चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
पहिलो त आम्दानी वा कमाइ नभएर पैसा नभएको हुनसक्छ । मान्छेमा इच्छा, आकाङ्क्षा धेरै हुन्छ र स्रोत कम हुँदा पैसा हुँदैन । अर्को भनेको हामीसँग जति आम्दानी छ त्यसलाई सही ढङ्गले प्रयोग गर्न नजानेर पैसा नभएको हुनसक्छ । पैसालाई प्रयोग गर्ने बारेमा त्यति ध्यान नदिएर वा पैसा हो आउँछ जान्छ यस्तै हो भनेर पैसाको बारेमा कुनै सोच तथा योजना नबनाइ जथाभाबी खर्च गर्ने गरेका कारण पनि पैसा नभएको हुनसक्छ ।
पैसालाई कसरी बचाउने र उपयुक्त काममा खर्च गर्ने भन्ने विषयमा सबैको चासो हुनु जरुरी छ । यसको बारेमा अलिकति वित्तीय सचेतना पनि आवश्यक पर्छ । पैसा हुँदैमा त्यसको सही सदुपयोग गर्ने ज्ञान सीप सबैसँग हुन्छ भन्न सकिँदैन । त्यसकारण पछिल्लो दशकमा पैसाको कसरी सदुपयोग गर्ने, कसरी व्यवस्थापन गर्ने, कसरी सही निर्णय लिने भन्ने विषय विश्वव्यापी रुपमा फैलिएको छ । यसलाई वित्तीय साक्षरता र वित्तीय शिक्षा भन्ने गरिन्छ ।
वित्तीय शिक्षाले मान्छेसँग भएको पैसाको कसरी सदुपयोग गर्ने, कसरी सही निर्णय लिने अर्थात् पैसा कसरी कमाउने र कसरी बचाउने भन्ने बारेमा ज्ञान, सीप दिन्छ । सामान्यतया यो अङ्क, अक्षरको ज्ञानभन्दा फरक किसिमको ज्ञान अर्थात् जसलाई साक्षरता, वयस्क साक्षरता भन्छौँ त्यो ज्ञानभन्दा यो फरक किसिमको कुरा हो । कतिपय पढेलेखेका मान्छेहरु पनि आफ्नो पैसाको राम्रो योजना गर्न, व्यवस्थापन गर्न र आफ्नो पैसाको बारेमा सही निर्णय गर्न जान्दैनन् । वित्तीय साक्षरताले आफूसँग भएको पैसाको कसरी सदुपयोग गर्ने, त्यसबाट कसरी धेरै लाभ लिने भन्ने सिकाउँछ । वित्तीय ज्ञान, सीप राम्रो भयो भने थोरै पैसाबाट पनि जीविकालाई धेरै सजिलो बनाउन, भविष्यका लागि केही बचत गर्न पनि सक्छ ।
बचत भन्ने कुरा पैसा भएपछि मात्र गर्नेभन्दा पनि बचाउनु पर्छ भन्ने अठोट महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । कतिपय गाउँघरमा हेर्ने हो भने उत्तिकै आम्दानी भएकाहरुले पनि राम्रो बचत गरेका छन् । भविष्यको लागि भनेर बैँक तथा वित्तीय संस्थामा खाता खोलेर केही पैसाको जोगाड गर्न सफल भएका छन् । उनीहरुको पारिवारिक तौरतरिका पनि राम्रो छ । जीवन, जीविकाको शैली पनि राम्रो छ । कतिपय उत्ति नै आम्दानी भएका मान्छेको पनि जीवनस्तर खस्किँदै खस्किँदै गएको छ । यसको अर्थ असल परिवारले आफ्नो आम्दानीलाई कुन, कुन काममा कसरी प्रयोग गर्ने, कसरी कमाइ गर्ने, पैसाबाट कस्तो क्षेत्रमा लगानी गरेर अझ धेरै आम्दानी हुने उपायहरु हुन्छन् भन्ने बारेमा राम्रो सँग सोच्न सक्छन् । र त्यही अनुसारको व्यवहार पनि देखाउँछन् ।
केही मान्छे भने पैसा भनेको यस्तै हो आउँछ जान्छ भनेर पैसाको योजना बनाउँदैनन्, देखासिकीमा खर्च गर्छन् । आफ्नो आम्दानी कति छ, खर्च कति छ भन्ने बारेमा कुनै लेखाजोखा गर्दैनन् । आम्दानी वृद्धि हुने कुरामा खर्च नगरि विलासिता तथा मनोरञ्जनका क्षेत्रमा पैसा बढी खर्च गर्छन् । यस्तो अवस्था भयो भने जति कमाइ भयो भने पुग्दैन । त्यसैले सम्पन्न हुनका लागि, जीवनलाई सुखी र सजिलो बनाउनका लागि कति कमाइ हुन्छ भन्दा पनि कमाइलाई कत्तिको सही तरिकाले खर्च गरिएको छ भन्ने कुराले धेरै महत्त्व राख्दछ । हामीलाई पैसा पुगेन, हामीलाई गाह्रो भयो भन्नुको अर्थ यो पनि हो । धेरै जसो मान्छेले आफ्नो पैसालाई सही तरिकाले खर्च गर्न जान्दैनन्, त्यसको सही योजना बनाउँदैनन्, देखासिकीमा खर्च गर्ने बानी हुन्छ अनि सधैँ आम्दानी भएन, पैसा पुगेन भन्ने मान्छेको सोच हुन्छ । अहिलेको समस्या पनि यही नै हो ।
बचतको कुरा भनेको प्रतिबद्धता र अठोटको कुरा हो । धेरै मान्छेलाई अलि अलि बचत गरेर के पो हुन्छ भन्ने सोच हुन्छ । बचतप्रति खासै विश्वास नभएको हामी देख्छौँ । वास्तवमा थोरै, थोरै पैसा बचत गर्यो भने धेरै हुने हो । एक, एक रुपैयाँ पनि धेरै पटक गर्यो भने धेरै पैसा हुन्छ । यो महिना सय बचत गर्यो, अर्को महिना सय गर्यो भने दुई सय हुन्छ । त्यसको ब्याज हुन्छ र सानो रकमको पनि भविष्यमा ठूलो पैसा बन्न जान्छ भन्ने कुराको विश्वास हुनु सबैभन्दा ठूलो कुरा हो । त्यसो गर्दा मान्छेले सानो रकम बचत गर्छ । बचत गर्दै जाँदा त्यसलाई अन्य उपयुक्त ठाउँमा लगानी गर्ने अवसर हुन्छ । यसले उत्प्रेरणा पनि हुन्छ । सानो, सानो रकम बचाएर पनि यस्तो काम गर्न सकियो, यस्तो ठाउँमा लगानी गर्न सकियो, घरका बच्चाबच्चीको शिक्षा, स्वास्थ्यमा यसरी खर्च गर्न पाएँ भन्ने हुन्छ । यो उत्प्रेरणाले पनि बचत गर्न धेरै मद्दत पुर्याउँछ । यस्तो कुरामा मानिसलाई सचेत गराउन सकियो भने बचत गर्नकै लागि छुट्टै आम्दानी हुनुपर्छ, धेरै कमाइ हुनुपर्छ भन्ने जस्तो लाग्दैन ।
थोरै थोरै बचत भएका रकमलाई पनि विभिन्न लघुवित्त संस्था, सहकारी, बैँक तथा समुदायस्तरमा हेर्दा लघुवित्त तथा सहकारीहरु घरआँगनमा पुगेको अवस्था छ । सहकारी तथा लघुवित्त संस्थाहरुले आम्दानी वृद्धिका लागि सानासाना योजनाहरु जस्तै बाख्रापालन, कुखुरापालन, तरकारी खेती, सानातिना पसल सञ्चालन गर्ने जस्ता कामहरु गरिरहेका छन् । यस्ता सानतिना कामका लागि ठूलो लगानी पनि चाहिँदैन । आफूले गरेको सानोतिनो बचतले पनि यस्का लागि लगानी पुग्न सक्छ । सहकारी तथा लघुवित्त संस्थाहरुले सदस्यहरुले गरेको बचतभन्दा केही बढाएर ऋणकोरुपमा लगानी पनि गर्ने गर्छन् । सानोतिनो पैसालाई पनि आम्दानी हुने काममा लगाउन सकियो भने त्यसले आम्दानी वृद्धिमा मद्दत पुर्याउन सक्छ ।
आम्दानी वृद्धि गर्नका लागि समुदायस्तरमा हेर्ने हो भने तरकारी खेती, बाख्रापालन, मौसमी तथा बेमौसमी कृषि उत्पादन आदिबाट पनि राम्रै आम्दानी हुनसक्छ र आफ्नो बचतलाई लगानी गरेर पैसा कमाउने यी महत्त्वपूर्ण उपायहरु हुन् ।
लगानी गर्नका लागि भनेर विभिन्न वित्तीय संस्थाबाट पैसा ल्याइन्छ तर, कस्तो ठाउँमा लगानी गर्ने, ती ठाउँ लगानीका लागि कति सम्भावना भएका छन् । अर्थात् त्यो ठाउँमा लगानी गर्दा त्यसको अनुपातमा आम्दानी हुन्छ कि हुँदैन भन्ने कुराको राम्रो हेक्का नराखीकन देखासिकीको भरमा लगानी गर्दा लगानी नै डुब्ने खतरा हुन्छ । यसको लागि नै वित्तीय साक्षरता चाहिने हो । छिमेकीले कुखुरा पाल्यो कुखुरा नै पाल्ने, बाख्रा पाले बाख्रा नै पाल्ने भन्ने जस्तो बजारको सम्भाव्यता नहेरी देखासिकीको भरमा लगानी गर्दा त्यसबाट उत्पादन अर्थात् आम्दानी हुन सक्दैन । त्यसकारण लगानी गर्ने मान्छेले सबैभन्दा पहिले आफूले के कामका लागि लगानी गरेको हो, त्यसमा ध्यान दिनुपर्ने के के हो, कस्तो काममा लगानी गर्दा त्यसबाट बढी आम्दानी हुनसक्छ भन्ने कुराको ज्ञान, सीप हुनु आवश्यक छ । त्यसकारण वित्तीय साक्षरता, वित्तीय सचेतना सबै मान्छेको लागि जरुरी छ ।
वित्तीय साक्षरताले मान्छेलाई आफूले कुन क्षेत्रमा लगानी गरेर आम्दानी गर्ने, लगानीका क्षेत्रहरु के हुन सक्छन्, लगानीको प्रतिफल कति आउन सक्छ भन्ने कुराको बारेमा ज्ञान दिन सक्छ । लगानी गर्दा त्यससँग सम्बन्धित वित्तीय संस्थाहरु को को हुन, कसरी समन्वय गर्ने, बजार कस्तो छ, तिनीहरुसँग कसरी समन्वय गर्ने भन्ने कुराको ज्ञान, सीप पनि वित्तीय साक्षरताले प्रदान गर्छ । समुदायका सदस्यहरुले राम्रोसँग वित्तीय ज्ञान, वित्तीय साक्षरता हासिल गर्न सक्यो भने सानोतिनो लगानीबाट नै जीवनस्तर अभिवृद्धि गर्न सक्छन् भन्ने लाग्छ । यस्ता धेरै उदाहरणहरु पनि समुदायमा पाइएका छन् ।
अहिले वित्तीय क्षेत्रमा देखिएका अधिकतम समस्याहरुमध्ये एउटा समस्या के पनि हो भने मान्छेहरुले विचारै नगरीकन अर्थात् कुन उद्देश्यमा कसरी लगानी गर्दा बढी आम्दानी हुन्छ र त्यो क्षेत्रमा आफूले गरेको लगानी अर्थात् कतैबाट लिएको ऋण, सापटी जे होस् कसरी तिर्ने, तिर्ने उपायहरु के हुन्छन् भनेर सोच्ने गर्दैनन् । पैसा पाएपछि एउटा उद्देश्यका लागि ऋण लियो अनि अर्को उद्देश्यका लागि त्यसलाई खर्च गर्ने गर्दा त्यसबाट उपलब्धि आउँदैन । उपलब्धि नआउँदा तिर्ने बेलामा गाह्रो हुन्छ । अहिले देखिएको समस्या पनि यस्तै हो । उदाहरणको लागि बाख्रा पालनका लागि भनेर ऋण लियो त्यो पैसालाई व्यवहारिक काममा अर्थात् बिहे, व्रतबन्ध, चाडपर्व मनाउने, घुमघाम, मनोरञ्जन जस्ता कुरामा खर्च गर्दा त्यसबाट उपलब्धि, उत्पादन हुने कुरा भएन । उत्पादन नभएपछि ऋण तिर्न गाह्रो हुन्छ । ऋण तिर्न नसक्दा मान्छेलाई आर्थिक बोझ हुन्छ, तनाव हुन्छ अनि फेरि लगानी गरेर फेरि आम्दानी बढाउँ भन्ने उत्प्रेरणा पनि आउँदैन ।
लगानी गर्नु अगावै कस्तो ठाउँमा लगानी गर्ने, त्यसबाट कसरी लाभ हुन्छ अनि तोकिएको ठाउँमा लगानी गरिएन भने त्यसबाट आउने नराम्रा नतिजाहरु के हुन् भन्ने कुरामा पहिल्यै राम्रोसँग सोच विचार गरेर लगानी गर्न सक्यो भने लगानीबाट डुब्ने अवस्था आउँदैन । त्यसैले उत्पादनमूलक काममा ऋणको परिचालन गर्नुपर्छ । अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्नु हुँदैन । जुन उद्देश्यका लागि ऋण लिएको हो त्यही उद्देश्यका लागि लगानी गर्नुपर्छ । त्यसो भयो भने त्यसबाट प्रतिफल आउने सम्भावना धेरै हुन्छ । भएको पनि देखिएको छ । त्यसैले ऋण लगानी गर्नुभन्दा अगाडि कुन क्षेत्रमा लगानी गर्ने हो, आम्दानी कत्तिको हुनसक्छ, ऋण कसरी तिर्न सकिन्छ, ऋण तिर्ने बारेमा आफूले कसरी योजना बनाउने, कुन बेला, कति पैसा, कसरी तिर्ने भन्ने कुराको योजना बनाउने भन्ने कुरा ऋण लिनु अगावै थाहा पाउन सकियो भने ऋणबाट पनि मान्छेको जीवनस्तर माथि उठ्छ । ऋण नै नलिने त को हुन्छ र तर ऋणको सही व्यवस्थापन महत्त्वपूर्ण कुरा हो । ऋण आफैँमा समस्या होइन । ऋणको व्यवस्थापन भने महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा ऋण लिनुभन्दा अगाडि नै बुझनु पर्छ।
पैसाको व्यवस्थापन अर्थात् वित्तीय साक्षरता धनी, गरिब सबैका लागि उत्तिकै जरुरी छ । धनी मान्छेलाई पनि आफ्नो आम्दानी खर्चको व्यवस्थापन गर्न, अझ धनी हुन, पैसाको सही सदुपयोग गर्नु जरुरी छ । यसरी हेर्दा वित्तीय साक्षरता धनी तथा सम्पन्न मान्छेका लागि चाहिँ होइन भन्न सकिँदैन । सानो आम्दानीले आफ्नो जीवन चलाउन पर्नेहरुका लागि यो अझ महत्त्वपूर्ण छ भन्न सकिन्छ । थोरै आम्दानी हुने मान्छेले आफ्नो जीवनको आवश्यकता पूरा गर्नको लागि त्यही पैसालाई अझ धेरै व्यवस्थापन गर्न अर्थात् त्यो पैसालाई अझ बढी सदुपयोग गर्नु जरुरी छ । थोरै आम्दानीबाट परिवारको खर्च पुर्याउनु पर्ने हुन्छ, त्यही सानो आम्दानीबाट केही बचत छुट्याउनु पर्ने आवश्यकता हुन्छ त्यसैले वित्तीय साक्षरता गरिब, विपन्न मान्छेका लागि मात्रै हो भन्ने होइन । तर, विपन्न, आम्दानी कम भएका, नियमित आम्दानी नभएका मानिसहरुका लागि वित्तीय साक्षरताले आम्दानी र खर्च व्यवस्थापन गर्न धेरै सघाउँछ । धनी मान्छेहरुको सन्दर्भमा पैसा लियो ठूलो, ठूलो क्षेत्रमा लगानी गर्यो, चासो दिइएन, उचित ठाउँमा, उचित तरिकाले पैसाको प्रयोग गरिएन भने सम्पन्न मान्छे पनि विपन्न हुँदै जानसक्ने अवस्था हुन्छ त्यसैले वित्तीय साक्षरता कमजोर आर्थिक अवस्था भएकालाई मात्रै चाहिन्छ अरुको लागि होइन भन्ने कुरा होइन । यो सबै वर्गका लागि आवश्यक कुरा हो ।
(वित्तीय साक्षरता विज्ञ विनोद अधिकारीसँग वैद्यनाथ पौडेलले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अधिकारी साक्षरता विज्ञ हुनुहुन्छ ।
Kosh raj Dhital
Feb. 27, 2023, 7:24 p.m.I like this