पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अहिले विकास भएको नयाँ सत्ता समीकरणको जन्म अघिल्लो संसदमा नेकपामा जब विग्रह आयो त्यसले केपी शर्मा ओली भर्सेस प्रचण्ड, माधव र झलनाथ भएपछि त्यसले संसद् विघटन गर्यो । त्यो कदमको विरुद्धमा उहाँहरुले पार्टी फुटाएर अर्को गठबन्धनको सरकार बनाएपछि भएको हो । यसलाई अहिलेको समीकरणका रुपमा मात्र बुझ्नुहुन्न । पुष १० गते बनेको समीकरण अल्पकालीन थियो । त्यसको कुनै इतिहास थिएन । पुष्पकमल दाहाललाई संविधानको धारा ७६ (२) अन्तर्गत जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने र शेरबहादुर देउवा संविधानको धारा ७६ (३) अन्तर्गत आफैँ प्रधानमन्त्री बन्ने र पालोको कुरा नमिलेपछि पुष १० मा एमालेलगायत राप्रपा, रास्वपाको गठबन्धन बन्यो । तर, यो गठबन्धन दुई महिना पनि नटिक्नुमा भने यसका आधारहरु पहिले तय भएका थिएनन् । यसको आधार र प्रकृति फरक फरक थियो । जस्तो माओवादी गणतन्त्र र संघीयता समर्थक अनि रास्वपाले संघीयताकाे विरोध स्वरुप प्रदेशमा उम्मेदवार नउठाएको, राप्रपा गणतन्त्र, संघीयता विरोधी अनि ओली पनि संघीयताका खुलेका समर्थन नभएका कारण यहाँ एजेण्डाबीच नै तालमेल थिएन ।
अर्को भनेको केवल सत्ता प्राप्ति र शक्ति सन्तुलनको कुरा मात्र थियो । ओलीलाई प्रचण्डसँग मिलेर राष्ट्रपति आफ्नो बनाउनु पर्छ भन्ने थियो । रास्वपा र राप्रपालाई पनि राम्रै हैसियतमा सरकारमा जान पाए राम्रै काम गरेर देखाउन पाइन्छ भन्ने थियो । सबैका आआफ्ना आकांक्षा त्यो गठबन्धन भित्र पूरा हुन सकेन र त्यो अल्पकालीन रह्यो । त्यो भन्दा प्रचण्डलाई पहिलेको गठबन्धन तुलनात्मकरुपमा सहज लाग्यो र त्यो गठबन्धन भत्कियो ।
नयाँ गठबन्धन बन्नुमा तीन वटा पार्टीका अध्यक्ष देउवा, ओली र प्रचण्ड एक खालको दुश्मनी पनि आफूलाई आवश्यक पर्दा एउटाले अरु दुईसँग मिलेर पेल्ने गरेको देखिन्छ । शक्तिका हिसाबले एक, दुई र तीन नम्बरमा भएका पार्टीहरु एक र दुई कहिले पनि नमिल्ने त्यसो हुँदा कहिले एक र तीन मिलेर दुईलाई पेल्ने अनि कहिले दुई र तीन मिलेर एकलाई पेल्ने अभ्यास र समीकरण बनिरहेको थियो । ओलीलाई कांग्रेस पहिलो पार्टी भए पनि उसलाई सरकारमा जान नदिनु थियो । प्रचण्डलाई जसरी पनि एमाले र कांग्रेसलाई मिल्न नदिएर आफू प्रधानमन्त्री बन्नु थियो । कांग्रेसलाई अरु दुई वटै पार्टीलाई नदिएर आफू ७६ (३) अन्तर्गत प्रधानमन्त्री बन्ने भन्ने थियो । यही जगमा भएका कारण एउटै गठबन्धन बनाएर चुनावमा गए पनि कांग्रेसले माओवादीको मन जित्न सकेन । यसकारण त्यो पुरानो गठबन्धन टुटेको थियो ।
यी तीन वटा पार्टीका अध्यक्षको व्यक्तिगत व्यवहार, जीवनशैली, सोच आदिलाई हेर्ने हो भने आवश्यक पर्दा एकले अर्कोलाई उपयोग पनि गर्ने, सहकार्य गर्ने अनि धोका दिने गरेको पनि देखिन्छ । यहाँ हेर्दा सत्ता केन्द्रमा देखिन्छ । सत्ता प्राप्तिका लागि जस्को जोसँग पनि सहकार्य पनि हुने र जस्ले जस्लाई धोका पनि दिने गरेको देखिएको छ ।
यो भनेको कस्तो समय र सन्दर्भमा कोसँग गठबन्धन भएर सत्ता प्राप्त गर्न सकिन्छ भन्ने मात्रै एउटा उद्देश्य रहेको देखिन्छ । आफूले सत्ता प्राप्त गर्नका लागि जस्ले जोसँग पनि गठबन्धन गर्ने गरेको देखिएको छ । किनकि यहाँ वैचारिक बहस छैन र कम्युनिष्ट पार्टी कम्युनिष्ट जस्तो छैनन् । लोकतान्त्रिक पार्टीहरु लोकतान्त्रिक जस्ता छैनन् । यसकारण यो सत्ता केन्द्रित राजनीति र गठजोड हो यहाँ जस्ले जस्लाई लिएर अगाडि बढ्न पनि सक्छ अनि जस्ले जस्लाई धोका दिन पनि सक्छ ।
यो गठबन्धन बन्नुका पछाडि आन्तरिक शक्ति सन्तुलन पनि रहेको छ । त्यो भनेको सभामुख अब एमालेको भइसकेपछि राष्ट्रपति पनि हुँदा अघिल्लो अनुभवले काम गर्न गाह्रो पर्ने देखिन्छ । राष्ट्रपति आफनो पार्टीको हुँदा ठूलो पार्टी छ भने संविधानको धारा ७६ (३) नभए धारा ७६ (२) अन्तर्गत जता अनुकुल हुन्छ त्यतै जाने गरेको देखियो । हेर्दा संवैधानिक राष्ट्रपति भए पनि अत्यधिक शक्ति राष्ट्रपतिले केन्द्रित गर्ने गरेको र एउटा ठूलो शक्तिको रुपमा रहने भएकोले पनि राष्ट्रपतिमा सबै दलको स्वभाविक चासो देखिएको छ ।
सरकार बन्नु र गिर्नुमा पनि संविधानको धारा आफू अनुकुल प्रयोग गर्ने गरेकोले पनि सबै पार्टीलाई सकेसम्म आफ्नो पार्टीको नभए पनि आफू अनुकुलको राष्ट्रपति चाहिएको कारण पनि यो नयाँ समीकरण बनेको हो । एमालेसँग संसदमा पनि ठूलो अंकगणित भएको र राष्ट्रपति पनि उसैको हुँदा एमालेले भनेको कुरा पास हुने खतरा देखेपछि सरकारमा त्यसको ठूलो दबाब पर्ने देखियो । यहाँको अभ्यासले पनि सरकार टिकाउन पनि आफ्नो राष्ट्रपति चाहिने देखियो जुन कुरा हिजो रामवरण यादव राष्ट्रपति हुँदा प्रचण्डको सरकारलाई गएको थियो । यसकारण राष्ट्रपति ठूलो शक्ति हो र सरकार टिकाउनलाई पनि त्यो संस्था आफू अनुकुल हुनुपर्ने देखियो ।
वाह्य शक्तिलाई पनि राष्ट्रपतिमार्फत आफ्ना कुरा अगाडि लैजान सजिलो हुने हुँदा वाह्य शक्तिको पनि चासो देखिन्छ राष्ट्रपतिमा । उनीहरुलाई पनि छिन छिनमा सरकार बदलिने हुँदा कति वटा र कोसँग डिल गर्ने भन्ने अप्ठेरो परिरहेको देखिन्छ । राष्ट्रपति स्थायी शक्ति भएको हुँदा उसलाई सँगै लिएर गयो भने त्यहाँ चलखेल गर्न पाइने हुँदा उनीहरुको पनि सक्रिय चासो राष्ट्रपतिमा रहेको देखियो । भित्र हेर्दा पनि अघिल्लो सदनले पास गरेको नागरिकता विधेयक अहिलेको राष्ट्रपतिबाट प्रमाणित भएको छैन । कतिपय अध्यादेशहरु पनि आफू अनुकुलको सरकार छ भने पास गर्ने नत्र रोक्ने गरेको देखिन्छ । यहाँ काम नगर्ने, रोक्ने, छेक्ने गर्नलाई पनि शक्ति राष्ट्रपतिमा हुने देखियो । यसकारण पनि प्रचण्डले यसपटक जसरी पनि एमालेको राष्ट्रपति हुन नदिने र त्यसका लागि समीकरण बदलेको देखिन्छ ।
अहिलेको राष्ट्रपति चुनावमा नसोचेको परिणाम आउने भने देखिँदैन । त्यसका लागि एमाले सत्तामै भएको भए त्यो कल्पना गर्न सकिन्थ्यो । सत्ताको प्रयोग गरेर मत विभाजन गर्न सकिन्छ भन्ने हुन्छ राजनीतिमा । त्यसकारण एमाले सत्तामा नभएको हुँदा त्यो देखिँदैन । दलीय प्रतिनिधिले भोट हाल्ने अनि दुई उम्मेदवारमा खासै भिन्नता नरहेकोले पनि नतिजा त्यस्तो अनपेक्षित आउँछ जस्तो लाग्दैन ।
राष्ट्रपतिकै कारण बनेको यो गठबन्धनमा प्रत्यक्ष फाइदा कांग्रेसलाई भएको देखिन्छ । किनकि यसमा उसले गुमेको सत्ता पाएको छ । गठबन्धन बन्दा अन्य देशमा भए यसको प्रत्यक्ष फाइदा देश र जनतालाई हुन्थ्यो । त्यहाँ एउटै पार्टीको मात्र मनोमानी नभएर शक्ति सन्तुलनको अवस्था रहने गर्थ्याे । जनताका मुद्दा दुवैका हुन्छन्, जनता र राष्ट्रका एजेण्डा सबै पास हुन्छन् भन्ने हुन्थ्यो । तर, हामीकहाँ भने गठबन्धन भनेको सबै मिल्ने, खाने र सेटिङको राजनीति हुने गरेको छ । हुनत यो समीकरणले देश विकासमा राम्रो बाटो पनि लिन सक्ला । अहिले नै नकारात्मक टिप्पणी नगरौँ । तर, त्यस विषयमा एक क्षण पनि कुरा नभएको हुनाले त्यसमा आशावादी हुन नसकिएको हो ।
यो गठबन्धन कति लामो समय जान्छ भन्ने कुरामा ओलीले फेरि टाउको उठाउँछन् भनेर पनि गठबन्धन लामो समय जान्छ भन्ने अनुमान गर्न सकिन्छ । किनकि शत्रुको शत्रु मित्र हुन्छ भन्ने उखानै छ । तर, पनि यो गठबन्धनलाई सहज भने छैन । सदन तथा सडकमा पनि अब चर्को विरोधको स्वर सुनिन्छ । सदनमा पनि राजावादीदेखि संघीयताका विरोधीहरुको राम्रो उपस्थिति छ भने एमालेले आफ्नो तल्लो तहलाई सडक आन्दोलनका लागि तयारी राख्ने अवस्था त छँदैछ । सरकारले देशको एजेण्डा, उत्पादन तथा नागरिकका पक्षमा काम गर्यो भने एउटा वर्ग सरकारको समर्थनमा लाग्दा सरकारविरुद्धको संघर्ष चाँडै निस्तेज पनि होला । अन्यथा अब यो सरकारको चारैतर्फबाट विरोध हुनसक्ने देखिन्छ । अब सरकारलको रणनीति, उद्देश्य नीति तथा कार्यक्रम आदिले सरकारको भविष्य निर्धारण हुन्छ ।
राजनीतिमा सम्भावना नहुने भन्ने केही हुँदैन । तर, भोलि कांग्रेस र एमाले मिल्ने कुरामा भने राजनीतिमा एउटा प्रधान शत्रु र अर्को स्थायी शत्रु भन्ने हुन्छ । उनीहरु मिलेमा करिब दश वर्षमा यो देशको कायापलट हुनसक्छ । स्थायित्व पनि दिन सक्छ । झण्डै दुई तिहाइको मत पनि होला । यो देशको लागि पनि राम्रो हुन्छ । हाम्रो सुदूर भविष्यका लागि पनि राम्रो हुन्छ । तर, यो विषयमा छलफल पनि कहीँ कतै नभएको हुनाले कांग्रेस एमाले मिलेर सरकार चलाउने भन्ने कुरा देखिँदैन । तर, यो देशका लागि भने सबैभन्दा राम्रो विकल्प हो ।
राजनीति सबै नीतिको मूलनीति हो । मूलनीति राम्रो हुन त्यसका आधार नीतिहरु पनि राम्रो हुनुपर्छ । समाज सुधारका नीति, अर्थ नीति सबै राम्रो भयो भने मात्र राजनीति राम्रो हुन्छ । तर, हामीलाई भने अरु नीति बिग्रिए पनि राजनीति सपार्नु पर्छ भन्ने छ । तर, त्यो सम्भव हुँदैन । जुन देशको राष्ट्र प्रमुखसँग राष्ट्रियताको भावना छैन, उसको व्यवहारमा त्यो देखिँदैन, जुन देशको नेतासँग नैतिकता छैन, दल र नेतासँग विचार छैन, कर्तव्यपरायणता छैन भने देश असफल राष्ट्र हुन्छ । हाम्रो कुनै पनि तह र तप्कामा देश, समाज भन्ने छैन । मैखाउँ मैलाउँ भन्ने प्रवृत्ति बढ्दै जाँदा सामाजिक न्याय मर्दै गयो । भ्रष्टाचार बढ्दै गयो । र, सबै अपराध गर्नलाई राजनीतिले छुट दियो । कमाउनका लागि र क्षणिक स्वार्थका लागि राजनीतिले गर्न नपर्ने सबै गर्नुपर्ने भने केही पनि गरेन । यसकारण देश सधैँ यसैगरी चल्दैन । र, अहिलेको अवस्था हेर्दा अब एउटा क्रान्ति जरुरी रहेको र कहिले हुन्छ भन्ने मात्र बाँकी रहेको देखिन्छ ।
अहिलेको राजनीतिक अवस्था र वितृष्णाले चाँडै नै एउटा आन्दोलन हुने देखिन्छ । यसले संसदमा र बाहिर पनि राजनीति पार्टीहरु ध्रुबीकृत हुन्छन् । अहिले कुनै पार्टीले बहुमत ल्याउन नसक्नुमा हाम्रो निर्वाचन प्रणाली पनि जिम्मेवार छ यसकारण यसका विषयमा र अरु थुप्रै विषयमा संविधानमा परिमार्जन गरिएन भने देश एउटा आन्दोलनको निकट देखिन्छ ।
(राजनीतिक विश्लेषक डा. विष्णु दाहालसँग वैद्यनाथ पौडेलले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राजनीतिक विश्लेषक