भूकम्पको असर सतहमा आइपुग्ने कम्पनमा भर पर्छ

 फागुन १०, २०७९ बुधबार १४:३०:३० | डा. लाेक विजय अधिकारी
unn.prixa.net

एउटै म्याग्नेच्युटको भूकम्पले टर्कीमा किन बढी क्षति गर्‍यो र नेपालमा किन कम क्षति भयो भन्ने लागेको छ धेरैलाई । वि.स.२०७२ वैशाखमा नेपालमा गएको भूकम्पले कम क्षति गरेको र दुई हप्ता पिहले टर्कीमा गएको त्यति नै म्याग्नेच्युटको भूकम्पले बढी क्षति किन गर्यो भन्ने पनि लागेको छ । तर त्यसो होइन । भूकम्पको म्याग्निच्युट बराबर भए पनि त्यसबाट निस्कने कम्पन अर्थात् बाहिर सतहमा कम्पन गराउने शक्ति फरक फरक हुन्छ । टर्की भूकम्पले ल्याएको कम्पन नेपालमा २०७२ सालको भूकम्पले ल्याएको कम्पनभन्दा दश  गुना जति बढी थियो । यसकारण टर्की भूकम्पले क्षति बढी हुन गएको हो । 

हाम्रोमा करिब १५ किलोमिटर जमिन मुनिबाट सुरु भएको थियो । त्यसको कम्पन काठमाण्डौसम्म आइपुग्दा काठमाण्डौको सतहबाट झण्डै दश/बाह्र किलोमिटर मुनिसम्म गयो । अर्थात् भूकम्पले जुन चट्टानहरु चिप्लिए वा फुटे त्यो प्रक्रिया १५ किलोमिटर जमिन मुनिदेखि माथि सतहबाट दश किलोमिटर तलै भयो । त्यसैले कम्पन गराएको हो । तर टर्कीमा भने झण्डै १८ किलोमिटर मुनि उद्गम विन्दु रह्यो अर्थात् तल सुरु भयो र त्यसको कम्पन सतहमा आइपुग्यो । भनेको सतहमा नै जमिनलाई टुक्रा बनायो । भूकम्प गएको ठाउँदेखि माथिसम्मको भौगोलिक दरार सतहमा आयो र सतह नै भासियो । त्यस हिसाबले टर्कीमा गएको भूकम्प जमिनमा आएको जस्तो भयो । 

टर्कीमा १८ किलोमिटर तलबाट पनि जमिनको सतहमा कम्पन आयो तर हामीकहाँ १५ किलोमिटर तलबाट पनि १०/१२ किलोमिटर तल नै बस्नुको कारण भने भौगोलिक अवस्था नै हो । 

हाम्रो अध्ययनले के देखाउँछ भने हामीकहाँ २०७२ सालमा गएको जत्रो सानो भूकम्पले सतहमा कम्पन ल्याउँदो रहेनछ ।

हाम्रोमा पनि १९९० सालमा गएको भूकम्प सतहमा आएको थियो भन्ने विभिन्न अध्ययनले देखाइसकेको छ । जसको प्रमाणको रुपमा अथवा हामीले थाहा पाएको कुरा हेर्ने हो भने ९० सालको भूकम्पले १६ हजार मान्छेको ज्यान गएको भन्ने छ । त्यसमध्ये ८ हजार मानिसको मृत्यु तराईमा भारततर्फ भयो भने नेपालतर्फ ८ हजार मानिसको ज्यान गयो । ८ हजारमा पनि ४ हजार मानिसको त काठमाण्डौ उपत्यकामै ज्यान गएको थियो । त्यसले गर्दा नेपालमा गएको भूकम्पको सतहको कम्पन तराईसम्म पुग्यो । तराईतर्फ वा इण्डियातर्फ धेरै क्षति पनि गर्‍यो । 

हाम्रो अध्ययनले के देखाउँछ भने हामीकहाँ २०७२ सालमा गएको जत्रो सानो भूकम्पले सतहमा कम्पन ल्याउँदो रहेनछ । तर, ठूलो अर्थात् महाभूकम्प आयो भने चाहिँ सतहमा कम्पन ल्याउँदो रहेछ । २०७२ सालको भूकम्पले सतहमा कम्पन नल्याएको अवस्था हो । तर, त्यसो भन्दैमा नेपालमा त्यस्तो भूकम्प आउँदैन भन्ने होइन । विगतमा पनि आएको छ, भविष्यमा पनि आउन सक्छ र त्यस्तो महाभूकम्पको कम्पन सतहमा नै आइपुग्न सक्छ ।

हाम्रा भन्दा टर्कीमा भएका भौतिक संरचना पक्कै पनि बलिया थिए । विकसित देश भएकोले यो स्वभाविक पनि हो । हामीले टीभीमा देखेको भत्किएका ठूला भवनहरु विगत एक वर्षमा बनेका थिए ती भवनहरु पनि भत्किए । धराशायी भए । टर्कीमा हाम्रोमा भन्दा बढी अध्ययन अनुसन्धान भएको, राम्रो प्रविधि भएको बलिया भवनहरु थिए । हामीकहाँ त अझै खासै अनुसन्धान भएकै छैन । उनीहरुकहाँ अध्ययन भएर, समय, समय भवनका आचारसंहिता परिमार्जन गरेर गरेका चिजहरु पनि अहिले आउँदा त्यसरी क्षति भए भने हामीकहाँ अहिले हेर्दा हामी त्यो अवस्थामा नपुगेकोले हामीकहाँ त्यो खालको कम्पन हुने हो भने हामीले अहिले टर्कीसँग तुलना गर्दा जस्तो देखेका छौँ भोलि टर्कीसँग तुलना गर्दा उसको कम क्षति भएको अवस्था देखिन जान्छ । क्षतिको कुरा गर्दा त्यहाँ कम्पन बढी भयो र त्यसलाई थेग्ने गरीको भौतिक संरचना त्यहाँ पनि रहेनछ । जति पुुराना संरचना हुन्छन् ती अहिलेको जस्तो नयाँ प्रविधिबाट बनेका हुँदैनन् । ठूला, पुराना शहरहरु सबैको समस्या हो त्यो । हाम्रो पनि त्यही समस्या हो । 

आचारसंहितामा सन्देह

दरार नै सतहमा आइपुग्दा पनि त्यसलाई थेग्ने संरचना बनाउने प्रविधि पनि छन् । जस्तो चाह्यो त्यस्तै बनाउने प्रविधि छन् । तर, हामीकहाँ बीसौँ वर्ष अगाडि बनेको प्रविधिहरु आइपुगेका छैनन् । किनकि सयौँ तलाका घरहरु पनि बनेका छन् । समुद्र मुनि पनि भवनहरु बनेका छन् । अमेरिकाको क्यालिफोर्नीया हाम्रो जस्तै दुई वटा भौगर्भिक चट्टानहरु बीचमा दरारमा रहेको ठाउँ हो । त्यो पनि भूकम्प बढी जाने ठाउँ हो । त्यहाँ पनि ठूला, ठूला भवनहरु बनेका छन् । 

त्यसै गरी जापान पनि एकदमै भूकम्प जाने, गैरहने र महाभूकम्प गइरहेको ठाउँ हो । अब जापानमा कत्रा घरहरु छन् हामी त्यहाँ पनि हेर्न सक्छौँ । त्यस्तै न्युजिल्याण्ड, चिली, मेक्सिको भूकम्प धेरै जाने र ठूला, ठूला भवनहरु भएका देशहरु हुन् । प्रविधि संसारमा उपलब्ध छ तर, हामीकहाँ प्रयोग गर्नलाई मूल्यको पनि कुरा आउँछ । कस्ता खालका भवन कुन प्रविधिले बनाउने, त्यसको उपादेयता के भन्ने अध्ययन पनि हुनुपर्ला । हामीकहाँ 'दुई रुपैयाँको तरकारीलाई पाँच रुपैयाँको मसला' भन्ने उखान पनि छ फेरि त्यस्तै होला भन्ने पनि हुनसक्छ । यसको लागि भएका प्रविधिमा कहाँ कुन प्रविधिको प्रयोग गर्ने भन्ने अध्ययन चाहियो । त्यो अध्ययन हामीकहाँ अझै भइनसकेको अवस्था छ । अहिले जतिसुकै ठूलो भूकम्प जाँदा पनि क्षति कम हुने संरचनाहरु बनाउने प्रविधिहरु उपलब्ध छन् । 

आचारसंहिता लागू भयो भनिए पनि सहीरुपमा लागू भएको छ कि छैन भन्ने कुरा हामीकहाँ झन टड्कारोरुपमा हेर्नुपर्ने देखिन्छ ।

टर्कीमा पटक पटक महाभूकम्प गएको छ र हामी जस्तै पुस्ताले पटक, पटक महाभूकम्प भोगेको छ । अहिले नयाँ आचारसंहिताले बनेको घरहरु पनि अहिलेको भूकम्पले भत्कियो भनेपछि यो प्रश्न हामीले उठाइरहँदा टर्कीमा पनि उठिसकेको छ । हामीले बनाएका आचारसंहिताहरु राम्रोसँग लागू भएको छ कि छैन भन्ने नयाँ प्रश्न उब्जिएको छ । जुन हाम्रा लागि पनि जायज छ । हामी पनि आचारसंहिता त बनाउँछौँ तर, लागू पनि हुन्छ । र जुन बन्छ त्यही बनेको अनुसार लागू भएको छ कि छैन भन्ने कुरा हामीले हेरेका छौँ कि छैनौँ ।

हाम्रो तुलना गर्दा टर्की जस्तो विकसित देशमा त यो समस्या आयो र त्यहाँका घर बनाउने ठेकेदार र कम्पनीका मालिकहरुलाई पक्राउ गरिएको समाचार आएको छ । यसको अर्थ उनीहरुले आचारसंहिता अनुसार घर नबनाएको भन्ने बुझियो नि त । हामीकहाँ पनि बनाउनु र लागू गर्नु एउटा कुरा भयो । र, लागू भयो भनिए पनि सहीरुपमा लागू भएको छ कि छैन भन्ने कुरा हामीकहाँ झन टड्कारोरुपमा हेर्नुपर्ने देखिन्छ । त्यसले गर्दा अध्ययन गरेर, नीति नियम बनाएर त्यस अनुसार काम गर्दा पनि सहीरुपमा काम भएको छ कि छैन भनेर अनुगमन भएन भने त्यसले क्षति झन धेरै बढाउँछ भन्ने कुरा देखियो ।

भूकम्प जानकारी दिएर आउँदैन 

हामीले जानेको थाहा पाएको र भन्दै आएको कुरा भूकम्प हामीलाई जानकारी दिएर आउँदैन भन्ने छ । यस अर्थमा सय, सय वर्षमा, बीस, बीस वर्षमा वा दश, दश वर्षमा आउँछ भन्ने हुँदैन । हामीलाई थाहा भएको कुरा के हो भने कुना ठाउँमा भूकम्प जन्छ भन्ने कुरा विज्ञले पत्ता लगाइसकेका छन् । के कारणले जान्छ भन्ने पनि पत्ता लगाइसकेका छन् र कत्रोसम्म  जान्छ वा कतिसम्म शक्ति सञ्चित छ भन्ने पनि पत्ता लगाइसकेका छन् । तर, कहिले जान्छ भन्ने चाहिँ भन्न सकिँदैन । हामीले सय, सय वर्षमा ठूला भूकम्प जान्छ भनेर भन्ने हो भने त्यो होइन । त्यसो भए पश्चिम नेपालमा त पाँच सय वर्षभन्दा बढी भयो भूकम्प नगएको हामीले थाहा पाएको । उदाहरणको कुरा गर्दा मंगोलियामा बिसौँ शताब्दीमा तीन वटा ८ रेक्टर भन्दा ठूला भूकम्पहरु एकै वर्षमा गएका छन् । त्यसकारण ठूलो भूकम्प गएपछि अर्को सय वर्ष आउँदैन भन्ने होइन । 

पश्चिम नेपालमा त पाँच सय वर्ष भइसक्यो गएको छैन । त्यसैले सय वर्षमै महाभूकम्प जान्छ भन्ने पनि सही होइन ।

नेपालमा काठमाण्डौमा केन्द्रविन्दु बनाएर सय, सय वर्षमा भूकम्प गएको भन्दा पनि डेढ/दुई सय वर्षमा साना, मझौला भूकम्पहरु गैरहेका छन् ९० सालको भूकम्पको तुलनामा । ७२ सालमा गएका जस्ता भूकम्प । पूर्वी नेपालको कुरा गर्दा १२५५ देखि पछि झण्डै छ/साढे छ सय वर्षपछि मात्रै ९० सालको भुइँचालो गयो महाभूकम्पको कुरा गर्दा । पश्चिम नेपालमा त पाँच सय वर्ष भइसक्यो गएको छैन । त्यसैले सय वर्षमै जान्छ भन्ने पनि सही होइन । त्यो कहाँको लागि भन्ने मात्रै हो । 

२०७२ को भूकम्पपछि जनमानसमा भवन बनाउने कुरामा धेरै चेतना जागेको छ । नजागेको भने होइन । तर, पर्याप्त भने छैन । हामीले ठूला अग्ला भवन बनाउन हुन्न भन्ने मानसिकता बनाउन हुँदैन हामीले । त्यत्रा भूकम्प जाने ठाउँमा त सय तलाका भवन बनाएका छन् भने सही प्रविधि र मापदण्ड प्रयोग गरेर भवन बनायो भने केही फरक पर्दैन । सानो भवन गोरखा देखि सिन्धुपाल्चोकसम्म जुन क्षति भयो त्यो आठ लाख सबै ठूला भवन थिए र ? साना साना घरहरु नै थिए नि । सानो हुँदा पनि क्षति हुनसक्छ र ठूलो हुँदा पनि क्षति नहुन सक्छ । यसमा अब आउने ठूलो भूकम्पलाई हामीले अध्ययन कति गरेका छौँ भन्ने देखियो ।

अर्को भनेको त्यो अध्ययन अनुसार आएको रिर्पोटलाई हामीले कति लागू गरेका छौँ भन्ने टर्कीले पनि देखायो । अर्को हामीसँग पहिले नै बनाएका कमजोर भवनहरु छन् । त्यसबाट हुने जोखिमलाई कम गर्न हामीले के गरेका छौँ भन्ने जोखिम न्यूनीकरणमा आउँछ । हामीसँग पहिले नै जोखिममा भएका भवनहरु पनि छन् । अहिले पछि बनाएकालाई पनि हामीले नकारात्मकरुपमा हेर्नु भएन । अब बनाउने कुरामा हामी चुक्नु नै भएन । किनकि जति ठूलो भवन बनाउँछौँ भौतिकरुपमा र मानवीय क्षति पनि धेरै हुने हुनाले भूकम्पबाट जोखिम हुनेगरी बनाउनु नै भएन । 

नेपाल सधैँ भूकम्पीय जोखिममा

नेपाल दुई वटा भौगोलिक प्लेटहरुको टेक्टोनिक प्लेट दक्षिणतर्फ र उत्तरतर्फको युरोसीयन प्लेटको बीचमा अवस्थित छ । यी दुई वटा प्लेटहरु एक आपसमा घर्षण हुँदा त्यहाँ शक्ति जम्मा हुन्छ र त्यही शक्तिले भूकम्प जान्छ भन्ने छ । संसारभरि यस्ता प्लेटहरु दजर्नौँ छन् । ती दर्जनौँ प्लेटमध्ये दुई वटा ठूला, ठूला प्लेटको बीचमा हिमालय छ । हिमालयको झण्डै एक तिहाइ भाग नेपालले ओगटेको छ । 

नेपाल भूकम्पीय जोखिमको हिसाबले माथि नै छ । त्यसकारण यहाँ भूकम्प जुनसुकै बेला जाने खतरा पहिले पनि थियो, अहिले पनि छ र भविष्यमा पनि रहनेछ । हामी पहिले भूकम्प अहिले सुरक्षित छौँ, अहिले गयो भोलि सुरक्षित छौँ र भोलि जान्छ पर्सि जाँदैन भन्ने सुरक्षित अवस्थामा छैनौँ । 

जापान, इण्डोनेशिया, मलेशिया, न्युजिल्याण्ड, टर्की, चिली, अमेरिकाको क्यालिफोर्निया जसरी भूकम्पीय जोखिममा छ त्यसरी नै नेपाल पनि जोखिममा छ । तर, जोखिम कम गर्ने कुरामा हामी के कुरामा पछाडि छौँ भने अरु विकसित देशले भूकम्प कत्रो जान्छ, कहाँ जान्छ, त्यसले कति क्षति हुन्छ भन्ने कुराको अध्ययनमा हामीभन्दा धेरै अघि पुगेका छन् भने हामीकहाँ देशभरीमा ठूलो भूकम्प जाँदा कुन ठाउँ, कति क्षति गराउँछ भन्ने कुराको अध्ययन भएको छैन । 

नेपालको चौडाइ बढीमा एक सय २० किलोमिटरको हाराहारीमा छ । झण्डै ८ सय किलोमिटर लम्बाइ भयो । चौडाइ सय किलोमिटरमा हामीले २०७२ सालको भूकम्पलाई हेर्‍यौँ भने भूकम्पको केन्द्र विन्दु गोरखा, हिमालयको काखमा भयो अनि त्यसको कम्पन काठमाण्डौमा आयो तराईमा आएन तर, ठूलो भूकम्प गयो भने माथि हिमालको फेदमा भूकम्प जाने र त्यसको कम्पन चुरेसम्म आउने हुनाले भूकम्पीय जोखिमको दृष्टिकोणले न हामी हिमालमा, न तराईमा सुरक्षित छौँ । केवल भूकम्प कत्रो जान्छ भन्ने मात्र हो । सामान्यतया केन्द्रविन्दु जहाँ जसको नजिक हुन्छ त्यहाँ धेरै क्षति र त्यसको टाढा गयो भने कम हुने भन्ने हो । तर, भूकम्पीय जोखिमको हिसाबले चाहिँ हिमाल, पहाड र तराई हामी उत्तिकै जोखिममा छौँ । हाम्रो भूकम्प जाने चट्टानहरु चिप्लिने ठाउँ हिमालतिर भए पनि तराईमा चुरेको फेदसम्म कम्पन आयो भने जमिन तराईमा आएर फाट्छ । त्यही भएर ठूलो भूकम्पका लागि नेपाल पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म उत्तिकै जोखिममा छ । 

भूकम्पले कहाँ क्षति कम हुन्छ भन्ने कुरा ठाउँ हेरेर, भूकम्पको प्रकृति हेरेर र त्यहाँको भौगोलिक अवस्थाले धेरै असर गर्छ ।

एउटा भूकम्पले सबै ठाउँमा एउटै किसिमको कम्पन गराउँछ भन्ने हुँदैन । कहिलेकाहीँ भूकम्पको केन्द्रविन्दु नजिक भएर पनि कम क्षति हुने र टाढा केन्द्रविन्दु भएर पनि बढी क्षति हुने पनि हुन्छ । जस्तो अहिलेको गोरखा भूकम्पको कुरा गर्दा गोरखाको बारपाक केन्द्रविन्दु भए पनि नजिकै लमजुङमा भने क्षति भएको छैन । त्यसको नजिकै पोखरामा पनि क्षति भएको छैन । तर गोरखाको डेढ सय किलोमिटर टाढा सिन्धुपाल्चोक तथा दोलखामा भने सबैभन्दा बढी क्षति भएको छ । काठमाण्डौ असी/नब्बे किलोमिटर टाढा पनि क्षति भएको छ । 

भूकम्पले कहाँ क्षति कम हुन्छ भन्ने कुरा ठाउँ हेरेर, भूकम्पको प्रकृति हेरेर र त्यहाँको भौगोलिक अवस्थाले धेरै असर गर्छ । भूकम्पको प्रकृतिले गर्छ भनेको लमजुङ, पोखरामा नगर्नु र काठमाण्डौ उपत्यकामा गर्नुले पनि पुष्टि गर्छ । भूकम्पको तरङ्गको गति जति साह्रो चिज भयो घनत्व बढी भयो त्यसमा छिटो हिँड्छ । जति घनत्व कम भयो त्यति ढिलो हिँड्छ । त्यसकारण यदि बलौटे माटो भएको ठाउँ छ भने त्यहाँ त्यसको तरङ्ग आउन बढी समय लाग्ने भयो । आउन बढी समय लाग्दा धेरै बेर हल्लाउने हुँदा क्षति बढी हुने भयो । चट्टान भएको ठाउँमा कम समय हिँड्ने हुँदा थोरै बेर हल्लाउने हुँदा कम क्षति हुने भयो । 

यदि चट्टान, माटो, गिट्टी, बालुवाको पत्रबाट तरङ्ग बाहिर आयो भने एक त ढिलो हिँड्ने र त्यस्तोमा छिर्दा तरङ्गहरु एक आपसमा ठोकिएर शक्ति बढ्ने कारणले क्षति बढी हुने गर्छ । काठमाण्डौ खाल्डोमा झण्डै पाँच/छ सय मिटर माटो, बालुवा, गिट्टी पुरिएर बनेको खाल्डो हुनाले अन्तबाट आएको भूकम्पको तरङ्ग यहाँ आइपुग्दा यसको शक्ति केही गुणा बढाइदिन्छ । यसका बारेमा नेपालमा भने अझै अध्ययन हुन धेरै बाँकी छ । नेपालमा जहाँ भूकम्प गए पनि त्यो भूकम्पले त्यसले कुन ठाउँमा कति कम्पन गराउँछ भन्ने कुराको अध्ययन चट्टानहरुमा कति हुन्छ भन्ने अलि अलि थाहा छ तर, सबै ठाउँमा चट्टानै चट्टान त छैन । काठमाण्डौमा कुनै ठाउँमा छ सय मिटरको माटो, बालुवाको पत्र छ भने कहीँ यहिँ पनि नहुन सक्छ । 

भूकम्प सम्बन्धी शिक्षाको कमी

यस्तो अध्ययनका लागि सबैको तारतम्य नमिलेको हो कि जस्तो लाग्छ । सरकारको, हाम्रो जस्तो संस्थाको र ठूलो कुरा त भूकम्प सम्बन्धी शिक्षाको कमी भन्ने देखिन्छ यसमा । भूकम्पसम्बन्धी जान्ने, बुझ्ने र पढेका मान्छे हामीले नेपालमा खोज्यौँ भने कति जना छन् त । यसको उत्तर त्यहीँबाट आउँछ कि जस्तो लाग्छ । 

सरकारले कुनै काम गरेन भन्दा पनि त्यस सम्बन्धी थाहा पाउने मान्छे त हुनुपर्‍यो नि । कुनै कुरा थाहा पाएपछि बल्ल यसो गर्ने भन्ने बोध हुने हो नि त हामीलाई । त्यो बोध हुनलाई ९० सालपछि हामीलाई भूकम्प भनेको थाहा नै भएन । २०४५ सालमा अलि अलि थाहा भयो । त्यसपछि भूकम्प नाप्न मात्र भए पनि देशमा भूकम्प मापन केन्द्रको स्थापना भयो । 

२०७२ सालपछि प्रविधिले गर्दा हामीले भूकम्पसम्बन्धी धेरै कुरा थाहा पायौँ । आफू बस्ने घर सुरक्षित हुनुपर्छ भन्ने थाहा पायौँ । अनि अरुको घर आफैँले अन्य प्रयोजनको लागि बनाएको घर भने सुरक्षित बनाउनु पर्छ भन्ने लागेको छैन । संरचना अरुलाई बनाउन दिने कुरा जुन अहिले टर्कीमा पनि प्रश्न उठेको छ यसमा पनि यो मेरो लागि पनि बनाएको भन्ने हामीकहाँ आएन कि जस्तो लागेको छ । यो मेरो लागि पनि बनाएको हो र यसको क्षति हुँदा म पनि पर्न सक्छु भन्नको लागि यसको पनि ज्ञान हुनुपर्‍यो । ज्ञानको कमी नै भूकम्पसम्बन्धी अध्ययन, अनुसन्धानमा कमी हुन गएको हो । 

कसैले समय तोकेर यो समयमा भूकम्प जान्छ भन्छ भने त्यो गलत हो भन्ने कुरो प्रत्येक व्यक्तिले बुझनुपर्‍यो ।

भूकम्पको शिक्षा न हामीले पहिले दियौँ । २०७२ सालको भूकम्पपछि पनि जहाँ चाहिएको हो त्यहाँ हामीले दिन सकेका छैनौँ अहिले पनि । पाठ्य पुस्तकमा जसरी भूकम्पलाई समावेश गर्नुपर्ने थियो त्यो हामीले गर्न सकेका छैनौँ । नर्सरीदेखि माथिल्लो तहसम्म भूकम्पका बारे जानकारी दिने र भूकम्प गयो भने कसरी काम गर्ने भन्ने बारेमा हामीले जानकारी दिएनौँ भने हामी आफैँले भूकम्पको जोखिम न्यूनीकरण भन्दा पनि बढाइरहेका हुन्छौँ । यसलाई स्कुल जानेमा मात्र नभएर स्कुल नजाने जनसङ्ख्यामा पनि कसरी पुर्‍याउने भन्ने पनि छ । 

भौगर्भिक विपद्को कुरा गर्दा भूकम्प न हामीले रोकेर रोकिन्छ, न छेकेर छेकेन्छ कहिल्यै । हामीसँग भूकम्प थियो, छ र रहनेछ । र, यस्ता विपद्हरु न्यूनीकरण कसरी गर्ने भन्नका लागि पालिका वा जिल्लाले भूगर्भसम्बधी विपद्मा काम गर्नको लागि जबसम्म हामीले जनशक्तिको व्यवस्था गर्दैनौँ तबसम्म यो विपद् आएपछि के गर्ने, कुन ठाउँमा विपद् हुनसक्छ भनेर पत्ता लगाइसकेपछि दिएको रिर्पोट हेर्ने मान्छे पनि त चाहियो नि कहीँ न कहीँ । त्यस्तो जनशक्ति जब हामीले जिल्ला तहबाट पालिकातहमा पुर्‍याउन सक्दैनौँ ।

तबसम्म हामी जोखिममै हुन्छौँ र त्यसबाट जनधनको क्षति भइरहन्छ । हामीले केन्द्रदेखि प्रदेश अनि पालिका तहसम्म भूगर्भसम्बन्धी विपद् हेर्ने जनशक्ति तयार पार्‍यौँ भने पालिकामा भौगोलिक जोखिमहरु के के हुन्छन्, जोखिम अध्ययन भएपछि त्यसलाई कम गराउन के गर्न सकिन्छ भनेर कसैले हेरिरहने हो भने केही काम होला । अन्यथा त्यस्तो जनशक्ति नभए त्यस्तो रिर्पोट हेर्ने मान्छे नै भएन भने के गर्ने । त्यसकारण नहुनु ठूलो कुरा भएन तर, त्यसतर्फ काम गर्न भने जरुरी छ । 

हामीले भूकम्पलाई केही गर्न सक्दैनौँ भन्ने कुरा थाहा पाइसक्यौँ त्यसकारण यो कहिले आउँछ के हुन्छ भनेर आत्तिनु भएन । जुम्लामा भूकम्प आउँछ भनेर रात बिताएको कुरा र टर्कीमा गएको भूकम्पले पनि यसको पूर्वानुमान गर्न सकिँदैन भन्ने बुझ्नु पर्‍यो । कसैले समय तोकेर यो समयमा भूकम्प जान्छ भन्छ भने त्यो गलत हो भन्ने कुरो प्रत्येक व्यक्तिले बुझनुपर्‍यो । भूकम्प आउँछ भनेर बुझनुपर्‍यो तर, आउँछ भनेर आत्तिनु भएन । 

भूकम्प गइसकेपछि त्यसबाट क्षति न्यूनीकरण गर्न एउटा व्यक्तिले आफ्नो तर्फबाट के गर्न सक्छ भन्दा आफूले बनाउने नयाँ संरचना छ भने कसरी जोखिम कम गरेर बनाउन सक्छु भनेर छलफल गरेर निर्माण गर्ने । आफूले जानेका कुरा नजानेका मान्छेलाई सिकाउने । भूकम्प जानु अगाडि के गर्ने, जाँदा के गर्ने, गइसकेपछि के गर्ने आदि कुराका बारेमा समुदायमा पनि जानकारी गराउने ।

अहिले भूकम्प गइसकेपछि खुला ठाउँहरु चाहिन्छ भन्ने कुरा आइरहेका छन् । अहिले नगरोन्मुख ठाउँहरुमा यस्ता ठाउँहरुको व्यवस्था गर्न सकिने हुँदा त्यस्ता कुरामा विचार गर्ने । त्यस्ता कुरा लागू गर्न पहल गर्ने । भूकम्प जाँदा मान्छे अत्तिने हुनाले पहिले नै भूकम्प गएपछि यस्तो हुन्छ, यहाँ जाने भन्ने कुरा पहिले नै विचार गर्ने । यस्ता कुरा आफूले पनि सिक्ने र समुदायका अरुलाई पनि सिकाउने गरेमा क्षति न्यूनीकरण गर्न सकिन्छ ।  

(राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद्  डा. लोकविजय अधिकारीसँग गरिएकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: जेठ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. लाेक विजय अधिकारी

अधिकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा वरिष्ठ भूकम्पविदकाे रुपमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया