साथीहरु बटुलेर आँगनमा खेल्न मन छ

 फागुन ६, २०७९ शनिबार १८:२६:१ | जेनिश बाडे
unn.prixa.net

म घर बाहिर घाम ताप्दै बसिरहेको छु । मेरा आँखा अगाडि साना भाइहरू खेल्नमा व्यस्त छन् । धुलो र टन्टलापुर घाममा पनि लडिबुडी गर्दै, रमाउँदै, हाँस्दै खेलिरहेका छन् । उनीहरुलाई देखेर मलाई पनि पुराना दिनहरुको याद आयो । कहिलेकाहीँ आफू सानो छँदाका दिनहरु सम्झिदा पनि रमाइलो लाग्दो रहेछ । 

म पनि सानोमा यसरी नै खेल्थेँ । तर समय बितेको पत्तै भएन । केही वर्ष पहिले खेल्ने गरेका ती आँगन र अहिले मैले देखिरहेको आँगनमा धेरै परिवर्तन भइसकेको रहेछ । पहिले जस्तो अहिले आँगनमा केटाकेटीहरु खेलिरहेको देखिदैनन् । आँगनले आफ्नो नयाँ स्वरुप पाएको छ । अचेल आँगन पनि एक्लो भएको छ । कहिलेकाहीँ त लाग्छ, एकपटक फेरि पुराना साथीहरु भेला पारेर आँगनमा खेलौँ ।

यही आँगनमा म मेरा साथीहरुसँग सिँगान पुछ्दै् गुच्चा खेल्थेँ । कहिलेकाहीँ झेल्ली हुन्थ्यो, झगडा हुन्थ्यो, तर एकैछिनमा बोलिहाल्ने । कहिले मलाई रुवाएर उनीहरू मुसुमुसु हाँसेर बस्थे । कहिले उनीहरूलाई रुवाएर म मुसुमुसु हाँसेर बस्थेँ । जति झगडा भए पनि, घम्साघम्सी परे पनि खेल्ने समयमा खुब मिल्थ्यौँ । स्कुलबाट हतार हतार घरमा आएर ब्याग, युनिफर्मलाई एक ठाउँमा हुत्याएर खेल्न आइहाल्थ्यौँ । खेल्न थालेपछि भोक लागेको पनि पत्तै हुन्थेन । 

पल्लो आँगनमा अजि बजेहरु पनि घाममा ढाड सेक्दै हुनुहुन्छ । बाल्यकालदेखिका साथीसँग गफिदै हुनुहुन्छ । मलाई पनि यसरी नै गफिन मन छ, साथीहरु र दाजुहरुको जमातमा गएर । तर अहिले त टोल पनि शून्य बनेकाे छ । बोलाउँ भने कोही साथी नेपालमै छैनन्, भएकाहरुसँग पनि फुर्सद छैन ।

अचेल त पहिलेको त्यो रंगीन बस्ती अनकन्टार झैं लाग्छ । बुढेसकालले छोएका आमै, अजी, बाजेहरु बाहेक खासै देखिँदैनन् । अचेल केटाकेटीहरु पनि बाहिर निस्किँदैनन् जस्ताे । हामीहरुको त हुल हुन्थ्यो । १०/१२ जना सँगसँगै डुल्थ्यौँ । तर अहिले बालबालिकाहरु पनि एक्लो भएका जस्तो लाग्छन् । साथीभाइबाट, समाजबाट । आँगनबाट । 

कहाँ गए होलान् ती केटाकेटी ? मेरो मनमा प्रश्न उठ्छ । टोल आँगनमा गुच्चा खेल्ने उनीहरु अहिले सानो कोठाको एउटा कुनामा मोबाइल चलाइरहेका छन् । या त टिभीमा वा  मोबाइलमा कार्टुन हेर्दै होलान् ।

उनीहरुले न त माटोमा खेलेका छन् न त आँगनमा बसेर गफिएका छन् । मोबाइलको दुनियाँमा मन्त्रमुग्ध छन् । तर मेराे आँखामा भने उही पुराना दिनहरु झलझली आइरहेका छन् । मनले भनिरहेकाे छ, 'आउन केटा हाे एकफेर आँगनमा गुच्चा खेलाैँ ।'

अन्तिम अपडेट: चैत १, २०८०

जेनिश बाडे

जेनिश कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।

2 Comments

  • Bishal Bade

    Feb. 20, 2023, 9:20 a.m.

    Ekdum ramro lekh Bhai. Keep it up. ajhai pragati garnus.

  •  0 Reply
  • Shreejan Prajapati

    Feb. 19, 2023, 11:15 a.m.

    ekdam ramro keep going <3

  •  0 Reply

तपाईको प्रतिक्रिया