दमकल र पानी नभएको बेला आगो कसरी निभाउने ?

 फागुन ११, २०७९ बिहीबार १३:२९:१४ | प्रकाश पण्डित
unn.prixa.net

आगो विनाशकारी बन्यो वा आगलागी भयो भने हामी सुरुमै आत्तिन्छौँ । तर, यसमा आत्तिने नभइ पहिले आफू सुरक्षित भइ कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्छ । आगलागी भइसकेपछि पहिले आफूले नै नियन्त्रण गर्न सकिन्छ कि भन्ने कुरामा लाग्ने । आफूले नियन्त्रण गर्न सकिने भए नियन्त्रण गर्न सकिने पानी, माटो, बालुवा, भिजेका लम्पट अनि आगलागी नियन्त्रण गर्ने अन्य उपकरणको प्रयोग गर्ने । आगो आफ्नो नियन्त्रण बाहिर छ र विनाशकारी रुप लिने खतरा छ भने सबैभन्दा पहिले नजिकको लाई खबर गर्ने । १०१ नम्बरमा फोन गरेर दमकललाई खबर गर्न सकिन्छ ।

दमकल पुगेपछि त्यसमा रहेका विज्ञ अग्नी नियन्त्रक र पानी, फोम तथा त्यहाँ रहेका अन्य यन्त्र तथा उपकरणको माध्यमबाट चाँडोभन्दा चाँडो आगलागी नियन्त्रण हुनसक्छ । यसकारण एउटा अग्नी नियन्त्रकको नाताले आगलागी हुँदा नआत्तिकन सबैभन्दा पहिले आफू सुरक्षित रही आगलागी नियन्त्रणको प्रयास गर्ने र दमकललाई खबर गर्ने गर्नुपर्छ ।

हामीले सुरक्षाका पर्याप्त उपाय अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ हाम्रा अग्नी नियन्त्रकहरु पनि दुर्घटनामा परेका घटना छन् । त्यो भनेको त्यहाँको अवस्था र आगलागी भएको भवन वा भग्नावशेषको कारणले हुनसक्छ । आगलागी कतिखेर नियन्त्रणमा आउँछ भन्ने कुरो भने आगोको स्वरुप कस्तो र कत्रो छ अनि आगलागी फैलनसक्ने नसक्ने अवस्थामा भर पर्छ ।

हुनत हामीले आगलागी नियन्त्रणका अभ्यास तथा यसका विधिका बारेमा टेलिभिजन तथा पत्रपत्रिकामा पनि बेला बेलामा जानकारी तथा सूचना दिने गरेका छौँ । र, सकिन्छ भने यही विधि, प्रक्रियाले नियन्त्रणतर्फ लाग्नुपर्छ । होइन र सकिँदैन भने सकेसम्म चाँडो दमकललाई खबर गर्नुपर्छ ।

काठमाण्डौ मात्र नभएर जहाँका सडक साँघुरा छन्, गल्लीहरु छन्, भएका पनि सजिलै जान सक्दैन त्यस्ता ठाउँमा आफैँले छिमेकीसँग एक, एक बाल्टी पानी वा आगलागी नियन्त्रणका लागि सहयोग मागेर आगलागी नियन्त्रणतर्फ लाग्नुपर्छ । कतिपय ठाउँमा पानी पनि सजिलै उपलब्ध नहुन सक्छ त्यस्तो ठाउँमा स्याउलाको मुठा बनाएर प्रयोग गर्ने आदि गर्नुपर्छ ।

जङ्गलमा हुने डढेलो वा आगलागी भने निकै भयानक हुने गर्छ । एक ठाउँमा नियन्त्रण गर्न जाँदा सुक्खा मौसममा हावाका कारण आगोको लप्काले अन्त भेटिसकेको हुन्छ । त्यसकारण जङ्गलको आगलागी नियन्त्रण भने निकै कठिन र जोखिमपूर्ण पनि हुने गर्छ । जङ्गलमा पानी नहुने कारणले त्यहाँ पनि स्याउलाको नै प्रयोग गर्ने हो । यसमा पनि त्यहाँ रहेका समुदायलाई आगलागी नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेर कसरी आगलागी नियन्त्रण गर्न सकिन्छ भनेर सिकाउनुपर्छ ।

गाउँघरमा भने अहिले सामुदायिक तथा कबुलियती वन राम्रोसँग फस्टाएको छ । यसकारण सुक्खा मौसममा यहाँ पनि आगलागीको खतरा हुन्छ नै । यस्तोमा पनि वन संरक्षण गर्ने समूह वा समुदाय मात्र नभइ नजिकका अन्य व्यक्तिमार्फत् आगलागी नियन्त्रणको प्रयास गर्नुपर्छ । यसमा पनि हामीले सचेतनाको कार्यक्रम लागू गर्नुपर्ने छँदैछ । त्यसका अतिरिक्त आगलागी हुने बित्तिकै पानी छ भने पानीको प्रयोग गर्ने नभए स्याउलाको मुठा बनाएर स्याउलाले हानेर सावधानीपूर्वक आगलागी नियन्त्रण गर्नेतर्फ लाग्नुपर्छ ।

काठमाण्डौलगायतका महानगर र अन्य नगरहरुले पनि अहिले आफैँले को व्यवस्था गर्न थालेका छन् । भएकाको हकमा आफ्नो को प्रयोग गर्ने कुरा छँदैछ नभए पनि अन्यत्रको प्रयोग गरेर भए पनि आगलागी नियन्त्रण गर्नुपर्छ ।

आगलागी नियन्त्रण गर्न पानीको महत्वूर्ण भूमिका भए पनि हरेक आगलागीमा पानीको प्रयोग गर्न सकिँदैन । जस्तो कि पेट्रोल जस्ता ज्वलनशील पदार्थमा भएको आगलागीमा पानीको प्रयोग गर्नु हुँदैन । यस्ता आगलागीमा भने हामी माटो, बालुवाको प्रयोग गरेर आगलागी नियन्त्रण गर्नेतर्फ लाग्नुपर्छ । त्यस्तै जङ्गलमा लागेको आगलागी नियन्त्रण गर्न पनि कोदालो, कुटो लगायत खन्ने औजारहरु लिएर गएर नियन्त्रण गर्न सकिन्छ । तर, यी भनेका केवल घरेलु उपाय हुन् । र, आगलागी फैलिन वा बढ्न नदिनका लागि गरिने प्रारम्भिक चरणमा भने यस्ता कदम निकै उपयोगी हुनसक्छ ।

आगलागी नियन्त्रण गर्दा पहिले आफू सुरक्षित हुनुपर्छ । नेपालमा त्यस्तो सुरक्षित प्रविधि आइसकेको छैन । अझ गाउँघरतिर त आगलागी नियन्त्रण गर्न घरेलु उपाय नै अपनाउने हो । यसमा सुरक्षित रहने बारे आफैँले विचार पुर्‍याउनु पर्छ । जङ्गलको आगलागी नियन्त्रण गर्दा भने हावा कुन दिशातिर बगेको छ त्यो थाहा पाउनु पर्छ । हावा आएको विपरीत दिशामा गयो भने आफू पनि घाइते हुने सम्भावना हुन्छ । त्यसकारण हावा आएको दिशातर्फबाट आफूले पनि नियन्त्रणको प्रयास गर्‍यो भने सुरक्षित हुने सम्भावना धेरै हुन्छ ।

गाउँघरतिर यस्तोमा स्याउलाको प्रयोग गर्न सकिन्छ । तर, धेरै ठूलो आगो छ भने स्याउलाको प्रयोग गर्न सकिँदैन र यसरी आगलागी नियन्त्रण पनि हुँदैन । जङ्गलको आगलागी नियन्त्रण गर्न हावाको विपरीत दिशातर्फबाट प्रयास गर्‍यो भने आगोको लप्कोले हानेर घाइते हुने सम्भावना हुन्छ । आगलागीबाट जोगिने पीपीइ सेट नभएको अवस्थामा हावाको दिशासँगै स्याउलाले हानेर सानो खालको आगो नियन्त्रण गर्न सकिन्छ जङ्गलमा ।

केही वर्ष अगाडि सिन्धुलीमा भएको आगलागी नियन्त्रणको प्रयास गर्दा नेपाली सेनाका सात/आठ जना सैनिकहरुको निधन भएको थियो । यसमा उहाँहरुले आगो निभाउन सकिन्छ भनेर हावाको दिशालाई त्यति ख्याल गर्नुभएन । हावा बगेको दिशा विपरीत गएर उहाँहरुले आगो निभाउन खोज्दा त्यो दुर्घटना भएको देखिन्छ । त्यस्तो अवस्थामा हामीले जहिले पनि हावा कताबाट बगेको छ भनेर ध्यान दिएर हेरेर मात्र कुन दिशाबाट आगलागी नियन्त्रणको प्रयास गर्ने भन्ने कुरा विचार गर्नैपर्छ । अन्यथा दुर्घटना हुने सम्भावना हुन्छ । हावा आएको दिशाबाट नियन्त्रणको प्रयास गर्दा आफू पनि सुरक्षित होइन्छ र आगो पनि चाँडोभन्दा चाँडो नियन्त्रणमा आउँछ ।

कुनै घरमा आगलागी भयो भने नियन्त्रणको प्रयास गर्दा हामी तलबाट नै नियन्त्रणको प्रयास गर्छाैँ । आगलागी भएको मुख्य विन्दु नियन्त्रणको प्रयास गरेपछि माथि गएको आगोको लप्का त त्यसै निभिहाल्छ । तलबाट आगो माथि जान नपाएपछि माथिको आगो छिटोभन्दा छिटो नियन्त्रणमा आउँछ । जङ्गलको आगोको हकमा पनि यही कुरा लागू हुन्छ । तल आगो लागेको छ र माथिबाट निभाउँछु भन्यो भने आगलागी पनि नियन्त्रण हुँदैन र दुर्घटना हुने सम्भावना पनि हुन्छ । तर, तल बसेर नियन्त्रणको प्रयास गर्‍यो भने आगलागी पनि नियन्त्रणमा आउँछ र दुर्घटनाको खतरा पनि रहँदैन । जङ्गलमा पनि स्याउला वा माटो हालेर नियन्त्रण गर्ने हो भने पनि आगोको फेदमै हाल्नु पर्छ ।

जङ्गलको आगलागी नियन्त्रण बाहिर जाने सङ्केत देखिएमा पतकरहरु सोहोर्ने तथा त्यसको बीचमा खोल्सो खनेर माटोले पुरेर आगोको लप्का अगाडि नजाने गरी पनि नियन्त्रणको प्रयास गर्नुपर्छ । आगलागी नियन्त्रणका अग्नी नियन्त्रकहरुसँग भने आगोको झिल्काले असर नगर्ने खालका लुगाहरु जस्तै पोर्टेबल पीपीइहरु पनि हुन्छ । सुरक्षित रहनका लागि यस्ता पीपीइ सेटहरुको पनि प्रयोग गर्नुपर्छ । तर, पीपीइ सेट लगाएको छ भन्दैमा जथाभावी आगोको लप्कोमा जाने काम भने गर्नुहुँदैन । पीपीइ सेट अलि महँगो पनि हुन्छ र कसरी लगाउने, फुकाल्ने र कसरी प्रयोग गर्ने भन्ने तालिम पनि चाहिन्छ त्यसका लागि ।

सामान्यतः एउटा मा तीन हजार लिटर पानी हुन्छ । त्यो करिब दश मिनेटमा सकिन्छ । दश मिनेटपछि अर्को रिजर्भ वायर वा पानी भएन भने ले मात्र केही गर्न सक्ने कुरा भएन । त्यसकारण नजिकै कतैबाट पानीको आपूर्ति गर्न सकिन्छ भने त्यसको पनि व्यवस्था गर्नुपर्छ । अन्यथा आगो धेरै भागमा फैलिसकेको हुन्छ, नियन्त्रण गर्न धेरै समय लाग्छ अनि त्यसले धेरै क्षति गर्छ । आगलागी नियन्त्रण गर्न जाँदा सामान्यतया सुरक्षित रहनका लागि थोरैमा तीन मिटरको दूरीमा बस्नुपर्छ । तीन मिटरसम्म ठूलो आगोको लप्का आउन सक्छ भनेर यसो भनिएको हो ।

काठमाण्डौ उपत्यकाको हकमा हाम्रो आँकडाले पनि के भन्छ भने २०७५ देखि अहिलेसम्म आउँदा आगलागीका घटना कम भइरहेको देखिन्छ । यसले मानिसहरु सचेत छन् सावधानी अपनाउन लागिपरेका छन् भन्ने बुझिन्छ । काठमाण्डौ भित्र आगलागी हुँदा के सावधानी अपनाउने र नआउँदै नागरिकहरुले आगो निभाएर हामी त्यसै फर्केको पनि धेरै घटना छ । आव २०७८/७९ मा तीन सय ५५ वटा आगलागीका घटना भएका थिए काठमाण्डौ उपत्यकामा । अहिले साउन यता पुस मसान्तसम्मा एक सय २० आगलागीका घटना भएका छन् । यदि अब धेरै नै भयो भने पनि तीन सय देखि बीससम्म होला । त्यो भनेको कम भएकै हो ।

आगलागी नियन्त्रणका लागि हामीले गर्ने सबैभन्दा राम्रो र सजिलो उपाय भनेको सावधानी अपनाउने नै हो । सहरतिर हामी खाना पकाउनका लागि भान्सामा एलपी ग्यासको प्रयोग गर्छाैँ । गाउँघरमा दाउरा वा मट्टीतेल यस्तै केही होला । यस्तोमा काम सकिएपछि आफूले प्रयोग गर्ने आगो राम्रोसँग निभाउने । ग्यास छ भने रेगुलेटर राम्रोसँग बन्द गर्ने । ग्यास चुहिएको छ भने पहिले भान्सामा जाँदा बिजुली बत्ती नबाल्ने र बलिरहेको छ भने ननिभाउने पनि ।

गाउँघरतिर गाइवस्तुका लागि खोले पकाउन पनि आगो बालिन्छ । नजिकै पराल अनि आगलागी हुनसक्ने वस्तुहरु हुन्छन् । छानो पनि खरकै हुनसक्छ । यस्तोमा आगो राम्रोसँग ननिभाउने हो भने आगलागी हुने खतरा रहन्छ । यसकारण हामीले आगोको काम सकिने बित्तिकै त्यसलाई पानी हालेर राम्रोसँग निभाएर छोड्नुपर्छ । बालबच्चा, बुढाबुढीलाई सकभर आगोको सम्पर्कबाट टाढा राख्ने । सानो आगो हो केही हुँदैन भनेर छोड्दा आगलागी हुन सानो झिल्कोले पनि काम गर्छ ।

आगलागी नियन्त्रणका लागि जस्ले आगोको प्रयोग गर्छ उसले सावधानीपूर्वक गर्नुपर्‍यो । यो नै आगलागी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो । आगलागी भइसकेपछि त्यसलाई नियन्त्रणमा लिन गाह्रो, अप्ठेरो हुने अनि जनधनको पनि क्षति हुने हुँदा आगलागी नहुँदै आगो प्रयोग गरिसकेपछि यसलाई राम्रोसँग निभाएर सुरक्षित हुनु नै नियन्त्रणको सबैभन्दा उत्तम विकल्प हो । 

(जुद्ध वारुण यन्त्र काठमाण्डौमा कार्यरत अग्नि नियन्त्रक पण्डितसँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: असार ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रकाश पण्डित

पण्डित जुद्ध बारुण यन्त्र काठमाण्डाैकाे प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया