बालुवाटारमा जुहारी : ‘धोकेबाज हौ तिमी’ र ‘के लत बस्यो मलाई...’

 फागुन १४, २०७९ आइतबार १३:२५:४३ | मिलन तिमिल्सिना
unn.prixa.net

बालुवाटार र खुमलटार धाउदाधाउँदा लखतरान परेर बार्दली फर्केका बा खुइय सुस्केरा हालेर भुइँमै थचक्क बसे । एउटा हातले टोपी मिलाए । अर्को हातले घाम छेल्दै एकपटक फेरि बालुवाटारतिर हेरे र भुइँतिर फर्किएर थुइक्क गरे । अनि बार्दलीको बार नै भाँचिने गरी गीत गाउन थाले– धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी...।

तर वरपर गीत सुनाउनुपर्ने धोकेबाज कोही देखिएनन् । भित्ताको ऐना हेरेको भए गीत सुन्नुपर्ने कोही देखिन्थे । आफ्नै गीत आफैँले के सुन्नु भनेर बा बार्दलीबाट ओर्लिएर फेरि बालुवाटार हिँडे । 

बाटोमा एउटा छेपारोले बाटो छेक्यो । एउटा छेपारोले त निहुँ खोजेको थियो नै, फेरि कहाँबाट आयो अर्को छेपारो ।

‘मैले सकिनँ बा’ छेपारो बोल्यो ।

‘को हौ तिमी ? के सकेनौ ?’

‘म रङ्ग फेरिरहन माहिर छेपारो । आज प्रधानमन्त्रीले रङ्ग फेरेको देखेर मै दङ्ग परे । मैले जित्न सकिनँ ।’ 

‘म त हार्न लागेँ, जाबो छेपारो हार्दा के भयो त ? खै छोड तिमीलाई जित्ने छेपारो भेट्न हिँडेको म’ भन्दै बा अघि बढे ।

अस्तिताकासम्म बालुवाटार पनि आफ्नै जस्तै लाग्थ्यो । केही महिनामै पोकापन्तुरा बोकेर आउने कत्रो योजना । अहिले त उनै पुराना अनुहारहरूको रगरग पो छ । मध्य पुसमा बालुवाटार छोडेर हिँडेका रुख पार्टीका मान्छेहरू कोही जुँगामा ताउ लाउँदैछन्, कोही दौराको फेर तन्काउँदैछन् । अस्तिसम्म आफूसँग घाम तापेर सुन्तला र बदाम खाने प्रचण्ड रुखको छेल पारेर टाउको कन्याउँदैछन् । कहिले खिचडी पाक्छ र खाउँला भनेझैँ गरी अरू पार्टीका नेताहरू खाली भाँडा र पोल्टा थापेर उभिरहेका छन् । 

रित्तो भाँडा त आफूसँग पनि छ । अस्तिताका कांग्रेसले थापेर राखेको जस्तै ढोक्सा । तर माछा पो पर्ला/नपर्ला ? बाले पछिल्तिर उभिएका सुवास नेम्वाङतिर हेरे । अनि अघिल्तिर बसिरहेका सबैतिर आँखा डुलाएपछि रुखको हाँगा तान्दै फेरि त्यही गीत जोडजोडले गाउन थाले ।  

कति धाएँ म तिम्रो ठाउँमा

कति सम्झाएँ हाम्रो नाउँमा

धोकाको खेती गर्ने रहेछौ 

दिनदिनै कुरा फेर्ने रहेछौ 

तर भनेनौ

अझै पनि यो मनमा छौ तिमी

तर बुझेनौ

धोकेबाज हौ तिमी... धोकेबाज हौ तिमी ।

प्रचण्ड दुई हातको बुढी औँला रगड्दै मुन्टो हल्लाउँदै मुस्कुराए । ‘मने ल ल धेरै नमच्चिनुहोस्, त्यो रुखको हाँगो भाँचिएला । अब गर्मी महिनाभरलाई त बस्नुपर्‍याे नि शीतल तापेर । जाडो लागेपछि फेरि घाम ताप्न आउँला नि तपाईँकोमा । ल सुन्नुहोस् मेरो पनि ।

हिउँदे घाम सँगसँगै तापेको

कसको शक्ति कति छ नापेको

फूलमा माहुरी डुल्ने बेलामा

घाम चाहिँदा लाएको पिरती

छुट्ने भयो रुख चाहिने बेलामा ।

दुई–दुईवटा गीत सुन्दा देउवालाई झनक्क रिस उठ्यो । तपाईँ पनि तातो न छारोको गीत गाउनुहुन्छ । उहिले जमानाको गीत गाएर हुन्छ ? अहिलेको जल्दोबल्दो भाका रोज्नुपर्‍याे । के भन्छ भन्देखिनलाई ल सुन्नुहोस् ।

सिरुपाते जुँगामा दाहिने हातको ताउ

कमरेड अलि  वर आउ, च्याप्पै हात समाउ

तपाईँको जुँगालाई त के सिरुपाते भन्नु ? झुसिलकिराजस्तो । खै रामचन्द्रजीको ? हरे जुँगै रहेनछ के मा ताउ लगाउनुहुन्छ ? हुन त ती नेम्वाङको पनि के नै जुँगा छ र । जुँगै नभए पनि ताउ लाउनुपर्छ है रामचन्द्रजी । 

सिरुपाते जुँगामा दाहिने हातको ताउ... कमरेड अलि वर आउ... । ए ओली कमरेड अलि वर आउ क्या । 

हैन तपाईँलाई रातिकोले छोड्या छैन कि क्या हो । पूरै झ्यापमा पो हुनुहुन्छ । म तपाईँको यस्ता बकम्फुसे गीत सुन्न आएको होइन । प्रचण्डजी र माधवजीलाई फकाउन आएको ।

...घिन्ताङ घिन्ताङ मादल मात्रै कति बजाम

हो हो प्यारप्यार प्यारप्यार मुखै मात्रै कति बजाम

दिल भए नि फलाम चट्ट माया दर्शन सलाम

सँगै बैठक बसेको, सँगै गुन्द्रुक सुँघेको, सुन्तला खुवाको

माया मिठो जहिले नि आफ्नै जोडाको

सुन्नुहोस् प्रचण्डजी र नेपालजी... माया मिठो जहिले नै आफ्नै जोडाको
हाहा दिल भए नि फलाम चट्ट माया दर्शन सलाम ।...

ओलीले गीतसँगै नेपालको हातमा प्रेमपत्रसमेत थमाए । प्रेमपत्र पाउनेबित्तिकै नेपाल पग्लिए । अनि हातको पत्र हल्लाउँदै गुनगुनाउन थाले...

...हुँदा तिमी परपर छाती चर चर

फूल टिपेर दिन्थे तर यो मन खुसी छ र...

...ए माधवजी पग्लिनुभयो कि क्या हो ? प्रधानमन्त्री हुन मन छैन ? देउवा र प्रचण्डको स्वर सुनेपछि नेपाल झस्किए । अनि पालो आयो रामचन्द्र पौडेलको ।

...सालको पात टिपेर पानी खाम

यो बाजेको कहाँ छ र जाने ठाम

आकाशमा जुनको भाइ तारालाई 

धोका नदेउ मै कर्महारालाई

करीमले छेउ लाएपछि त 

१७ बल्ड्याङ धोका भो मसित

जाँदाजाँदै बनवास पुगियो

रुँदारुँदै कलिलो जिउ सुक्यो

यसपालि त आशा छ आठ भाइको

भाकल गर्छु देउती माईको ।

रामचन्द्रको बिलौना सुनेपछि ओलीसँगै रहेका सुवास नेम्वाङले पूर्वेली झ्याउरे सम्झन खोज्दै थिए । त्यही बेला ओली, नेपाल, देउवा र प्रचण्डले एकै स्वरमा गजलको भाका निकाले :

के लत बस्यो हामीलाई कहिले सुधार हुन्छ

एक दिन कुर्सी नपाउँदा यो दिल बिमार हुन्छ

के लत बस्यो हामीलाई

साथी रहेछ स्वार्थ हरपल सवार हुन्छ

जनताको के मतलब हामीलाई खानै हतार हुन्छ

के लत बस्यो मलाई

हो हो... के लत बस्यो हामीलाई...............।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया