कांग्रेस सांसद नआएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासकाे मत लिने कार्यक्रम स्थगित, एमालेले सरकार छोडेन

 चैत ८, २०७९ बुधबार १६:३५:५२ | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने गरी आज बुधवार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका सांसद अनुपस्थित भएका छन् । कांग्रेसका सांसद नआएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित भएकाे छ । अब फेरि यही चैत १० गते विश्वासकाे मत लिने तयारी गरिएको छ । 

कांग्रेस र माओवादीकाे हानथापका कारण सरकारबाट बाहिरिने तयारी गरेको नेकपा एमालेले पनि आज बाहिरिएन । प्रदेश सभा बैठकमा सहभागी भएर एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सम्बाेधनकै क्रममा सरकारबाट बाहिरिने घोषणा गर्ने र पछि पत्र मुख्यमन्त्रीलाई बुझाउने तयारी थियो । कांग्रेसले एमालेले राजीनामा नदिएसम्म सरकारमा सहभागी नहुने बताइरहेको छ । 

कांग्रेस पार्टीभित्रको विवादपछि आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने औपचारिक कार्यक्रमसमेत स्थगित भएको हो । हेटौँडामा प्रदेश सभा बैठकका लागि बोलाइएको समयमा नै काठमाण्डौमा नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दिने भए पनि समय अपुग भएकाले हेटौँडामा प्रदेश सभा बैठकमा आउन नसकिएको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बताउनुभयाे ।

नेता लामाले नेतृत्वमा आलोपालोको सहमति नभएकाले आफूहरू अनुपस्थित भएको बताउनुभयाे । कुनै पनि सहमतिविना मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्दा पाँच वर्ष नै प्रदेश सरकारको नेतृत्व गर्न पाउने दाउमा जम्मकट्टेल हुनुहुन्छ ।  

‘दलका नेता लामाले मुख्यमन्त्री कट्टेललाई विश्वासको मत दिन कुनै दुविधा नभए पनि प्रदेश सरकारहरूको नेतृत्वको बारेमा सहमति नभएकाले स्थगित गर्नुपरेको बताउनुभयाे । उहाँले नयाँ समीकरणमा केन्द्रबाट कुन प्रदेश कसको भागमा पर्छ त्यहीअनुसार अगाडि बढ्ने बताउनुभयाे । नेता लामाले आज काठमाण्डाैमा प्रदेश सरकारको नेतृत्व कसले पहिला गर्ने भन्नेबारे छलफल गरेको जानकारी दिनुभयाे ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो । गएको पुस २६ गते मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको चुनावसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिवार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको थियो । उहाँलाई छ दलका एक सय पाँच जना सांसदले विश्वासको मत दिएका थिए । गएकाे पुस २५ गते पाँच दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेललाई नेमकिपाका तीन जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

एक सय १० जना सांसद रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् । मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका तीन वटा दलका ६७ जना सांसदको समर्थन प्राप्त हुने देखिन्छ । उहाँले कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई जना सांसदको समर्थन पाउने देखिन्छ । राप्रपाका १३, नेमकिपाका तीन र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया