मेलम्चीको पानी वितरणका क्रममा चुहावट हुँदा सडकमा क्षति

 फागुन १२, २०७९ शुक्रबार १६:४०:१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाण्डाै उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ । 

खासगरी उपत्यकामा अहिले पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको हाे । खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका ठाउँमा खाल्डाखुल्डी देखिएका छन् । खाल्डाखुल्डी देखिएपछि टालिहाल्ने गरिएको भए पनि त्यस आसपासमा नयाँनयाँ चुहावट भइरहेकाे देख्न सकिन्छ । 

पानी चुहावटका कारण सडकमा क्षति पुगेका ठाउँमा समन्वयमा मर्मत पनि भइरहेको डिभिजन सडक कार्यालय काठमाण्डाैले जनाएको छ । कुनै कुनै भइसकेको र कतै मर्मत भइरहेको डिभिजनका सूचना अधिकारी सुमित केसीले बताउनुभयो । उहाँका अनुसार काठमाण्डाै उपत्यका खानेपानी लिमिटेडले पहिले पुनःस्थापना (खाल्डाखुल्डी पुर्ने काम) गरेपछि नै त्यहाँको सडक मर्मत गरिने गरिएको छ । 

लिमिटेड र कतैकतै आयोजना कार्यान्वयन निर्देशनालयले पुनःस्थापना गर्दा राम्रो काम नभएर दबिएकाले पुनः काम गर्न लगाइएको उहाँले बताउनुभयो । ती निकायले तत्काल पुनःस्थापना गरेमा छिट्टै सडक बनाउने गरिएको उहाँले बताउनुभयो । सडकमा पानी जमेर कमजोर भइरहेको र यसले सडक पछिसम्म बिग्रन सक्ने सूचना अधिकारी केसीले जानकारी दिनुभयो । टालटुल गरेपछि पनि सडक पहिलेको जस्तो बलियो पनि नहुने उहाँले बताउनुभयो । ललितपुर र भक्तपुरका तुलनामा काठमाण्डाैका सडकमा बढी क्षति पाइएको छ । 

डिभिजनले हेरिरहेको सडकमध्ये ९० प्रतिशत ठाउँमा खाल्डाखुल्डी टालिसकिएको सूचना अधिकारी केसीले बताउनुभयो । उहाँका अनुसार गएकाे वर्षहरुभन्दा यस वर्ष वर्षा कम खाल्डाखुल्डी हुने गरी अहिलेदेखि नै मर्मत अघि बढाइएको हो । उहाँले भन्नुभयो,'देखेसम्म काम भइरहेको छ, तर पानी र चुहावटले कति खाल्डा हुन्छ भन्ने थाहा हुँदैन ।'

जोरपाटी–सुन्दरीजल सडकमा धेरै पाइपलाइनमा चुहावटको समस्या आइरहेको काठमाण्डाै उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजनाले बनाउनासाथ लिमिटेडले सडक खन्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । चुहावट आज एक ठाउँमा देखिएर बनाउँदा अर्को दिन अर्को ठाउँमा समस्या देखिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,'कतै सडकमै पाइपमा त कतै घरघरसम्म जाने पाइपमा समस्या देखिरहेको छ ।'

अहिले हरेक सडकमा नै चुहावटको समस्या रहेको सूचना अधिकारी जोशीले बताउनुभयो । नख्खुबाट भैँसेपाटी सडक, सातदोबाटो–गोदावरी सडक, चाबहिल–साँखु र भक्तपुर गरी निर्माणाधीन वा भर्खर कालोपत्र भएका सडक क्षति पुगिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,'अहिले त विद्युतकाे तार अण्डरग्राउण्ड गर्न पनि खन्ने काम भइरहेको छ ।'

सडकमा पूर्वाधार रहेका निकायका बीचमा समन्वयको कमी हुँदा उपत्यकाका सडकमा खाल्डाखुल्डी भएको भन्दै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै समन्वयका लागि काम सुरु गर्नुभएको छ । नियमित समन्वयका लागि संयन्त्र बनाएइको छ भने नियमित अनुगमन र बैठक भइरहेका छन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया