पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
पेल्दै गरेको तोरीको घान सकिएर तेलको धारा कम हुँदै तप तप थोपा थोपा भएर झर्दैछन् । झर्दै गरेको हरेक थोपामा सयपत्री महिला समूह काठमाण्डौ गोकर्णेश्वरका महिलाको उत्थान र प्रगति देखिरहनु भएको छ अध्यक्ष मनिषा कटुवालले ।
२०६१ सालमा झापा, लक्ष्मीपुरबाट काठमाण्डौ आउँदा उहाँलाई महिला समूहका बारेमा कुनै जानकारी नै थिएन । तर, मनमा केही गरौँ त्यसले समाजलाई केही देओस र विशेष गरी महिलालाई सघाउ पुगोस् भन्ने भाव छँदै थियो । शायद यही भावले काम गर्यो । र, २०६५ सालदेखि समूह बनाएर काम गर्न थाल्नुभयो । सुरुका दुःख बेग्लै थिए । करिब ३०/४० जनाको समूहको कुनै कार्यालय थिएन र घरमा पनि अप्ठेरो हुने हुँदा बाटोमै बसेर महिनाको सय रुपैयाँ उठाउँदै समूहलाई अगाडि बढाउनु भयो।
यो क्रम करिब तीन वर्ष चल्यो र यो पैसा समूहका महिलाहरुलाई ब्याजमा दिने गर्न थाल्नुभयो । यसले समूहका लागि अरु नभए पनि कपी, कलम किन्ने र हिसाब किताब राख्न सहज बनायो । त्यसको तीन वर्षपछि भने पाँच सय रुपैयाँ उठाउन थालियो । अहिले महिनाको एक हजार रुपैयाँ उठाउन थालेको करिब एक वर्ष भयो र समूहमा अहिले ९० जना छन् ।
पहिले जोरपाटी गाविस हुँदा समूहको काम खासै अगाडि बढ्न सकेको थिएन । गोकर्णेश्वर नगरपालिका भएपछि भने उहाँहरुले नगरपालिकाले यस्तो समूहलाई सहयोग गर्छ भन्ने जानकारी पाउनुभयो र सम्पर्क गर्नुभयो । सुरुमा त बोल्नै समस्या थियो । आफ्नो कुरा राख्नै समस्या थियो अनि नगरपालिकाले दिएको १५ दिने उद्घोषण तालिमले बल्ल आफ्ना कुरा भन्न र समस्याका बारेमा बोल्न सक्ने बनायो । यसले समूहलाई अगाडि बढाउन ठूलो मद्दत गर्यो ।
अहिले समूहलाई अगाडि बढाउँदै जम्मा भएको रकम उहाँहरुले समूहका सदस्यलाई १२ प्रतिशत ब्याजमा लगानी लगाउने गर्नुहुन्छ र यदि कसैसँग लगेको रकम तिर्न सकेन भने त्यो महिनाको ब्याज लिने र अर्को महिना भने सावाँ रकम भुक्तानी गर्नुपर्ने हुन्छ । त्यो पैसा समूहमै राख्ने र धेरै रकम भयो भने प्रतिफलको रुपमा दुई दुई वर्षमा सदस्यहरुलाई बाँड्ने गर्नुभएको छ ।
अहिले तेलमिलसम्म आइपुग्दा यसअघि मखमली जुत्ताको तालिमदेखि मास्क उद्योगसम्मको अनुभव बटुलिसक्नु भएको छ । मखमली जुत्ता बनाउँदा चीनबाट आउने सस्तो जुत्तासँग प्रतिस्पर्धा हुन नसकेपछि धेरै समय टिकेन । यसै बीचमा पूर्व वडाध्यक्ष रमेश अर्यालले अब तपाईँहरु मास्कको काम गर्नुस् भनेर वडाबाट सहयोग गरेपछि उहाँहरुले मास्क उद्योग गर्नुभयो । यो २०७८ सालको कुरा हो ।
त्यस बेला करिब चार लाख रुपैयाँ लगानी भएकोमा दुई लाख रुपैयाँ नगरपालिकाको तथा दुई लाख रुपैयाँ भने समूहको थियो । यो पैसाले मेसिन तथा कच्चा पदार्थ सबै किन्ने काम भयो । सिक्दै दुई वटा मेसिन बिग्रियो । पहिले माग धेरै हुँदा दिनको हजार/पन्ध्र सयसम्म पनि मास्क बनाउनुभयो । आठ/दश जना महिला दिदी बहिनीले रोजगारी पनि पाउनु भएको थियो । मास्क प्रतिगोटाको हिसाबले पैसा पाउने भए पनि महिनाको पाँच हजार रुपैयाँभन्दा कम कसैले पाउनु भएन त्यो बेला । धेरै बनाउनेले त्यो भन्दा धेरै नै पाउनुभयो र कोरोनाको बेला त्यो भनेको निकै राम्रो पैसा हुने गरेको र, मास्क उद्योग बन्द भएपछि त्यसैको कमाइले अहिलेसम्म अफिसको भाडा तिर्न पुगेको पनि कटुवाल बताउनुहुन्छ ।
तर, करिब एक वर्ष मास्कको गरिसकेपछि कोरोना कम भएका कारण माग पनि कम हुन थाल्यो । माग कम हुन थालेपछि भने अहिले उहाँहरुको मास्कको काम बन्द भएको छ । तर, यसलाई बन्द नै नगरी उहाँहरु पुनः सुरु गर्ने सोचमा हुनुहुन्छ तर, अहिले ठाउँ नभएका कारण मेसिन त्यसै थन्किएका छन् । अब छिटै मास्कको काम पनि सुरु हुँदैछ ।
मास्कको माग कम भएपछि अरु काम के सुरु गर्ने भन्ने सोच चल्दै थियो उहाँहरुबीच । यसैबीचमा गोकर्णेश्वरका मेयर दीपक रिसालले गोकर्णेश्वरबासीलाई शुद्ध तोरीको तेल खुवाउनुस् भनेपछि उहाँहरुले तेलमिलको काम सुरु गर्नुभएको हो । गोकर्णेश्वर वडा नम्बर ६ सिर्जनशील टोलमा रहेको उहाँहरुको तेल मिलले उत्पादन सुरु गरेको करिब एक महिना मात्रै भयो ।
सुरुमा तेलमिलको प्रस्ताव आउँदा काम गर्ने कि नगर्ने भन्ने पनि थियो । तेलमिलमा भारी उचाल्नु पर्ने, गह्रौँ काम गर्नुपर्छ भन्ने सुनेका कारण केटा मान्छेहरुले मात्रै काम गर्न सक्छन् होला भन्ने पनि उहाँहरुलाई लाग्यो । तर, कामै नगरी के को सजिलो गाह्रो कमसेकम गरी त हेरौँ भनेर उहाँहरुले सुरु गर्नुभएको हो ।
मेसिन चलाउने तालिम भने उहाँ आफैँले मेसिन स्थापना गर्ने प्राविधिकसँग चार/पाँच दिन लिनुभयो । र, यसमा उहाँलाई थप सहयोग गर्यो सामाजिक सञ्जाल युट्युबले । फेसबुक, टिकटक,युट्युबमा अरु नचाहिने कुरा हेरेर समय बित्छ भने चाहिने कुरा किन नहेर्ने, नसिक्ने भनेर आफूले युट्युबमा हेरेर पनि धेरै सिकेको कटुवाल बताउनुहुन्छ ।
अहिले उहाँहरुसँग तीन वटा मेसिन छन् । एउटा तेल निकाल्ने ठूलो मेसिन छ भने अर्को तोरी केलाउने मेसिन छ । भुट्ने मेसिन छुट्टै छ । तोरीको दाना च्याप्ने मेसिन भने आइपुगेका कारण भुट्ने मेसिनको प्रयोग भएको छैन ।
सुरु सुरुमा तोरी केलाउने मेसिन नआइपुग्दा समूहका महिलाहरु भेला भएर केलाउने काम पनि गर्नुभयो । तर, अहिले भने मेसिन आइसकेपछि त्यस्तो गर्नुपरेको छैन । तोरी केलाउन धेरै सजिलो भएको छ । मेसिनका लागि बाह्र लाख रुपैयाँ लगानी भएको छ । यो सबै नगरपालिकाले गरिदिएको हो भने अरु बाँकी खर्चहरु भने समूहले गरेको हो ।
उहाँहरुले तोरी भने कलंकीको थोक व्यापारीसँग ल्याउनुहुन्छ । किलोको अहिले एक सय ४५ देखि ५० रुपैयाँसम्म पर्छ र, मिलसम्मै ल्यादिन्छन् । उहाँहरुले अहिले तेल भने लिटरको तीन सय ८० रुपैयाँमा बेचिरहनु भएको छ । तोरी महँगो हुँदा तीन सय ९० रुपैयाँमा पनि बेच्नुभयो । पिना भने ४५ रुपैयाँ किलोमा बेचिरहनु भएको छ ।
उहाँहरु अहिले दैनिक ३०/३५ लिटर तेल बेचिरहनु भएको छ । तर, सबै खर्च कटाएर केही नाफा बच्नको लागि भने दैनिक ४०/५० लिटर तेल भने बेच्नै पर्छ । भर्खर सुरुआत भएको र आफ्नो आँखा अगाडि नै पेलेको शुद्ध तोरिको तेल पाइने हुँदा माग वृद्धि हुने उहाँहरुकोे विश्वास छ । यसका लागि समूहका महिलाहरु तथा वरपर छिमेकमा पनि उहाँहरुले तेलको बारेमा जानकारी गराइरहनु भएको छ ।
सुरुमा मेसिन नयाँ भएका कारण तेल राम्रोसँग नआउने अनि मेसिनले पनि खाइदिने कारणले झण्डै दुई क्वीन्टल तोरी भने उहाँहरुलाई घाटा लाग्यो । अहिले भने बिस्तारै त्यसमा सुधार भएको छ । मेसिनको क्षमता एक घण्टामा एक क्वीन्टल भए पनि अहिले भर्खर सुरुआत भएका कारण उहाँहरुले त्यस्तो धेरै तोरी पेलिरहनु भएको छैन । एक क्वीन्टल तोरीबाट ५० लिटर तेल निस्कनुपर्ने सामान्य हिसाब भए पनि अहिले भने उहाँहरुले ४०/४१ लिटर तेल निकालिरहनु भएको छ ।
अहिले सुरुको चरणमा केही घाटा भए पनि त्यसलाई छिट्टै नाफामा परिणत गर्न भाउ बढाउने भने नगर्ने पनि उहाँहरुको सोच छ । र, बजारीकरणका लागि पनि उहाँहरुले समूहका महिला दिदीबहिनी तथा उहाँहरु आफैँ पनि बाहिर गएर तेलका बारेमा प्रचार गरिरहनु भएको छ ।
अहिले भने कार्यसमितिको पाँच जनाले मिल हेरिरहनु भएको छ जसको भाडा महिनाको तेह्र हजार रुपैयाँ छ । अहिले समूहका अरुहरुलाई काममा संलग्न नगराउनुको कारण भने तोरी पेल्ने दिनमात्रै करिब दश जना मानिस आवश्यक पर्ने तथा अहिले परीक्षण काल भएको र त्यसबाट नाफाघाटा के हुन्छ त्यो विचार गरेर मात्र रोजगारी दिने सोच छ उहाँहरुको । त्यसो त समूहका मात्र नभएर गोकर्णेश्वरका अरु महिला दिदीबहिनीले पनि तेल लगेर बेचेर पैसा कमाउँछु भन्ने हो भने पनि त्यसको लागि समूह सधैँ खुला रहेको पनि कटुवाल बताउनुहुन्छ ।
उहाँहरुको सोच तेल मिलमा मात्र सीमित छैन । अब समूहले कुटानी पिसानीको अर्को मिल पनि राख्ने योजना बनाएको छ । त्यसका लागि समूहका सबै साथीहरु उत्साहित रहेको पनि उहाँ बताउनुहुन्छ । तेल मिलमा भन्दा पनि कुटानी पिसानी उद्योगमा भने अझ धेरैले रोजगारी पाउने हुँदा उहाँहरुले यस्तो सोच अगाडि बढाउनु भएको हो ।
समूहकी सचिव राधिका भट्टराई समूहमा त्यस्तो कुनै विवाद नभएको र घरपरिवारले पनि पूर्णरुपमा सहयोग गरेका कारण यहाँसम्म आउन सकिएको र अझै अगाडि बढ्ने सोच रहेको बताउनुहुन्छ ।
विशेष गरी घरको काम सकाएपछि मिलमा वा अरु काममा संलग्न हुनेहुँदा पनि त्यस्तो अप्ठेरो नभएको उहाँको भनाइ छ । घरको साथ सहयोग नभए अगाडि बढ्न गाह्रो हुने हुँदा समय नमिल्ने र अप्ठेरो हुने साथीहरु घरमै व्यस्त हुने र उहाँहरुलाई त्यस्तै जिम्मेवारी दिने बताउनुहुन्छ उहाँ ।
काम गर्ने खट्ने मानिसले त्यसै अनुसार रोजगारी पनि पाएको कारण समूहको बैठक बस्दा खासै विवाद तथा वैचारिक मतभेद नहुने गरेको पनि उहाँले बताउनु भयो । अहिले भर्खर मिलको सुरुआत भएको र यसबाट नाफा भएपछि त्यो समूहमै जाने त्यसको प्रतिफल पनि समूहका सदस्यले पाउने कारण पनि विवाद नभएको उहाँको भनाइ छ । बरु अब यस्ता अरु उद्योगहरु सञ्चालन गरेर धेरैभन्दा धेरै महिलाहरुलाई रोजगारी दिने र अहिले दुःख भए पनि पछि नेतृत्वमा आउने महिलाहरुले यसलाई सहजै सञ्चालन गर्न सकुन भन्ने सोचका साथ अगाडि बढिरहेको उहाँले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।