कालीकाेट : महाबैका जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सरकारी विद्यालयमा पढाउने

 फागुन २३, २०७९ मंगलबार २०:३०:१ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – कालीकोटको महाबै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउने भएका छन् ।

महाबै गाउँपालिकाकाे शिक्षा समितिको आज मङ्गलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । शैक्षिक सुधारका लागि आफैँबाट र आजैबाट सुधार गरौँ भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।

समितिको बैठकले विद्यार्थी सङ्ख्या कम भएका विद्यालय 'मर्ज' गर्नेसमेत निर्णय गरेको छ । आरजेएम आविलाई राम मावि राम्नी र देव मावि ओदालाई तिलानमुना माविमा 'मर्ज' गर्ने निर्णय भएको गाउँपालिकाकाे शिक्षा तथा खेलकुद शाखा प्रमुख मदनबहादुर शाहीले बताउनुभयो ।

यस्तै बैठकले कक्षा ८ को वार्षिक परीक्षा तीन वटा केन्द्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । कालीका मावि गेला, चन्दादेवी मावि कुनी र राम मावि राम्नीको परीक्षा केन्द्र चन्दादेवी मावि कुनीमा तोकिएको छ । चन्दादेवी मावि कुनीमा परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि केन्द्राध्यक्षमा टंकबहादुर सिंहलाई तोकिएको छ । तिला नमुना मावि गैराखाडा, जगनाथ आवि कतमपुर र देव मावि ओदाको परीक्षा केन्द्र तिला नमुना मावि गैराखाडामा तोकिएको छ । गैराखाडामा केन्द्राध्यक्ष दिपकबहादुर सिंहलाई तोकिएको छ । त्यस्तै त्रिवेणी मावि डिल्लीकोट र हिमालय मावि डाँडाखलाको परीक्षा केन्द्र हिमालय मावि डाँडाखलामा तोकिएको छ । त्यहाँको केन्द्राध्यक्षमा धर्मदर्त अधिकारीलाई तोकिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया