दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्दै

 फागुन ९, २०७९ मंगलबार १३:०:५९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ । दैलेखको आठबिस नगरपालिका र जुम्लामा रहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चार वर्षअघि भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो ।

सम्झौता अनुसार राकम कर्णालीमा एक सय शय्याको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ । कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको प्रकृया अघि बढ्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल रावलले बताउनु भयो । अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिने रावलले बताउनु भयो।

शिक्षण अस्पताल निर्माणका लागि आठबिस नगरपालिका–३ मा ४० रोपनी अर्थात् ९२ हजार एक सय ३० वर्ग मिटर क्षेत्रफल जग्गा व्यवस्थापन भइसकेको नगरका मेयर तर्कबहादुर बडुवालले बताउनु  भयो । अस्पताल निर्माणको लागि डीपीआर बनिसकेको छ । अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरका मेयरकाे संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।

प्रतिष्ठानले राकम कर्णालीको आधारभूत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ । गैह्रआवासीय नेपाली सङ्घ एनआरएनबाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबिस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको छ । अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतीय प्रसारण ट्रास्फर्मर खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिलसेनाले बताउन भयो ।

अक्सिजन प्लान्टको सोमवार हिजाे उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, प्रतिनिधि सभा सदस्य सोबिता गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललगायतको उपस्थितिमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो ।

अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्ने मन्त्री शाहले बताउनु भयो ।

पहिलो पटक राकम पुगेकी प्रतिनिधि सभा सदस्य सोबिता गौतमले अब दोस्रो पटक राकम कर्णालीमा आउँदा अस्पताल निर्माण भइसक्ने बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रावलले राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल जतिसक्दो छिटो निर्माण गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया