टिकटकमा बढ्यो 'पाइरेसी'

 फागुन २१, २०७९ आइतबार १६:३०:५० | रासस
unn.prixa.net

काठमाण्डौ – गीत–सङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ शेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ । 

स–साना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्रकर्मी केही समययता महत्त्वपूर्ण दृश्यसमेत भेटिँदा भने चिन्तित भइरहेका छन् । क्लिप खण्ड–खण्ड गरेर टिकटकमा आउँदा चलचित्र नै पाइरेसी भइरहेको छ । दर्शकले रुचाएको चलचित्रको दृश्य बढी लोकप्रिय हुने भएकाले टिकटकमा राख्ने गरिन्छ । 'ए मेरो हजुर–४', 'कबड्डी–४', 'झिँगेदाउ', 'प्रेम गीत–३' पछि यो समस्या 'छक्का पञ्जा–४' मा पनि देखिएको छ । 

गएको शुक्रवारदेखि प्रदर्शन भएको चलचित्रको दृश्य टिकटकमै भेटिएपछि निर्माण पक्षले त्यस्तो नगर्न आग्रह गरेका छन् । राम्रो व्यापार गरिरहेको चलचित्रको प्रतिक्रिया लिन चलचित्र घर पुगेका अभिनेता केदार घिमिरेले यस्ता दृश्य मोबाइलमा नखिच्न आग्रह गरे । ‘नजानेर वा रमाइलोका लागि खिचिएको दृश्यले हामीलाई नोक्सान पुर्‍याएको छ । त्यो अपराध हो । तपाईँ र आफ्नो परिवारलाई चलचित्र खिचेर टिकटकलगायत सामाजिक सञ्जालमा हाल्न हुँदैन भन्दिनुस् । यो सन्देश सबैकहाँ पुर्‍याइदिनुस्’, उनले भने । 

अभिनेता घिमिरेसँगै रहेका कलाकार दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालेसमेत टिकटकमा आइरहेको भिडियोका स–साना दृश्यले अप्ठ्यारो पारिरहेको गुनासो गरे । 

अभिनेता अनमोल केसीको अभिनय रहेको '२:० छड्के' कोसमेत दृश्य टिकटकमा भाइरल भएका छन् । भीसीडी, पेनड्राइभ र युट्युबभन्दा घातक टिकटकको पाइरेसी देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । ‘स–सानो क्लिप आउँदा प्रचारप्रसार नै भएको देखिन्छ तर खण्ड–खण्ड गरेर हाल्दा सम्पूर्ण चलचित्र नै पाइरेसी भइरहेको छ । हामीले यस विषयमा नसोच्ने हो भने भोलि यो क्रम झनै बढ्नेछ’, उनले भने । 

नेपाल चलचित्र सङ्घले चलचित्र घरमै सूचना टाँसेर भिडियो नखिच्न अनुरोध गरिरहेको महासचिव नरेन्द्र महर्जनले बताए । ‘हलमा आउनने दर्शकलाई भिडिओ नखिच्न आग्रह पनि गरिरहेका छौँ । हाम्रो कर्मचारीले बेला–बेलामा गएर मोबाइल निकाल्ने दर्शकलाई आग्रह पनि गर्छन्’, उनले भने, ‘कोरोना भाइरसको महामारीपछि प्रदर्शनमा आएको भारतीय चलचित्र ‘पुष्पा’ को धेरैजसो दृश्य टिकटकमा लोकप्रिय भएपछि भिडिओ क्लिप बनाउने क्रम बढेको हो ।’

भारतीय चलचित्र 'आरआरआर' र ‘केजीएफ : च्याप्टर–२’ को टिकटकमा भेटिएको दृश्य जोड्ने हो भने लगभग चलचित्र नै बन्छ । विदेशी मात्र होइन, स्वदेशी चलचित्र 'ए मेरो हजुर–४', 'कबड्डी–४' को पनि अन्तिम दृश्य टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुँदा निर्माता तथा निर्देशकमा चिन्ता बढेको थियो । पछिल्लो समय सामाजिक सञ्जालका माध्यममा आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै समस्या बढिरहेको छ । आफ्ना गतिविधिलाई सोसल मिडियामैत्री बनाएकै कारणले लोकप्रियतासँगै समस्या पनि सिर्जना भएको चलचित्र निर्माता तथा निर्देशकको भनाइ थियो ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया