुग्यो, २०२१ म त्यो सङ्ख्या दुई लाख ६० हजारभन्दा बढी बढेको छ । २०१९ देखि २०२१ सम्म यो सङ्ख्या ४ सय १५ प्रतिशतले बढेको देखिन्छ । तर, शोषण गर्नेहरु धेरै भने नेपालका नभएर नेपालभन्दा बाहिरका देशहरुका छन् । यसमा अर्थिक हिसाबले पैसा कमाउने माध्यम बनाउने ठूलो गिरोह देखिएको छ । यसमा केही नेपालीहरु पनि छन्।

आफैँ सुरक्षित हुनुपर्छ  

बालबालिकाहरु आफैँ सुरक्षित हुनुपर्छ र आफ्नो सुरक्षाका कुरा थाहापाउनु पर्छ भन्ने कुरा त छँदैछ । कतिपय घटनामा नेपालमै पनि बालबालिकाले अरुलाई दुःख दिने, अनलाइनमा हिंसा गर्ने, घृणायुक्त सन्देशहरु (हेट स्पीच) पठाउने गरेको पाइएको छ । यसमा कतिपयले रमाइलोको लागि अनि कतिपय अवस्थामा अरुलाई थाहा हुँदैन र आफ्नो परिचय लुकाउन मिल्छ भन्ने ठानेर पनि गरिरहेका हुन्छन् । यसमा परिचय गोप्य राख्न पनि सकिने र तुरुन्तै प्रहरीले समाउन पनि नसक्ने भएका कारण पनि यस्ता घटना भएका हुनसक्छन् । यस्तो कुरा गोप्यरुपमा गर्न सकिन्छ, उत्सुकतावश हुनसक्छ वा साथीहरुले गरिरहेका छन् मैले किन नहुने भनेर पनि हुनसक्छ वा साथीहरुको उक्साहटमा पनि गरेको हुनसक्छ । साथै कसैसँग रिस उठ्यो भने कसैलाई अनलाइनबाटै तुरुन्तै नराम्रो कमेन्ट गर्ने पनि हुनसक्छ । यसमा उनीहरुले वयस्कको सिको गरेको पनि हुनसक्छन् ।

कमेन्टकै कुरा गर्दा प्रत्यक्ष नभेटिने हुनाले पनि यस्ता नराम्रा कमेन्ट गरेको हुनसक्छ । बालबालिकाहरु प्रविधिमा अलि अगाडि नै हुने हुनाले पनि कसरी ह्याकिङ गर्ने, कसरी अरुको सूचना चोर्ने भनेर जानेको हुनाले त्यसको दुरुपयोग गरेर बालबालिकाले दुःख दिने काम पनि गर्छन् । यसमा बालबालिकाले मात्र नभएर ठूलो मान्छेले पनि गर्ने गर्छन्। 

हामीकहाँ बालबालिका वा किशोरकिशोरीसँग घरमा यस्ता हिंसाका बारेमा कुरा गर्ने चलन छैन । अभिभावकलाई पनि कसरी यस्ता कुरा गर्ने, कसरी सिकाउने भन्ने पनि थाहा छैन । आफूलाई शोषण, दुर्व्यवहार भएको कुरा बालबालिका वा किशोरकिशोरीले घरमा भनेको पनि पाइँदैन । अनलाइन नभएर अफलाइन पनि यस्तो कुरा भएको छ भने पनि घरमा भनेको पाइँदैन । जस्तै बसमा चढ्दा किशोरी वा युवतीमाथि दुर्व्यवहार भएको छ भने उनीहरुले घरमा भन्दैनन् । घरमा भनेर पनि केही हुने होइन र सहयोग गर्ने पनि होइन भनेर भनेको पाइँदैन । फेरि घरमा भन्दा अनलाइनमा यस्तो नचिनेको मान्छेलाई यस्तो फोटो, भिडियो पठाएको कुरा भन्दा त झन गाली गर्ने हुँदा घरमा भन्दैनन् । तर, यस्तो कुरा घरमा भन्नुपर्छ । घरमा पनि यस्ता कुरामा सचेत भएर, सिकाएर यस्ता कुरामा सहयोग गर्नु आवश्यक पर्छ । यस्तो कुरा घरमा गर्नुपर्छ र सेफर इन्टरनेटले दिएको यो एउटा अवधारणा पनि हो।

हिंसाको माध्यम इन्टरनेट

इन्टरनेटबाट हुने हिंसा तथा दुर्व्यवहारबाट बालबालिका तथा किशोरकिशोरीलाई जोगाउन सबैभन्दा पहिले उनीहरुले के कुरामा जोखिम छ र के सुरक्षित भनेर उनीहरु आफैँले थाहापाउनु जरुरी छ । अफलाइनमा जसरी हामीले गुड टच र ब्याड टच अनि गोप्य अंग अरुलाई देखाउन तथा छुन दिन हुँदैन भनेर सिकाइन्छ त्यसरी नै अनलाइनमा पनि कस्तो मेसेज आयो भने राम्रो र नराम्रो अनि नराम्रो मेसेज आयो भने कहाँ गएर उजुरी दिने भन्ने बारेमा सिकाउनु पर्छ । विभिन्न सामाजिक सञ्जालमा उमेरको हद तोकिएको छ । जस्तै फेसबुकले १३ वर्षभन्दा मुनिका बालबालिकालाई अकाउन्ट खोल्न पाइँँदैन । तर, हामीकहाँ बाबुआमाले नै बढी उमेरको भनेर बालबालिकाको नाममा अकाउन्ट खोलिदिने गरिएको छ । यसकारण यसो नगरी १३ वर्षभन्दा कम उमेरकाहरुका नाममा अकाउन्ट खोल्न दिनु भएन । आफ्नो नाममा नभए अरु आमाबाबु अनि दाजुदिदीको अकाउन्ट पनि चलाउन दिनु भएन । र, १३ वर्ष माथिकाहरुले पनि आफ्नो अकाउन्ट कसरी गोप्य राख्ने, के कुरा कोसँग गर्ने कुन कुरा घरपरिवार, साथीहरुसँग शेयर गर्ने र नचिनेको मान्छेहरुबाट अनुरोध आयो भने उनीहरुको अनुरोध स्वीकार नगर्ने तथा कुनै कुरामा कसरी कमेन्ट गर्ने र कस्तो कुरामा कमेन्ट नगर्ने भन्ने बारेमा जानकारी राख्नुपर्छ।

अनलाइनमा पनि अफलाइनमा जस्तै आफूले अरुलाई सम्मान दिएमा अरुले सम्मान पाइन्छ, नैतिक मूल्य मान्यताका कुरा अनि कसरी प्रस्तुत हुने भन्ने कुरा हामीले बालबालिकालाई सिकाउन जरुरी छ । अर्को कुरा ‘स्क्रीन टाइम’लाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि सिकाउनु पर्छ । होमवर्कको लागि बस्दा अरु काममा गएर भुल्ने हुँदा यसमा कसरी व्यवस्थापन गर्ने भन्ने पनि जान्नु पर्छ । बालबालिकाले इन्टरनेट चलाउँदा हामी सँगै बसेर नियन्त्रण नभइ कसरी र के हेर्ने भन्ने विषयमा जानकारी गराउन सक्छौँ । उनीहरुलाई केही समस्या पर्दा गाली नगरेर यस्तोमा सम्झाएर के सही र गलत भन्ने बुझाउनु पर्छ । यसमा सहयोग गर्नका लागि सङ्घसंस्था तथा समुदायको पनि त्यत्तिकै दायित्व हुन्छ । यसमा सरकारका तर्फबाट कानुन बनाएर तथा प्रहरीले पनि कसरी उजुरी गर्ने भन्ने बारेमा जानकारी गराउनु पर्छ । यसमा सहज र सरल कानुन बनाएर थप सहयोग गर्न सकिन्छ । यसमा आर्थिकरुपमा पनि लगानी गर्नुपर्ने तथा नेपाल सरकारले बनाएको कानुनमा अहिले व्यावहारिकरुपमा कसरी लागू गर्नुपर्ने पनि देखिन्छ ।

नियन्त्रण होइन सुरक्षित

इन्टरनेटको प्रयोग बढ्यो व्यापार बढ्यो भनेर मात्र पुग्दैन । जसरी बाटो बनाउँदा कालोपत्र गरेर मात्र पुग्दैन त्यहाँ ट्राफिक लाइटदेखि, जेब्रा क्रसिङको व्यवस्था गर्नुपर्ने हुन्छ त्यसैगरी इन्टरनेटमा पहुँच मात्र भएर पुग्दैन त्यसलाई सुरक्षित बनाउन पनि आवश्यक छ । अब इन्टरनेट सुरक्षित बनाउने पहिलो काम भनेको सेवा प्रदायकको हो, अर्को भनेको यसलाई नियमन गर्ने दूरसञ्चार प्राधिकरण जस्ता निकायको हो । अहिले डिजिटल युग भएको कारणले पनि यसमा सम्बोधन गर्नुपर्ने देखिन्छ । इन्टरनेटलाई सुरक्षित गर्ने कुरामा साना कक्षाहरुबाट यसलाई पाठ्यक्रममा समावेश गर्नका लागि सरकारको नीति तथा बजेटमा पनि यसलाई स्थान दिनु जरुरी छ । 

इन्टरनेट प्रयोगकर्ताहरुले पनि बालबालिकाहरुले पनि हेर्न सक्छन् भनेर कस्ता किसिमका सामग्रीहरु राख्ने भनेर विचार गर्नुपर्छ । सिनेमामा यस्ता कुराहरुमा सेन्सर गर्ने गरिन्छ तर सिनेमा आउनु अगाडि नै त्यसको पोष्टरहरु तथा ट्रेलर भने युट्युबलगायतका सञ्जालमा आइसकेको हुन्छ । जहाँ सेन्सर भएको हुँदैन र हिंसा तथा यौनजन्य कुराहरु पनि आइरहेको हुन्छ । त्यस्तो कुरा बालबालिकाले पनि हेरिरहेका हुन्छन् । अफलाइनको कुरा गर्दा बाटोमा पोष्टरहरु उनीहरुले हेरिरहेका हुन्छन् । सिनेमामा वयस्कका लागि भनेर छुट्टयाए पनि पोष्टरमा त्यसो गरिएको पाइँदैन र पोष्टर बालबालिकाले पनि हेर्छन् भन्ने सोचेर यस्ता कुराहरु पोष्टरमा राख्नु हुँदैन । जस्ले नियतवश यस्तो गर्छन् उनीहरुले पनि कानुनीरुपमा यो वर्जित छ भनेर गर्नुभएन । यदि यसमा उजुरी पर्यो भने साइबर ब्युरो तथा हेल्पलाइनहरुले पनि यसलाई कसरी समाधान गर्ने भन्ने जान्नुपर्छ । 

साइबर शिक्षा वा इन्टरनेट शिक्षाका बारेमा हामी अभिभावकले पनि धेरै काम गर्नुपर्ने देखिन्छ । हाम्रो अध्ययनमा यसमा धेरै सहरिया अभिभावक यसमा जोखिम छ भनने बारेमा सचेत हुनुहुन्छ, जानकार पनि हुनुहुन्छ तर, अपराध वा दुर्व्यवहार भइहालेमा के गर्ने भन्ने अन्यौल छ । साक्षरता तथा डिजिटल साक्षरतामा जो कमजोर हुनुहुन्छ यस्ता कुरामा पनि कमजोर हुनु स्वाभाविक नै भइहाल्यो । यस्ता अभिभावकलाई पासवर्ड कसरी राख्ने र कसरी सुरक्षित राख्ने भन्ने पनि जानकारी छैन । त्यस्तो अवस्थामा सुरक्षाको कुरा गाह्रो छ । यसकारण यस्तो बेला अभिभावक शिक्षा एकदमै जरुरी छ । यसका लागि चाइल्ड सेफले अभिभावक शिक्षा कसरी प्रभावकारी बनाउने भनेर अध्ययनको साथै कस्ता सामग्रीहरु समावेश गर्ने भनेर २०२३ को जनवरीबाट सुरु गरेको छ । त्यसको परिणाम अनुसार अभिभावक शिक्षामा हामी काम गर्छौँ । यसका लागि हामीले हामीले स्कुल, अभिभावक सङ्घ, सञ्चार माध्यम आदिबाट पनि सचेत गराउने काम गर्छौँ । यसका बारेमा चाइल्ड सेफ नेटको फेसबुक तथा युट्युब साथै वेबसाइटमा पनि गएर हेर्न सकिन्छ । यसका बारेमा जानकारी वा रिपाेर्ट गर्नुपरेमा हामीलाई फेसबुक पेजमा पनि सम्पर्क गर्न सकिन्छ ।

इन्टरनेटबाट हुने जोखिमलाई कम गर्न बालबालिकालाई इन्टरनेटको पहुँचबाट नै वञ्चित गर्ने भन्ने कुरा चाहिँ ठीक होइन । घरमा इन्टरनेट चलाउन नदिए पनि साथीकहाँ वा अन्त कतै गएर उनीहरुले चलाउँछन् सुरक्षितरुपमा चलाउन जानेन भने दुर्घटना त हुन्छ नै । यसरी नियन्त्रण गरेर, लुकाएर समाधान हुँदैन । बरु बुझाएर अनि बालबालिकालाई नै अगाडि ल्याएर यसमा सचेत बनाएको खण्डमा बरु समाधान हुन्छ । यसमा नियन्त्रण भन्दा पनि कसरी सुरक्षितरुपमा चलाउने भनेर सिकाउनु पर्छ । हामीले इन्टरनेट चलाउनु हुँदैन भन्ने होइन कसरी चलाउने, कति समयसम्म चलाउने, कुन साइट उपयुक्त हुन्छ, कुन होइन र के-के हुनसक्छ र भयो भने के गर्ने भन्ने कुराहरुको बारेमा सिकाउन आवश्यक छ । चलाउनै नदिएर यसको समाधान हुँदैन । 

कानुनमा पनि सुधारको जरुरी

नेपालमा इन्टरनेटमार्फत् हुने अपराधका लागि विद्युतीय कारोबार ऐन २०६३ रहेको छ । त्यसको धारा ४७ का अनुसार कसैले अनलाइनमा गालीगलौज गरेमा दुर्व्यवहार गरेमा सजाय हुने व्यवस्था छ । यो अनलाइनमार्फत् हुने आर्थिक ठगीका लागि बनाइएको कानुन हो । यसमा कसैको फोटोको दुरुपयोग भयो, मानहानी भयो भने धारा ४७ ले सम्बोधन गर्छ । यसमा पछि महिलामाथि हुने दुर्व्यवहारको कुरालाई लिएर महिला भन्ने शब्द पनि थपिएको छ । तर, यसमा बालबालिका भन्ने शब्द छैन ।

अहिले साइबर ब्युराेले पनि यही कानुन चलाउने गरेको छ । तर, यसमा धेरै कमी, कमजोरी देखिन्छ । यसको पहिलो कमी, कमजोरी भनेको यस कानुन अन्तर्गत परेको मुद्दा केवल काठमाण्डौ जिल्ला अदालतले मात्र हेर्न मिल्छ । अब यसका लागि यदि मुद्दा गर्नुपर्यो भने ७७ जिल्लाका मान्छे काठमाण्डौ जिल्ला अदालत आउनु पर्यो ।

साइबर ब्युराेले यसमा केही काम त गरिरहेको छ । तर, यसको धेरै लामो प्रक्रिया हुन्छ त्यसकारण यसको विकेन्द्रीकरण हुनु जरुरी छ । यसको अर्को समस्या भनेको घटना भएको ३५ दिन भित्र उजुरी गरिसक्नु पर्छ । यसको हदम्यादलाई लिएर समस्या छ । यसमा समय बढाएर एक, दुई वर्ष गर्ने भन्ने कुरा पनि चलिरहेको छ । यसमा बालबालिका सम्बन्धी ऐन २०७५ पनि छ । ऐनको धारा ६६ मा बालबालिकामाथि हुने अनलाइन तथा अफलाइन यौन दुर्व्यवहारको परिभाषा सबै छ । यसमा विद्युतीय कारोबार ऐन भनेर सजाय कम छ । यो परिभाषामा उनीहरुको चित्र बनाएको, ग्राफिक्स बनाएको लगायतका कुरालाई पनि परिभाषित गरिएको छ । यसमा सजाएको बारेमा पनि विस्तृतमा लेखिएको छ । ऐनमा जहाँबाट पनि उजुरी गर्न सकिने र जुनसुकै अदालतले पनि हेर्न मिल्ने भन्ने छ । तर, यसको प्रयोग भने एकदमै कम वा छैन नै भने पनि हुन्छ । 

विद्युतीय कारोबारमा हदम्याद ३५ दिन भए पनि बालबालिका सम्बन्धी ऐन २०७५ मा भने उनीहरु १८ वर्ष पुगेको एक वर्षसम्म अर्थात् १९ वर्षसम्म उजुरी गर्न पाउने व्यवस्था गरिएको छ । यो विद्युतीय कारोबार ऐनभन्दा प्रगतिशील त हो तर, यो पनि अपर्याप्त देखिन्छ । यौन अपराधका कुरामा एकवर्षसम्म मात्र उजुरी गर्न पाउने भन्न पनि मिल्दैन । यस्तो कुरा हामीले समाचारहरुमा पनि देखिरहेका तथा सुनिरहेका छौँ । हामीकहाँ ऐनको रुपमा ऐन, कानुन छन् तर उपयुक्तरुपमा त्यसको प्रयोग भएको छैन र त्यसलाई परिमार्जन गर्नुपर्ने देखिन्छ । अर्को भनेको साइबर विधेयक संसदमा विचाराधीन भएर पारित भएको छैन त्यसमा बालबालिका, युवा, महिला सबैलाई समेट्न जरुरी छ । यसमा साइबर ऐन भनेर सबै कुरा समेटिएको छ तर, यसको छुट्टै व्यवस्था हुनु जरुरी छ । 

हामीले साइबर अपराध नियन्त्रणमा सहकार्य तथा समन्वयात्मक ढंगमा पनि काम गरेका छौँ । जस्तै हामीले अनलाइन कसरी सुरक्षित बनाउने भनेर दूरसञ्चार प्राधिकरणसँग पनि मिलेर केही काम गर्यौँ । अनि बालबालिकासम्बन्धी ऐनलाई कसरी प्रभावकारी बनाउने भनेर राष्ट्रिय बाल अधिकार परिषद्, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, साइबर ब्युराे, महान्यायाधिवक्ताको कार्यालय लगायतका संस्थासँग छलफल गरेर केही कुरा अगाडि बढाएका छौँ । त्यसको परिणाम भने आइसकेको छैन । केही कामको सुरुवात त भएको छ तर, त्यसभन्दा धेरै गर्नु आवश्यक छ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

अनिल रघुवंशी

रघुवंशी चाइल्डसेफ नेटका अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया