कालीकोट : मान्म–कोटबाडा जोड्ने केबलकारको अन्तिम डीपीआर रिर्पोट सार्वजनिक

 फागुन १५, २०७९ सोमबार १९:२७:१० | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकाेटकाे सदरमुकाम मान्म बजारदेखि सुनथराली विमानस्थल कोटबाडा जोड्ने केबलकारको अन्तिम डीपीआर रिर्पोट सार्वजनिक भएकाे छ । सोमवार जिल्ला सदरमुकाम मान्ममा कन्सलटेन्सीका तर्फबाट सहजकर्ता गुणराज ढकालले अन्तिम डीपीआर रिर्पोट सार्वजनिक गर्नुभएको हो ।

रिर्पोट सार्वजनिक कार्यक्रममा प्रतिनिधि सभाका सदस्य महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री मंगल शाही, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, राज्यमन्त्री उर्मिला विश्वकर्मा, प्रदेश सभाका सदस्य, जिल्लामा रहेका राजनीतिक दल, पत्रकार र सरोकारवालाहरूको उपस्थिति रहेकाे थियाे । 

कार्यक्रमका सहभागीहरूले केबलकारका विषयमा राखेका प्रश्नहरूको जवाफ दिँदै प्रतिनिधि सभा सदस्य शाहीले भन्नुभयो “केबलकार कसैको आँखामा छारो फाल्नका लागि नभई दक्षिण एसियाकै पर्यटकीय गन्तव्यकाे रूपमा विकसित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको हो ।” सरकारले यो योजना गौरवको योजनाको रूपमा नलिए नागरिककाे लगानीमा तयार गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे । 

२ हजार १ सय ५७ मिटरको दुरीमा रहने केबलकारको डीपीआर स्विट्जरल्यान्ड र इटालीका इन्जिनियरको सहयोगमा तयार पारिएको सहजकर्ता ढकालको बताउनुभयो । 

कर्णाली प्रदेशलाई पर्यटकीय गन्तव्य बनाउन, विमानमा कोटबाडा आएका यात्रुहरूलाई सदरमुकाम मान्म ल्याउन र सुनथराली विमानस्थलबाट बडीमालिका जान केबलकार बनाउन थालिएको हो । विमानस्थलबाट मान्म आउन धेरै समय लाग्ने भएकाले यात्राको दुरी छोटो बनाउन केबलकार बनाउ लागिएकाे हाे । 

केबलकार निर्माणमा १ अर्ब १४ करोड ८४ लाख ६५ हजार ८ सय ९० रुपैयाँ ६८ पैसा लागत अनुमान गरिएकाे पूर्वाधार विकास कार्यालय कालीकोटको आयोजना प्रमुख रामचन्द्र बिसीले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया