अहिले बिजुली व्यापार गर्ने बेला भएकाे छैन : अध्यक्ष ओली

 चैत ३, २०७९ शुक्रबार १९:३५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले बिजुली व्यापार गर्ने बेला नभएको जिकिर गर्नुभएकाे छ । उहाँले भारतप्रति सङ्केत गर्दै छ रुपैयाँ प्रतियुनिटमा बिजुली बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा बिजुली किन्न नहुनेसमेत बताउनुभयाे । 

शुक्रवार काठमाण्डाैमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि बिजुली आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसको भ्रममा पर्न नहुने पनि पटक–पटक दोहोर्‍याउनुभयाे । देशभित्रै बिजुली खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै बिजुली बिक्रीको कुरा गर्न उपयुक्त हुने उहाँकाे भनाइ छ । ं

उहाँले भन्नु भयो, ‘बिजुली निर्यात किन गर्नुपर्‍याे ? पहिले यहाँ खपत गराैँ । यहाँ रोजगारी सिर्जना गराैँ । उत्पादन उद्योगलाई अघि बढाऔँ । हाम्रो राष्ट्रिय खपत क्षमता वृद्धि गराैँ । अनिमात्रै व्यापारका कुरा गरौँला । अहिले बिजुलीकाे हाहाकार छ । तर हाम्रो बिजुली सस्तोमा किन्नका लागि हामीकहाँ त बिजुली आवश्यकताभन्दा बढी भइसक्यो । त्यसो भएपछि हाम्रो बार्गेनिङ क्षमता कमजोर हुने भयो । तपाईँहरूलाई नचाहेको भए पनि किनिदिनुहाेस् भन्नुपर्‍याे । त्यस्तो पनि हुन्छ कुरा ? नचाहिएर कसैले किन्छ ? कसैले पनि आफूलाई चाहिएको छैन भने किन्दैन । भ्रममा नपरौँ । चाहिएको छ, त्यस कारण किनिराखेको छ । त्यस कारण यो बार्गेनिङमा धेरै परिरहनुपर्ने आवश्यकता नै छैन ।’

अध्यक्ष ओलीले देशमा देशद्रोही अभियान चलाइरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाउनुभयो । व्यवसायी दुर्गा प्रसाईँका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए नागरिकले त्यसको प्रतिकार गर्ने ओलीको चेतावनी थियो । उहाँले साग र साइकल सस्तोमा पाइन्छ भनेर देश नै अर्को देशमा मिसाइदिने अभिव्यक्ति दिनेलाई सरकारले किन नसुनेको भनी प्रश्नसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको विरुद्धमा वकालत गर्नेहरूलाई नेपाली नागरिकले नछाड्ने र त्यसमा आफ्नो पार्टीको साथ रहने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया