नयाँ मोदी-लेखनाथ एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा

 फागुन ३, २०७९ बुधबार १२:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ मोदी (पर्वत)–लेखनाथ (कास्की) प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र मोदी गाउँपालिका–२ देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइन वे निर्माण गरिएको छ ।

पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न र मोदी, सेती तथा मादी नदीमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत्  राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।

आयोजना अन्र्तगत पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित स्वीचिङ स्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन र लाहाचोक सबस्टेसन गत वर्षको पुसमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । 

लाहाचोक–लेखनाथ खण्ड प्रसारण लाइन निर्माण सम्पन्न गरी मंगलबार चार्ज गरिएसँगै नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 

लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा  विद्युत् आपूर्ति दिइएको छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिको पहिलेकाे लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतकाे समस्या थियो । लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवामा सुधार भई उपभोक्ताले भरपर्दो तथा गुणस्तरीय विद्युत् पाएको र प्राविधिक चुहावट समेत घटेको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो । 

नयाँ मोदी– लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत १४० वटा टावर निर्माण गरिएको छ । लाहाचोक सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन् ।सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चारवटा ११  केभीका फिडरहरु निर्माण गरिएको छ । 

कुल अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र आयात–निर्यात (एक्जिम) बैंक, भारतको सहुलियतपूर्ण ऋण रहेको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि ७ असार २०७५ मा क्रमश: कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, भारत र हिताची इनर्जी लिमिटेड (एबिबी), भारतसँग ठेक्का सम्झौता भएको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया