वैकल्पिक राजनीतिको स्थान फराकिलो बन्दैछ, तर सबै परीक्षणकालमा छन्

 फागुन ८, २०७९ सोमबार ११:४४:४९ | समीक्षा बास्काेटा
unn.prixa.net

विवेकशील साझा पार्टीलाई हेर्ने हो भने २०७४ सालदेखि यहाँसम्म आइपुग्दा धेरै उतारचढाव भोग्नुपरेको छ । यो उतारचढावपछि पार्टीलाई फेरि महाधिवेशन पछि नयाँ ऊर्जा र भरोसा दिने सोच र आशाका साथ हामी फेरि उठ्दैछौँ । अब हामीले हिजोका दिनमा के-के गल्ती, कमी कमजोरी गर्यौँ त्यो सुधार्नु पर्छ । सबैभन्दा पहिले हामी साङ्गठनिकरुपमा हिजोका दिनमा काठमाण्डौ वा उपत्यका केन्द्रित मात्र थियौँ । अबका दिनमा त्यसलाई हामीले सुधार गरेर साङ्गठनिक विस्तारका नयाँ नयाँ आयाम खोजेर बाहिर लिएर जानुपर्ने हुन्छ र हामी सातै प्रदेशमा जान्छौँ । अहिलेको हाम्रो लक्ष्य भनेको सकिन्छ भने एक/डेढ वर्षमा जिल्ला अधिवेशन र नभए पनि सातै प्रदेशमा प्रदेश अधिवेशन गर्ने हो । 

अर्को भनेको हिजो हामी प्रशिक्षणमा एकदमै कमजोर भयौँ । साथीभाइहरु जेडिनुभयो तर उहाँहरुलाई काम नदिने, पार्टीको प्रशिक्षण गराउने कुरामा हामी एकदमै कमजोर थियौँ अब त्यसलाई सुधारेर अगाडि बढ्नुपर्नेछ । त्यस्तै विवेकशील साझाले उठाउँदै गरेको मुद्दा शिक्षा र स्वास्थ्य सरकारको दायित्व, सार्वजनिक यातायात, रोजगारी, सुशासन, भ्रष्टाचार विरुद्धका अभियानलाई समस्या देखाउने कुरा भयो तर समाधान कसरी गर्ने भन्ने खाका भने खोजिएन। अबका दिनमा पार्टीले अनुसन्धान र समाधान युक्त आफ्नो नीतिपत्र सार्वजनिक गरेर यसमा हामी कसरी काम गर्छौँ भन्ने कुरा सार्वजनिक गर्छौँ । 

अर्को अब हामी आन्दोलन र अभियानका मोडल सार्वजनिक गर्छौँ र नागरिकका आवाज बोल्ने काम गर्छौँ जुन अहिलेको स्थिति हेर्नुभयो भने अहिलेका संसदमा एक/दुई जना मात्र प्रतिपक्ष हुनुहुन्छ नत्र सबै जना सत्ता साझेदार हुनुहुन्छ । विवेकशील साझा दह्रो प्रतिपक्षकोरुपमा सडकमा रहन्छ र आफ्नो आवाज बुलन्द गर्दै काम अगाडि बढाउँछ । र, नागरिकको मुद्दामा हामी नागरिकको घरमा र नागरिकको साथमा हुन्छौँ । यस्ता कुरालाई हामी आउँदा दिनमा लिएर जान्छौँ । 

अघिल्लो नेतृत्वको विचारधारामा समर्थन गर्ने र त्यसमा असहमति राख्ने साथीहरुबीच अहिले सँगसँगै अगाडि बढ्ने क्रमलाई मैले अहिले एउटा राजनीतिक प्रक्रियाको रुपमा नै बुझेको छु । हिजोको दिनमा उहाँहरुले विमति राखेर बाहिर निस्कनुभयो तर, मैले भने भन्नुपर्ने कुरा सबै भनेर पार्टीभित्रै बसेँ । कहिलेकाहीँ कस्तो हुन्छ भने नेतृत्वलाई सफल पार्नका लागि पनि हामीले विभिन्न किसिमका भूमिकाहरु खेल्नुपर्ने हुन्छ ।

हाम्रो मुख्य उद्देश्य भनेको एउटा व्यक्ति सफल बनाउने नभइ संस्था सफल बनाउने र विवेकशील साझाको फोरम सफल बनाउने थियो । त्योभन्दा अध्यक्षले यसो गर्दा हुन्छ कि भनेर साथ दिएको हो । तर, उहाँ त्यो भन्दा पनि एक कदम अगाडि गइसकेपछि भने यहाँ रोकिनुपर्छ र पार्टीलाई राप्रपाकरण हुनबाट बचाउनुपर्छ भनेर त्यो दिशामा गएको हो । कहिलेकाहीँ हामी कहाँनेर कतिखेर सही कर्म गर्ने भन्ने कुरामा पनि भर पर्छ । हिजोका दिनमा बाहिर रहनु भएका साथी र आज हामी एकै ठाउँमा रहँदा विचारको विमति हुँदा बाहिर रहनु भएको थियो । अब हामी त्यो विचार नै खारेज गरेर नयाँ तरिकाले अगाडि बढिसकेपछि धेरै चुनौती छैन । 

आफ्नो धरातल बुझियो भने काम गर्न सजिलो हुन्छ । त्यस हिसाबले हामीले टुटफुट, विचारको विमति, सैद्धान्तिक विमतिले पार्टीलाई सिथिल बनायो र काम गर्न गाह्रो भयो भन्ने सबै जनाको निष्कर्ष हो र अब व्यक्तिगत भन्दा पनि सामूहिकतामा विश्वास गरेर पार्टीलाई बलियो बनाउने प्रयासमा हामी एक ठाउँमा छौँ । यसलाई मैले सहर्षरुपमा स्वीकार गरेको छु ।

विचारमा स्पष्टता 

अहिले नयाँ वैकल्पिक पार्टीहरु पनि आउँदै गर्दा हामी आफ्नो विचारमा स्पष्ट छौँ । अबका दिनमा विवेकशील साझा नागरिकको बीचमा हुन्छ । पार्टीको आन्तरिक जीवनका लागि पनि चाहिने र सङ्गठन चुस्त बनाउनुपर्ने हुनछ । त्यसका लागि हामी साङ्गठनिकरुपमा एउटा कार्यक्रम लिएर आउँछौँ । त्यसैगरी नागरिकका आवाज बोल्नका लागि हामी आन्दोलनका मोडल र अभियानका मोडलहरु सार्वजनिक गर्छौँ र नीतिपत्रहरु निकाल्छौँ । जहाँ हामी समाधानमुखी राजनीतिको बारेमा धेरै चर्चा गर्छौँ, हिजोका कमी, कमजोरीलाई अँगालेर नयाँ तरिकाले अब २०८४ सालको चुनावलाई लक्ष्य गरेर काम गर्छौँ । म आफू एउटा लक्ष्य निर्दिष्ट गरेर काम गर्न मन पराउँछु ।

हिजोका दिनमा म नेतृत्वमा आउँदा दुई वटा लक्ष्य राखेको थिएँ । त्यो भनेको जस्तो र जुनैरुपमा भए पनि पार्टीलाई चुनावमा लिएर जानुपर्छ भनेर हामी चुनावमा गयौँ । अर्को भनेको फागुन २ गते अगाडि पार्टीको महाधिवेशन सम्पन्न गराउने भन्ने थियो । ती दुवै लक्ष्य हासिल गरियो । अबको हाम्रो लक्ष्य भनेको २०८४ को चुनाव हो । यसै लक्ष्यमा रहेर अब सङ्गठन निर्माण तथा साथीभाइ जोड्ने, अभियानको मोडल सार्वजकि गर्ने, नीतिपत्रहरु सार्वजनिक गर्ने, नागरिकको माझमा गएर विवेकशील साझाले गर्न खोजेको के हो त भनेर विचार प्रवाह गर्ने हुन्छ । अर्को भनेको एउटा अनुसन्धानले नेपालको सन्दर्भमा नेपालका मतदाताहरुलाई बुद्धिमान मतदाताको सूचीमा एकदमै तल राखेको रहेछ । हामी लहड र लहरको पछाडि धेरै लाग्ने रहेछौँ । यसकारण हामी नागरिकलाई पनि मतदाता शिक्षामा हामी काम गर्छौँ ।

मतदाता शिक्षामा निर्वाचन आयोग तथा अन्य दलले पनि काम गर्नुपर्ने हो । तर, हामीले त्यसमा काम गर्न सकेका छैनौँ । लहड र लहरको भरमा भोट नहाल्नुस् भनेर सम्झाउन सकेका छैनौँ । किनकि चुनावले भनेको पाँच वर्षको लागि जनादेश दिने हो । अपरिपक्व मान्छेको हातमा जनादेश गयो भने परिपक्व निर्णय हुन सक्दैन र देशको हित हुने काम हुन सक्दैन । त्यसका लागि हामी मतदाता शिक्षामा पनि काम गर्न चाहन्छौँ । 

२०७४ सालको चुनावमा नागकिरले विवेकशील साझा पार्टीलाई विश्वास गरेर दुई लाख १२ हजार मत दिएकै हो । अहिले नयाँ उदाएका दलले पाएको मत त्यही विश्वासको मतमा प्राप्त गरेको वैकल्पिक राजनीतिको स्थान हो । त्यो भनेको विवेकशील साझाले सिर्जना गरेको स्थान हो । यद्यपि विगत दुई वर्षमा हामी समस्याग्रस्त भयौँ । नागरिकहरुले हामीप्रति अहिले पनि भरोसा गर्नुभएको छ । उहाँहरुले तपाईँहरु एक ढिक्का भएर आउनुस् हामी तपाईँहरुको साथमा छौँ, माझमा छौँ भनेर भनिरहनु भएको छ । अब हामी त्यो भरोसा दिलाउने काम गर्छौँ । र, फेरि उहाँहरुको आशा जगाउने काम गर्छौँ ।

महाधिवेशनबाट एउटा सन्देश 

हामीले समीक्षा गर्दा विशेष गरी २०७४ सालमा हामीले प्राप्त गरेको दुई लाख १२ हजार मतलाई सम्हाल्न नसकेको देखिन्छ । नागरिकलाई हामीले केही फन्डा गर्यौँ भने हामीले भोट पाइहाल्छौँ भन्ने भयो । काठमाण्डौ केन्द्रित राजनीति र सोसल मिडियालाई एकदमै प्रयोग गर्छौँ त भन्यौँ तर डिजिटल प्लेटफर्मलाई प्रयोग गर्न सकेनौँ । केही सोसल मिडियामा मात्र रमायौँ । नागरिकको आवाज बोल्न सकेनौँ । नागरिकको घरमा जान सकेनौँ । सङ्गठन विस्तार गर्न सकेनौँ र गाउँ गाउँ गएर विवेकशील साझा किन चाहिन्छ भनेर हाम्रो विचार नागरिकको तहसम्म पुर्याउन नसकेको नै हो ।

पार्टीलाई राप्रपाकरण गर्नेदेखि बाहिर जानेसम्मका विभिन्न चरणमा गएको हुनाले विवेकशील साझा अस्ताएको जस्तो भएको थियो । र, अब हामी फेरि महाधिवेशनबाट एउटा सन्देश दिएर फेरि उठिसकेका छौँ । 

हिजो जजस्ले यो पार्टी बनाउन महत्त्वपूर्ण योगदान गर्नुभएको थियो उहाँहरुलाई फेरि हामी अगाडि बढ्दैछौँ, हामी हाम्रो मुद्दा र एजेण्डाबाट बाहिर छैनौँ पार्टीलाई फेरि पुनर्जीवन दिँदैछौँ, आउनुस् भनेर आग्रह गर्न चाहन्छौँ । कोही साथीहरु पर्ख र हेरको स्थितिमा हुनुहुन्छ भने पनि सम्मान गर्न चाहन्छु किनकि अब फेरि यसमा धेरै समय खर्च गर्नुपर्नेछ । अहिले हामी अनिश्चित यात्रामा छौँ जहाँनेर सत्तामा पुग्ने ठाउँ पनि छैन, फेरि आशा जगाउनु पर्नेछ जबकि नयाँ दलहरु उदाइसकेका छन्, त्यो स्थान फराकिलो भइरहेको छ र फेरि एक पटक उहाँहरु सबैलाई विचार गर्नुस् हामी एकै ठाउँ हुने सम्भावना छ भने हामी एकै ठाउँ भएर २०८४ को चुनावमा हस्तक्षेपकारी भूमिकामा पुगौँ भनेर भन्न चाहन्छु ।

वैकल्पिक राजनीतिको परीक्षण काल

हामीले २०७४ सालदेखि हेर्ने हो भने वैकल्पिक राजनीतिको स्थान फराकिलो हुँदै गइरहेको छ । कांग्रेस, कम्युनिस्टको पनि विकल्प हुन्छ भन्दै गर्दा विवेकशील नेपाली दल अलि अलि आयो । अनि वैकल्पिक राजनीतिको पनि स्थान चाहिन्छ भन्ने हिसाबले विवेकशील साझा आयो । त्यो स्थान आजको दिनसम्म आउँदा एकदमै फराकिलो भएको छ । केही सांसदहरु नयाँ खोलेको दलबाट माथिसम्म पनि पुग्नुभयो । तर, अहिले पनि स्थान फराकिलो भए पनि राम्रो ठाउँ भेटिएको छैन । जो व्यक्तिलाई जुन जिम्मेवारी दिएर पठाएको हो त्यसअनुसारको काम गर्नुभएको छ कि छैन । अहिले नयाँ खोलिएका दलहरु पनि वैकल्पिक राजनीतिको स्थानमा परीक्षण कालमा छन् ।

हिजो २०७४ सालमा विवेकशील साझा परीक्षण कालमा थियो । परीक्षण कालमा राम्रो प्रगति गर्न नसक्दा आज विवेकशील साझा तल परेको छ । नयाँ खोलिएका दलहरु पनि परीक्षण कालमा हुनुहुन्छ । सबैको एउटा मजबुत निर्णय र साँच्चै नेपालमा वैकल्पिक राजनीतिक दल उदाउँछ कि उदाउँदैन र त्यसको स्थान कहाँ छ भनेर परीक्षण हुने भनेको २०८४ को चुनावले निर्धारण गर्छ र हामीले पनि बल्ल त्यहाँ गएर यो वैकल्पिक राजनीतिको स्थान कता जान्छ यसले राजनीतिलाई कता डोर्याउँछ भन्ने भविष्य निर्माण २०८४ को चुनावमा हुन्छ । अहिलेसम्मको एउटा लहर र निराशाको भोट अनि कतै नयाँले गरिहाल्छन् कि भन्ने आशाको भोट र हिजो विवेकशील साझाले जगाएको मत मात्र हो । यसलाई नै हामीले वैकल्पिक राजनीतिको स्थान यस्ले लग्यो भन्ने बिन्दुमा हामी पुगेकै छैनौँ । र नयाँ खोलिएका दलहरुले साँच्चिकै वैकल्पिक राजनीति गर्न सक्छन् कि सक्दैनन्, वैकल्पिक राजनीतिको मर्म के हो त्यो बुझ्न पनि बाँकी छ ।

पार्टीको रुपमा परीक्षण काल

नयाँ राजनीतिक पार्टीहरु पनि उस्तै हुन् भन्ने नागरिकमा परेको हुनसक्छ किनभने यस पटकको चुनावमा नागरिकले साँच्चिकै मतक्रान्ति गरेको जुन हामीले नागरिकलाई सम्मान गर्नुपर्छ र म साँच्चिकै उहाँहरुलाई नमन गर्न चाहन्छु । तर, त्यो सम्मान ती नयाँ भनिएका दलहरुले पूरा गरे कि गरेनन् र नागरिकले दिएको  जनादेशमा खरो उत्रिए कि उत्रिएनन् भन्ने चाहिँ महत्त्वपूर्ण प्रश्न हो । विवेकशील साझाको हकमा २०७४ मा हामीले एउटा राम्रो प्रयास सुरु गर्यौँ । त्यो प्रयासले न विवेकशील साझा राष्ट्रिय पार्टी बन्न सक्यो न केही सिट प्रत्यक्षमा जित्न सक्यो भलै बाग्मती प्रदेशमा तीन जना सांसद पठाउन सक्यो र पहिलो चोटि प्रादेशिक संरचनामा काम गर्दाखेरी नयाँ नियम बनाउनेमा दलका नेताहरुले नयाँ विधेयक बनाउनेमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो । तर पनि थोरै सङ्ख्यामा र प्रदेशमा मात्र भएकोले धेरै महत्त्वपूर्ण भूमिका खेल्न सकिएन । विवेकशील साझाको हकमा हामी राजनीतिक पार्टीको रुपमा नागरिकको परीक्षण कालमा छौँ । तर, हामीलाई जनादेश दिएर परीक्षण गर्ने ठाउँमा पुर्याइसक्नु भएको छैन । 

नयाँ खोलिएका दलहरुलाई जनादेश दिएर एकैपटक परीक्षण कालमा पुर्याइ दिनुभयो र संसदमा प्रवेश गराइदिनु भयो जुन आज चौथो ठूलो दल बन्न पुगेको छ । तर, उसले हिजो चुनावको बेलामा के वाचा गरेको थियो र आज के गर्दैछ भनेर हेर्नुपर्ने हुन्छ । नागरिकले दह्रो प्रतिपक्ष भनेर नागरिकका मुद्दा बोलिदेउ, नागरिकको आवाज बनिदेउ, नागरिकले चाहेका नीति, नियम निर्माण गरिदेउ भनेर भनेको थियो कि सत्ता साझेदार बनेर मन्त्रालयको भागबण्डामा तिमीहरु पनि लाग भनेर भनेको थियो । प्रश्न त्यहाँनेर हो । त्यही भएर नयाँ दलको चाहिँ साँच्चिनै परीक्षण काल हो ।

हाम्रो भने राजनीतिक पार्टीकारुपमा परीक्षण काल सकिएर अब हामी फेरि उठेर २०८४ को चुनावमा गइरहेका छौँ र नागरिकले फेरि विश्वास गर्नुहुन्छ र हामीलाई डर कहाँनेर हो भन्दा नयाँ खोलेका दलहरुले ठीक काम नगर्दा जुनै जोगी आए पनि कानै चिरेको भनेर नागरिकहरुले फेरि विवेकशील साझालाई पनि त्यसको भागिदार बनाउने हो कि भन्ने छ । हिजोको दिनमा पार्टी टुटफुटमा जाँदा यिनीहरु पनि पुरानै दल जस्तो रैछन भनेर मत दिनु भएन । टुटफुटले त उहाँहरुलाई त्यत्रो पीडा दियो भने अहिले भएको नयाँ दलका नयाँ सांसदहरुले भनेको जस्तो काम नगर्दा र डेलिभरी नगर्दा विवेकशीला साझा थोरै सङ्कटमा पर्न सक्छ भन्ने छ । त्यसलाई पनि हामीले चिर्दै अगाडि बढ्नु परेको छ ।

परीक्षण कालमा पास वा फेल 

परीक्षण कालमा विवेकशील साझा पास वा फेल भयो भन्ने कुरालाई हामी कुन समाजमा बस्छौँ त्यो समाजका सम्पूर्ण चरित्रहरुले एउटा दललाई कसरी असर गर्छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ । त्यो परीक्षण कालमा र यो महाधिवेशनसम्म आउँदा विवकेशील साझा पास भएको मान्नुपर्छ किनभने दल सकियोस् र अस्तित्वमा नरहोस् भन्नका लागि धेरै कामहरु भयो । तर पनि हामी फेरि फर्केर आएका छौँ । यसलाई पास भएकै मान्नुपर्छ । चुनावको कुरा गर्दा भने सोचे जस्तो  परिणाम आउँदैन र विवेकशील साझा र तराजुलाई चिनाउनु पर्छ भनेर मात्र हामीले चुनावमा भाग लिएका थियौँ । 

जुन पार्टीको दुई वर्षदेखि सङ्गठन ठप्प छ, प्रशिक्षणको कार्यक्रम छैन, नेता तथा साथीभाइलाई काम दिन सकेको छैन, केही साथी अदालत जानु भएको छ, मिडियामा साथीहरु एक अर्काप्रति विष वमन गरिरहनु भएको छ, कोही निर्वाचन आयोग जानु भएको छ, कोही राप्रपामा जाने तयारी गर्दै हुनुहुन्छ, केही पार्टी बचाउन लागि पर्नु भएको छ । अब यस्तो जटिल परिस्थिति अनि समानुपातिकको सूची बुझाउने एक दिन अघि जो व्यक्तिको वरिपरि यो पार्टी निर्माण भएको थियो उहाँको राप्रपा प्रवेश लगायतले यो पार्टी सकियो कि भन्ने सन्देश व्यापकरुपमा गइसकेको थियो । त्यसलाई हामीले उठाउन नसकेकै हो । त्यसकारणले पनि हामीले एकदमै थोरै मत मात्र प्राप्त गर्यौँ । तर, हामी फेरि नागरिकका माझ जाँदै गर्दा तपाईँहरु निरन्तर प्रयास गर्नुस् हामी तपाईँको साथमा छौँ भन्ने सन्देश दिनु भएको छ र आजको दिनसम्म आइपुग्दा विवेकशील साझा उठ्यो भन्ने सन्देश नागरिकमा पुगिसकेको छ । अब काम गरेर देखाउन मात्र बाँकी छ । 

अहिले वैकल्पिक राजनीतिको स्थान एकदमै फराकिलो भएको छ । अब हिजोको दिन जस्तो हुँदैन । नागरिकले गुण र दोषको आधारमा भोट हाल्ने र अबको पुस्ताले को व्यक्ति खराब र को असल र कस्ले गर्दा देशको हित हुन्छ, कस्ले राम्रो नीति, नियम बनाउँछ अनि डिजिटल जमाना तथा प्रविधिमा प्रवेश गरिसकेको अवस्थामा आजको दिनमा यहाँसम्म लेराएर हामी यत्तिको बोल्न पाएकोमा हाम्रो अग्रज नेताहरुलाई सम्मान गर्नुपर्छ । तर, यसपछि अबको यो प्रविधिमय युगलाई नेतृत्व गर्ने क्षमता कम भएको हो कि भन्ने छ र उहाँहरुको अनुभवलाई लिएर अहिलेको नयाँ पुस्ताले के चाहन्छ भन्ने सुन्दर भविष्यको कल्पना गर्नुपर्ने हुन्छ । त्यो कल्पना गर्न अबको नयाँ नेतृत्वलाई नै जिम्मा दिनुपर्ने हुन्छ ।

अबको दश वर्षमा प्रविधिको युग कता जाँदैछ । फेरि त्यही पुरानो शैलीले काम गरेर हुँदैन । हिजोका दिनमा सङ्गठन निर्माणका लागि महिनौँ घर छोडेर बाहिर बस्नुपर्थ्याे होला तर, आजको दिनमा डिजिटल्ली एउटा प्लेटफर्मबाट बोलेको कुरा कति धेरै मासमा पुग्छ । हाम्रो विचारहरु हामीले कति तलसम्म पुर्याउन सक्छौँ । यो नयाँ युगमा नयाँ तरिकाले राजनीति गर्नुपर्छ । त्यो परिवर्तनको संवाहक नयाँ खोलिएका दल हेर्न बाँकी छ र विवेकशील साझा पक्कै बन्छ ।

फेरिएको आन्दोलनको स्वरुप

हामीले युवालाई उमेरमा मात्र हेर्नु पनि भएन । उमेरको सीमितता त होला । तर, युवा भनेको जोश पनि हो, ऊर्जा पनि हो, सोच पनि हो । कोही व्यक्ति पचासभन्दा माथिको हुनुहुन्छ तर, सोच चाहिँ युवा हुनसक्छ । त्यसकारण हामीले उमेरलाई मात्र एउटा दायरा बनाउनु हुँदैन । त्यसमा क्षमता, उत्कृष्टता र परिपक्वता पनि चाहिन्छ । परिपक्व निर्णय नगरेका कारण कतिपय चिजहरु के भइरहेका छन् भन्ने हामीले देखिरहेका छौँ । यो परिदृष्यमा हामीले युवा, महिला सबैलाई राजनीतिमा आउनु पर्छ भनेर भन्दै गर्दा, हामीले बनाउने स्थान अझ फराकिलो बनाउँदै गर्दा भोलिको दिनमा नागरिकहरुले आशा गर्ने ठाउँ चाहिँ छ ।

एउटा मान्छेले कति धैर्यता राखेर राजनीतिमा लाग्दै गर्छ र राजनीति धैर्यता गुमाउने ठाउँ होइन यो लामो दौड हो । २०६९ देखि सुरु भएको अभियान यहाँसम्म आइपुग्दा पनि यो अभियानको रुपमा अगाडि बढिरहेको छ । अझै नागरिकलाई बुझाउँदै हिँडिरहेको छ भने यसमा धैर्यताको आवश्यक पर्छ । कोही व्यक्तिलाई यसको जग बसेको छ, म आउँछु, फल खान्छु, राम्रो गर्छु र त्यो स्थानमा रहन्छु भन्दा जति चाँडो कोही उदाउँछ उसको विलय पनि त्यत्तिकै चाँडो हुन्छ । र, हामीले धैर्यता र परिपक्वताका साथ अघि बढ्नुपर्छ ।

राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ठाउँमा रहनु हो । नागरिकलाई आफ्नो मुद्दा बुझाउनु महत्त्वपूर्ण कुरा हो । नेपाली नागरिकहरुले एक पटक हरेक व्यक्तिलाई, दललाई समय दिनुहुन्छ । तर, त्यो समय पर्खिन सक्छौँ कि सक्दैनौँ भन्ने हो । हामी सत्तामा नपुग्दासम्म नागरिकको आवाज सडकबाट पनि बोल्न सकिन्छ र, यो उदाहरण विवेकशील साझाले तय गरिसकेको छ । हिजोका दिनमा आन्दोलनका स्वरुपहरु टायर बाल्नुपर्ने, आगो बाल्नुपर्ने, भौतिक संरचना भत्काउनु पर्ने थियो । तर, नेपाल खुल्ला छ भन्ने अभियान सुरु गरेपछि आजको दिनमा हामीले नेपाल बन्द हेर्नु परेको छैन । नेपाल खुला छ भनेपछि यो अभियानको स्वरुप परिवर्तन भयो । 

धेरै जनाले विवेकशील साझालाई माइतीघर वरपरको भनेर जिस्क्याउनुहुन्छ, खिसीट्युरी गर्नुहुन्छ । तर, गाह्रो परेको बेला अहिलेको प्रधानमन्त्री लगायत केही केन्द्रीय नेताहरु पनि हामी यहाँ छौँ भनेर सेतो टोपी लगाएर माइतीघर मण्डलामा बस्ने वातावरण विवेकशील साझाले गर्यो र त्यो आन्दोलनको स्वरुप हामीले फरक गरेकै हो । त्यसमा हामी बाहिरै बसेर पनि त्यतिसम्म गर्न सक्यौँ । बाहिर बसेर नीति नियमको कुरामा पनि राम्रो हस्तक्षेप गरेको छ विवेकशील साझाले । रेमिट्यान्सले देश धान्ने, हरेक दिन नागरिकलाई विदेश पठाउने तर विदेशमा बसेका नागरिकको लागि चाहिँ मताधिकार सुनिश्चित गर्नुपर्छ भनेर अन्य कुनै राजनीतिक आवाज उठाएको देख्नु भएको छ ? कसैले पनि उठाएको छैन । 

विवेकशील साझाले नोट चल्ने, भोट नचल्ने अभियानमार्फत् सर्वोच्चमा रिट हालेर आदेश भएपछि निर्वाचन आयोग र नीति निर्माताहरुले त्यसका बारे नीति निर्माताहरुले जिम्मा लिएर जानुपर्ने छ । तर, पनि उहाँहरुले अझै त्यसको कार्यान्वयन गराउन सकिरहनु भएको छैन । विदेशमा बसेका नागरिकहरुलाई मताधिकार दियो भने हाम्रो पत्तासाफ हुन्छ भन्ने डर छ उहाँहरुलाई ।

विवेकशील साझाले सडकमा बस्दा त यति काम गरेको छ भने भोलि नीति निर्माण गर्ने ठाउँमा गयो भने अझ के-के काम गर्न सक्छ । अहिलेका सांसदहरुलाई म के भन्न चाहन्छु भन्दा यहाँहरुलाई नीति निर्माण गर्ने ठाउँमा पठाइएको छ त्यसकारण नीति निर्माणमा केन्द्रित हुनुहोस् । विवेकशील साझाले सडकबाटै आदेश लिएर नीति बनाउ भनिसकेको अवस्थामा यहाँहरुको पनि ध्यानाकर्षण होस् र विदेशमा बसेका कयौँ नागरिकलाई मताधिकारको सुनिश्चित गर्न सकौँ भन्ने लाग्छ । 

हामीलाई कहिलेकाहीँ के आरोप लाग्छ भने तपाईँहरुको जग छैन, सिद्धान्त छैन भनिन्छ । नेताहरुलाई के भन्न चाहन्छु भने तपाईँहरुले भनेको कम्युनिस्ट पार्टीमा सिद्धान्त छ, ठूला ठूला किताब र भाषण लेखिएका छन्, तपाईँहरु कांग्रेसमा वीपीको समाजवादको कुरा गर्नुहुन्छ, माओवादी पार्टीमा माओवादको कुरा गर्नुहुन्छ । सबै नागरिकहरुले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भनेर भन्नुहुन्छ । तपाईँहरु एकदमै ठूलो सिद्धान्तमा अडिनु भएको छ ।

एक पटक तपाईँहरुले फर्केर हेर्नुस् कांग्रेसले आफ्नो समाजवादको सिद्धान्तलाई कहाँ छोडेको छ ? कम्युनिस्टले आफ्नो कम्युनिज्मको सिद्धान्त कहाँ छोडेको छ ? र ऊ साँच्चिकै कम्युनिस्ट हो कि होइन भन्ने प्रश्न उठिरहेको छ, माओवादीले माओवादको बारेमा जुन वकालत गरेर नागरिकलाई गाउँ गाउँमा सिंहदरबार पुर्याउँछु भन्नुभयो के साँच्चै गाउँ गाउँमा सिंहदरबार पुगेको छ कि केही नेता र केही समूहको घरमा मात्र सिंहदरबार पुगेको छ ? यहाँहरुले नै मूल्याङ्कन गरिदिनु होला ।

तपाईँहरुको त्यत्रो जग भएको पार्टीले हामीलाई सिद्धान्तहीन भन्दै गर्दा नागरिकको आवाज किन बोल्न सक्नु भएन ? उखु किसान जहिले पनि माइतीघरमा आएर रुनुपर्ने किन, न्ययाका लागि कयौँ व्यक्ति अनसन बस्नुपर्ने किन ? मिल्क होलिडे भनेर यो कहीँ नभएको जात्रा नेपालमा हुनुपर्ने किन ? मिल्क होलिडे भनेर दूध सडकमा बगाउनु पर्ने अनि उनीहरुको समस्यालाई किन सरकारले सम्बोधन गर्न सक्दैन । अर्को भनेको तपाईँहरु किसान सङ्गठन अनि विभिन्न भातृ सङ्गठनहरु बनाउनुहुन्छ । शिक्षामा राजनीति गर्नहुन्छ, स्वास्थ्यमा राजनीति गर्नुहुन्छ । आज पनि एउटा व्यक्ति सही उपचार नपाएर मर्नु परेको स्थिति छ । आज पनि केही व्यवसाय गर्छु भनेको व्यक्तिले ऋण तिर्न नसकेर सरकारले त्यसको अभिभावकत्व नलिइदिएका कारण आत्मदाह गर्नुपरेको छ । चार हजारको लागि आत्महत्या गर्नुपर्ने स्थिति छ ।

कैयौँ किसानहरुले बिचौलियाको कारणले गर्दा तरकारी सडकमा फाल्नु परेको छ । त्यसकारण त्यस्ता सङ्गठनहरु सबैभन्दा पहिला खारेज गर्नुस् जसले नागरिकको आवाज बोल्न सक्दैन । होइन भने तपाईँहरु नागरिकको आवाज बोल्ने ठाउँमा हुँदा किन बोल्नुहुन्न ? अब नागरिकले पनि प्रश्न गर्नुपर्ने भएको छ । र, विवेकशील साझाले अहिले सडकबाटै हामीले के भनेका छौँ भने यहाँ संविधानमा शिक्षा र स्वास्थ्य सरकारको दायित्व होे भनेर लेखिएको छ । लेखिएको कुरालाई सांसदहरुले त कार्यान्वयन गराउने हो नि भाषण गर्ने होइन नि । भाषण हामी गरौँला, एजेण्डा हामी उठाउँला सडकबाट तपाईँहरु नीति निर्माण गर्नुस् न । किसानका समस्या छन् भनेर सांसदहरुले फेरि पनि सदनमा भन्ने होइन उनीहरुका समस्यालाई कसरी सम्बोधन गर्ने हो भन्ने कुरामा उहाँहरुले नीति निर्माण गर्नुपर्यो । 

अब समाधानमुखी राजनीति

नागरिकलाई समस्या देखाउ भन्यो भने उसले सय वटा समस्या देखाइदिन्छ तर, त्यसको समाधान के हो ? तपाईँ समाधान दिने ठाउँमा हुनुहुन्छ भने समाधान दिनुपर्यो । होइन भने अब समाधानमुखी राजनीति गर्ने हो । हामीले त भनेकै छौँ विवेकशील साझाले आत्मनिर्भर र दीगो अर्थतन्त्रका लागि चार खम्बा प्रविधि, जलविद्युत्, कृषि र पर्यटन निर्धारण गरेको छ । पर्यटनमा सम्भावना छ, कृषिमा सम्भावना छ, जलविद्युतमा सम्भावना छ, पर्यटनमा सम्भावना छ । यसले हाम्रो अर्थतन्त्रलाई दिगो बनाउन सक्छ र यसका लागि हामी नीतिपत्रहरु सार्वजनिक गरेर यसरी गर्न सकिन्छ भनेर एउटा मोडल पनि देखाउँछौँ र नागरिकलाई हरेक दलका नेताहरुले उहाँहरुको हरेक सङ्गठनले के गरिरहेको छ । सिद्धान्त बोकेको दलले सिद्धान्तबाट बाहिर गएर के गर्दैछ त्यो प्रश्न गर्दिनुस् ।

नेताहरुलाई तपाईँले भनेको सिद्धान्त अनुसार किन काम गर्नुहुन्न ? यदि नागरिकका बारे सोच्दिने सरकार हुँदैन भने हामीले यो सरकार केही व्यक्तिको मात्र सिण्डीकेट हो भनेर भन्न सक्नुपर्यो । सरकार भनेको केही नेताको मात्र सिण्डीकेट हो आम तीन करोडभन्दा धेरै नेपाली नागरिकको होइन ? सीमित बीस/पच्चीस जना नेताको मात्र यो देश हो भनेर भन्न सक्नुपर्यो । होइन भने नागरिकका मुद्दालाई सम्बोधन गर्ने ठाउँमा पुगेका व्यक्तिहरुले सम्बोधन गर्नुपर्छ । अन्यथा विवेकशील साझाले २०८४ सालको चुनावलाई लक्षित गरेर हस्तक्षेपारि ठाउँमा गएर यी यावत् आवाजलाई हामी त्यहाँ गएर सम्बोधन गर्छौँ । त्यतिन्जेल यी सबै आवाज हामी सडकबाटै बोलिरहन्छौँ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

समीक्षा बास्काेटा

बास्कोटा विवेकशील साझा पार्टीकी अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया