थर्मसमा चिया बेच्ने व्यवसाय : थोरै लगानीमा मनग्य आम्दानी

 माघ १७, २०८१ बिहीबार ७:५५:२० | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डौसहित शहरी क्षेत्रका भीडभाड हुने ठाउँमा चिया पिउन मन लाग्यो भने बसेकै ठाउँमा पाइन्छ । एकछिन उभिन नपाउँदै हातमा थर्मस बोकेका व्यवसायीहरु ‘चिया पिउने हो ?’ भन्दै सोध्न आइपुग्छन् ।

बजारका व्यस्त गल्ली तथा चहलपहल हुने मुख्य ठाउँहरूमा थर्मसबाट चिया बेच्ने दृष्य सामान्यजस्तै भइसकेको छ । यो व्यवसायले चिया पिउनेलाई त सजिलो भएको छ नै, चिया बेच्नेहरुले पनि मनग्य आम्दानी गरिरहेका छन् । 

थर्मसमा चिया बेचेर गाडी

हरेक साँझ काठमाण्डौको पशुपतिनाथ मन्दिरमा सन्ध्या आरती हेर्न आउनेको घुइँचो लाग्छ । यही घुइँचोमा भेटिनुभयो दुवै हातमा थर्मस बोकेर हिँड्दै गर्नुभएकी ओखलढुङ्गा मलुङकी २४ वर्षीया विमला बानिया । एउटा थर्मसमा कालो चिया, अर्कोमा दूध चिया । काँधमा झुन्डिएको झोलामा चिया पिउने प्लास्टिकका कप ।

कसैले चिया माग्नेबित्तिकै, थर्मस भुईँमा राखेर तुरुन्त बिर्को खोलेर कपमा चिया खन्याउनुहुन्छ । दूध चियाको भाउ ३० रुपैयाँ, कालो चियाको २० रुपैयाँ । एक हातले चिया दिनु हुन्छ र अर्को हातले पैसा लिएर गलामा झुन्डिएको ब्यागमा राख्नु हुन्छ ।

सात वर्ष पहिले काठमाण्डौ आएकी विमला श्रीमानसँग काँडाघारीमा बस्नु हुन्छ । पहिले उहाँ एउटा निजी कार्‍लयमा काम गर्नुहुन्थ्यो । तर, बेलाबेलामा तलब नपाउने समस्या बढ्दै गयो । चाहिने बेलामा पैसा नपाउँदा दैनिकी चलाउनै मुस्किल पर्न थाल्यो । त्यसपछि विमलाले जागिर छोड्नुभयो र पशुपतिनाथ मन्दिर परिसरमा चिया बेच्न थाल्नुभयो ।

दुई वर्षदेखि विमला थर्मसमा चिया बेच्दै हुनुहुन्छ । पशुपतिनाथमा झण्डै ३५ जना उहाँका नियमित ग्राहक छन् । उहाँ दिनभरमा करिब एक सय कप चिया बेच्नुहुन्छ । मेहनत र धैर्यको परिणामस्वरूप विमलाको व्यापार अहिले राम्रै चलेको छ ।

‘मान्छे बिहानको समय खाली पेटमा पूजा गर्न आउँछन् । पूजा गरेपछि धेरैले चिया पिउन खोज्छन् । धेरैको चिया पिउने बानी भएकाले बिहानको समय ब्यापार राम्रो हुन्छ’, विमला भन्नुहुन्छ ‘म घरमै चिया पकाएर थर्मसमा भरेर पशुपतिनाथ मन्दिरमा बेच्न आउँछु । अहिले दिनमा ४ घण्टा चिया बेच्न व्यस्त हुन्छु ।’ 

चियामा दैनिक झण्डै ६ सयदेखि ७ सय रुपैयाँ लगानी लाग्छ । सामान्य दिनमा पनि कम्तीमा १५ सय रुपैयाँ कमाइ हुन्छ । यही आम्दानीले उहाँको दैनिकी चलेको छ । खर्च कटाएर महिनामा ५० हजार रुपैयाँ जोगिने विमलाले सुनाउनुभयो । दुई वर्षसम्म चिया बेचेर कमाइएको पैसाले एउटा पुरानो जीप पनि किन्नुभएको छ । जुन उहाँका श्रीमानले चलाउनुहुन्छ ।

विमला सम्झनुहुन्छ, ‘अरुको काम गर्दा महिनाभरीमा तलब कुरेर बस्नु पथ्र्यो । तर, चिया बेच्ने काममा त हातहातै पैसा आउँछ । यति सजिलो र फाइदाजनक व्यवसाय मैले पहिले सोचेकी पनि थिइनँ । अरुको लागि काम गर्दा निश्चित तलबमात्रै पाउँथेँ, तर अहिले महिनाको ५० हजार रुपैयाँ भन्दा बढी बचत गर्छु’ विमला भन्नुहुन्छ, ‘यदि अरुको लागि काम गरेको भए गाडी किन्ने त के, यत्रो पैसा बचत गर्न सम्भव नै थिएन ।’ चिया बेचेर कमाएको पैसाले भविष्यमा राम्रो ठाउँमा क्याफे खोल्ने उहाँको सोच छ ।

सिरक बनाउने काम छोडेर चिया व्यवसाय

चितवन भरतपुरका ६६ वर्षीय हरिहर गौतम पनि ललितपुरको लगनखेल बसपार्क वरपर थर्मसमा चिया बेच्नुहुन्छ । उहाँ काठमाण्डौ आएको ४३ वर्षभन्दा बढी भयो । उहाँ लगनखेल बसपार्क नजिकै दुर्गा मन्दिर टोलमा श्रीमतीसँगै बस्नुहुन्छ । चिया बेच्ने सानो व्यवसायले नै उहाँलाई आफ्नो जीवन चलाउन सहयोग पुर्‍याएको छ ।

काठमाण्डौ आएका १२ वर्षसम्म उहाँले सिरक बनाउने काम गर्नुभयो । एक दिन उहाँले लगनखेल बसपार्कमा अरु कसैले चिया पकाएर बेचिरहेको देख्नुभयो र यसले उहाँलाई पनि यस्तै व्यवसाय शुरु गर्न प्रोत्साहित गर्‍याे। त्यसपछि उहाँले पनि चिया व्यावसाय शुरू गर्नु भयो ।

शुरूको केही समय बसपार्कमै चिया पकाएर बेच्नु हुन्थ्यो । तर पछि बसपार्कभित्र चिया पकाएर बेच्न नपाइने भएपछि थर्मसमा डुलाएर बेच्न थाल्नु भयो । हरिहर ३१ वर्षदेखि लगनखेल बसपार्क वरपर चिया बेच्दै हुनुहुन्छ ।

उहाँ बिहान ३ बजे उठ्नुहुन्छ, अनि चिया पकाउन थाल्नुहुन्छ । तीन लिटरका तीनवटा थर्मसमा चिया भरेर कोठाबाट निस्किनु हुन्छ । बिहान १० बजेसम्म लगनखेल बसपार्क वरपर घुम्दै चिया बेच्नुहुन्छ । दुध चियाको २० रुपैयाँ र कालो चियाको १५ रुपैयाँ लिनु हुन्छ ।

उहाँका ग्राहक प्रायः पसल चलाउने व्यवसायीहरू हुन्छन् । ग्राहकहरूले फरक–फरक समयमा चिया पिउने भएकाले उहाँले समय मिलाएर चिया पुर्‍याउने गर्नुहुन्छ । लगनखेल बसपार्क क्षेत्रका १५ वटा पसल उहाँका नियमित ग्राहक हुन् । दिनभरमा उहाँले सात थर्मस चिया बेच्नुहुन्छ, जसबाट करिब १ सय ७५ कप चिया बिक्छ । चिया बेचेरै मासिक ४० देखि ५० हजार रुपैयाँसम्म कमाइ हुन्छ ।

जाडोमा भन्दा गर्मीमा चिया पिउने मानिस कम हुन्छन्, गर्मीमा दिनभरिमा पाँच थर्मस मात्र चिया बिक्छ । अहिले भने चिया बेच्ने मानिसको सङ्ख्या बढेको छ । यसले गर्दा व्यापार र आम्दानी दुवै घट्दै गएको उहाँ बताउनुहुन्छ ।

हरिहरले चिया बेचेरै तीन जना छोराछोरीलाई पढाउनुभएको छ । एउटा ट्याक्सी पनि किन्नुभएको छ । ट्याक्सीबाट पनि राम्रो आम्दानी भइरहेको छ । चिया बेचेरै कमाएको पैसाले दुई वर्षअघि गाउँमा पाँच आना जग्गा किनेर नयाँ घर बनाउनुभएको छ । ‘चिया बेचेर कमाएको पैसाले नै घर र जग्गा जोड्न सफल भएको हुँ’ उहाँले भन्नुभयो ।

थर्मसको चियामा सन्तुष्ट रेनु

बाग्लुङ गलकोटकी रेनु बलामी पनि लगनखेल बसपार्कमा थर्मसमै चिया बेच्नु हुन्छ । दुई वर्षअघि दुई छोरालाई राम्रो शिक्षा दिलाउन र आफ्नो भविष्यलाई उज्यालो बनाउने आशाले उहाँ सासु र श्रीमानसँगै काठमाण्डौ आउनुभयो । सबैजना ललितपुरको लगनखेल बसपार्क नजिकै बस्नु हुन्छ ।

रेनु पहिले अरूको पसलमा काम गर्नुहुन्थ्यो । त्यहाँ काम गर्न उहाँलाई निकै गाह्रो भयो । मेहनत धेरै, तर पसलको कमाइले चित्त बुझाउन सकेन । मनमा अनेक कुरा खेल्न थाल्यो र पछि आफैँ केही गर्ने अठोट गर्नुभयो ।

अरुले थर्मसमा चिया बेचेको देखेर रेनुलाई पनि यही काम गर्ने मन भयो । त्यसपछि डेढ वर्षअघि थर्मसमा चिया बेच्न शुरू गर्नुभयो । बिहान सबेरै उठेर चिया पकाउनु हुन्छ, थर्मसमा हाल्नु हुन्छ, अनि गिलास र सामानको झोला बोकेर पाँच बजे बजारतिर निस्कनु हुन्छ ।

बिहान ९ बजेसम्म पहिलो खेपको चिया बेचिसकेपछि उहाँ घर फर्कनुहुन्छ । घर पुगेर छोराछोरीलाई स्कुल पठाउनुहुन्छ । त्यसपछि खाना खाएर एकछिन आराम गर्नुहुन्छ । फेरि अर्को खेपको चिया पकाउन थाल्नुहुन्छ । दिउँसो तीन बजे फेरि चिया बेच्न बसपार्क पुग्नुहुन्छ ।

श्रीमान् गाडी चलाउनुहुन्छ । रेनुले घरको सबै काम सम्हालेर उहाँलाई सहयोग गर्नुभएको छ । सासुआमाले घरका साना काम र नातिनातिनाको हेरचाह गरेर सघाउनु हुन्छ । यसैगरी, रेनुलाई घरबाट पनि सहयोग मिलेको छ ।

पहिले अरुको भर पर्नु पर्दा धेरै गाह्रो हुन्थ्यो । पैसा नभएको बेला आफूलाई आवश्यक पर्ने कुरा किन्न नसक्दा नरमाइलो लाग्थ्यो । छोराछोरी स्कुल लैजाँदा उनीहरुले यो किन्दे, त्यो किन्दे भन्थे, तर पुर्‍उन सकिँदैनथ्यो । तर अहिले छोराछोरी र आफूलाई चाहिएको कुरा आफ्नै आम्दानीले पुर्‍याउन सजिलो भएको छ । चिया बेचेर उहाँले दैनिक १५ सय रुपैयाँ कमाउनुहुन्छ ।

थर्मसमा चिया बेचेर दैनिक पाँचसय रुपैयाँ नाफा

ललितपुरको लगनखेल बसपार्कमा रेवती खतिवडा पनि दुई वर्षदेखि थर्मसमा चिया बेच्ने काम गर्नुहुन्छ । लगखेलमै घर हुनुभएकी रेवती उमेरले ५० वर्षको हुनुभयो । अरु शारीरिक काम गर्न गाह्रो भएपछि, उहाँले आफूसँग भएको बल र समयलाई उपयोग गर्दै चिया बेच्ने निर्णय गर्नुभएको हो ।

‘म दिनमा तीन थर्मस चिया बेच्छु, दिनभरिमा झण्डै ७५ कप चिया बिक्री हुन्छ’ रेवतीले भन्नुभयो, ‘यसमा दैनिक दुई सय ५० रुपैयाँ लगानी गर्नुपर्छ, मेरो दैनिक पाँच सय रुपैयाँ नाफा हुन्छ ।’

सबैले सानोतिनो व्यवसाय गर्ने हो भने अरुको भरमा बस्न नपर्ने उहाँको अनुभव छ । ‘तरकारी किन्नेदेखि बालबच्चालाई खाजा खर्च चलाउने पैसा आफैले कमाउन सकिन्छ । तर खर्च मिलाएर गर्न पनि जान्नुपर्छ । अरुको आशामा बस्नु हुँदैन । भएसम्म आफ्नै खुट्टामा उभिन सिक्नुपर्छ । राम्रो कामबाट दिनमा सय रुपैयाँ कमाइ भए पनि त्यो सय रुपैयाँ एक लाख रुपैयाँ बराबर हुन्छ’ रेवतीले भन्नुभयो ।

थर्मसमा चिया बेच्ने व्यवसाय सानो लागे पनि यसले धेरैको जीवनमा यसैगरी ठूलो परिवर्तन ल्याएको छ । कम लगानी र नियमित आम्दानी हुने भएकाले थर्मसको चियामा उनीहरुले आफ्नो भविष्य देखेका छन् । 

 

यो पनि पढ्नुहोस् :

कमाइ गर्ने ठाउँ र जीवन बुझ्ने पाठशाला पनि हो चियापसल

अनौठा नाम र फरक शैलीका चियापसल

 

 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया