काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा पर्सिसम्मै पानी पर्ने सम्भावना

 चैत ४, २०७९ शनिबार ७:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले पनि पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि र पर्सि पनि मौसम यस्तै रहने छ । पर्सि सोमवार मधेस प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ।

यो हप्ताकाे सुरुवातमा भएको हिउँदे वर्षाले किसानलाई केही राहत मिलेको छ । वर्षाले मकै छर्ने तयारीमा रहेका किसानलाई राहत मिलेको हो। किसानले लगाएका मौसमी तथा बेमौसमी तरकारी, फलफूल र अन्य बालीलाई पनि राहत मिलेको छ।

यो हप्ता वर्षा मापन भएका केन्द्रहरुमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको मार्तडी केन्द्रमा ४९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । तराईका धेरैजसो ठाउँमा तापक्रम ३० डिग्रीभन्दा माथि पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३४ दशमलव ६ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ । मुस्ताङको जोमसोम केन्द्रमा सबैभन्दा कम माइनस २ दशमलव एक डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको छ ।

यो हप्ता पश्चिमी वायुको सामान्य प्रभाव रहने अनुमान छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको छ । हिमाली क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा यो हप्ता हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

प्रि–मनसुन भएकाले मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया