नेपालले स्कटल्यान्डलाई हरायाे, राेहित र करणकाे उत्कृष्ट साझेदारी

 फागुन ९, २०७९ मंगलबार १६:३८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएकाे छ । स्कटल्यान्डले दिएकाे २ सय १३ रनकाे लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायाे ।

नेपालका लागि कप्तान राेहित पाैडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । नेपालकाे १ सय ३८ रन हुँदा ८ खेलाडी आउट भएकाे अवस्थामा राेहित र करणले नवाैँ विकेटका लागि ७५ रनकाे साझेदारी गरे । यो साझेदारी नेपालले एकदिवसीय क्रिकेटमा गरेकाे अहिलेसम्मको उच्च साझेदारी हो । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेकाे स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयाे । नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए ।

नेपालले घरेलु मैदानमा भएकाे शृङ्खलामा खेलेका ४ वटै खेल जितेकाे छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो । लिग–२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो । याेसँगै नेपालले शृङ्खलामा क्लिन स्वीप गरेकाे छ । शृङ्खलमा नेपालसहित स्कटल्यान्ड र नामिबिया सहभागी थिए ।

याे जितसँगै नेपाल २८ खेलमा २६ अङ्कसहित छैटाैँ स्थानमा छ । ३६ खेलमा ५० अङ्क रहेकाे स्कटल्यान्ड लिग–२ काे च्याम्पियन बनिसकेकाे छ । स्कटल्यान्डले आजै लिग–२ च्याम्पियनकाे ट्रफी पाउनेछ । 

यसैबीच आईसीसी क्रिकेट विश्व कप लिग–२ को च्याम्पियन स्कटल्यान्डलाई च्याम्पियन ट्रफी प्रदान गरिएको छ । आजकाे खेलमा नेपालसँग पराजित भए पनि स्कटल्यान्ड यसअघि नै च्याम्पियन बनिसकेको थियो ।

लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमन ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमन दुवै टोली विश्व कपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्व कपका लागि छनोट हुनेछन् । लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अङ्क छ । अब नामिबियाका २ खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अङ्क छ ।

नेपालले ९ वटा खेल खेल्न बाँकी छ । बाँकी रहेको ८ खेलमा कम्तीमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा ५ अङ्कमात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अङ्क हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अङ्क हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग ४–४ खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय शृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया