रुपन्देही : तिलोत्तमा नगरपालिकामा गुट्काजन्य पदार्थ बिक्री गरे ५० हजार रुपैयाँसम्म जरिबाना

 चैत ९, २०७९ बिहिबार ८:३७:४० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्काजन्य पदार्थको बिक्री वितरण गर्न रोक लगाएको छ । सार्वजनिक सूचना जारी गर्दै गुट्काजन्य पदार्थ बिक्री गरे डिलरहरुलाई १० हजारदेखि ५० हजार रुपैयाँसम्म र खुद्रा पसल तथा व्यापारीहरुलाई १ हजार ५ सय देखि ५ हजार रुपैयाँसम्म जरिबाना गर्ने बताएको हो ।

१५ दिनपछि लागू हुने यो प्रतिबन्दलाई कडाइका साथमा कार्यान्वय गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो । गुट्काजन्य पदार्थ बिक्री गरे डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार तथा तेस्रो पटक भेटिएमा ५० हजार रुपैयाँ जरिबाना गरिने उल्लेख छ ।

यसैगरी खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार ५ सय, ३ हजार र ५ हजार रुपैयाँ जरिबाना गरिनेछ । सहरी सौन्दर्यता र मानवस्वास्थ्यलाई ध्यानमा राखेर यो निर्णय गरिएको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया