पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
आर्यघाट पारि कर्मकाण्ड गराउन बसेका ब्राह्मणहरुको लाइन छ । चकटी ओच्छ्याएर बसिरहनु भएका डाकुरनाथ तिमल्सिना पनि यजमानको खोजीमा हुनुहुन्छ । नुवाकोट बेल्कोटगढीका तिमल्सिनाको झोलामा कर्मकाण्डका लागि आवश्यक पर्ने कुशदेखि लिएर अबिर, केशरीलगायतका पूजा सामग्री छन् । उहाँको अगाडि यजमानका लागि राखिएको चकटी खाली छ ।
चकटी खाली हुँदा उहाँका नजर यताउति गरिरहन्छन् । घरी दाहसंस्कार गरिरहेका शवमाथि त घरी ब्रह्मनालमा सुताएको शवमाथि उहाँको नजर गइरहन्छ । सँगै बगेको दुर्गन्धित बाग्मतीले भने उहाँको ध्यान त्यति खिच्ने गरेको छैन । शायद, अभ्यस्त भएर होला !
तर, ब्रह्मनालमा सुताएको शवमाथि हुने गरेको एउटा दृष्यले भने उहाँलाई धेरै बिझाउँछ । ब्रह्मनालमा शव सुताएपछि मलामीहरु दाहसंस्कारका लागि आवश्यक सामग्रीभन्दा पहिले ‘मिनरल वाटर’ किन्न दौडन्छन् । तिमल्सिना भन्नुहुन्छ, ‘ब्रह्मनालमा बाग्मतीको पानी नचढेको धेरै भयो । अचेल त बोतलका पानीले नै मुख धुने र चोख्याउने गरिन्छ ।’
उसो त उहाँकहाँ आउने यजमान पनि बाग्मतीको पानी प्रयोग नगरि ‘मिनरल वाटर’ नै बोकेर आउँछन् । उहाँ भन्नुहुन्छ, ‘म कहाँ कर्म गराउन आउने पनि मिनरल वाटर नै बोकेर आउँछन् । त्यही पानी अचाउँदै त्यसैले कर्म गर्छन् । मैले पनि त्यसैले कर्म गराउने गरेको छु ।’
काठमाण्डौ बाहिरबाट पहिलो पटक पशुपति आएर कर्मकाण्ड गराउनेहरु उहाँलाई देशकै पवित्रस्थल अनि नेपालकै नाम चलेको पवित्र गंगा बाग्मती किन यस्तो फोहर भनेर प्रश्न पनि गर्ने गर्छन् । तर, त्यसको उत्तर भने उहाँसँग छैन । उहाँ भन्नुहुन्छ, ‘यस्ता कुरा हाम्लाई के था ? खोइ था छैन भन्ने गर्या छु।’
उहाँलाई २०५७ सालमा काठमाण्डौ आउँदा गौरीघाटमा धेरै मान्छेले बाग्मतीको पानी खानेपानी भनेर गाग्रीमा, बाल्टीनमा बोकेर लगेको अहिले पनि सम्झना छ । तर, अहिले भने उहाँका यजमान पनि बाग्मतीको जल नभएर ‘मिनरल वाटर’ नै पो बोकेर आउँछन् ।
उहाँ भन्नुहुन्छ, ‘म २०५७ मा पशुपति आउँदा गौरीघाटमा खानेपानी भनेर धेरैले गाग्री, बाल्टीनमा बोकेर जान्थे । २०५७ देखि २०७९ सम्म आउँदा छुनै नसकिने भयो ।’
तिमल्सिनाको जस्तै अनुभव छ काठमाण्डौ गौरीघाट बस्ने लक्ष्मी दुलालको । उहाँ पहिले २०४२ सालमा गौरीघाटमा चिया पसल चलाउनुहुन्थ्यो । चिया, पकाउन अनि आफूले खाने पानीसमेत नउमाली तथा नछानीकन यही बाग्मतीबाट सोझै गाग्री ल्याएर डुबाएर लैजाने गरेको बताउनुहुन्छ दुलाल ।
लुगा धुन, नुहाउन र खानसमेत बाग्मतीको पानी सोझै प्रयोग गर्नुभएकी दुलाललाई अहिले भने त्यही बाग्मतीको पानी छुनसमेत घिन लागेर आउँछ । कुनै बेला यही बाग्मतीको पानीले जीवन निर्वाह गर्नुभएकी उहाँ अहिले पशुपतिमा जल चढाउनसमेत घरबाटै पानी बोकेर आउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘बाग्मतीमा यस्तो सफा र कञ्चन पानी बग्थ्यो हामी यहीँको पानी खान्थ्यौँ । फिल्टर भनेको के हो थाहा थिएन । अहिले भने देउतालाई चढाउन पनि घरबाटै जल लिएर आउने गरेकी छु ।’
पहिलेको अवस्था सम्झेर अहिले पनि उहाँलाई कहिलेकाहीँ माघ महिनामा स्वस्थानीको बेला बाग्मतीमा डुबुल्की लगाउन मन लाग्छ । तर, बाग्मतीको पानी देखेपछि भने मन मरेर जान्छ । अनि घरै गएर नुहाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एक दिन एउटी केटी पनि सपनामा आएर रोइ बाग्मतीमा दिसा, पिसाब मिसाए भनेर । तर, हाम्ले के गर्न सक्नु र । नारायण हरी भन्यो हात जोड्यो बस्यो ।’
उहाँको अनुभवमा बाग्मती दुर्गन्धित हुन थालेको २०४६ सालको बहुदलीय प्रजातन्त्रको प्राप्तिपछि हो । तर, २०४६ पछिका एक दशकमा पनि बाग्मती त्यति दुर्गन्धित भइसकेको थिएन । त्यसपछि भने काठमाण्डौको पानी छुनै घिनलाग्ने भयो ।
बाग्मती नदी फोहर भएपछि सफा गर्नका लागि विसं २०५२ सालमा एउटा समिति नै बनाइयो । देशको राजधानीको प्रमुख नदी एवम् सभ्यताकोरुपमा रहेको बाग्मती नदीलाई सफा र स्वच्छ बनाउनका लागि गठन गरिएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मतीको उत्पत्तिस्थल शिवपुरीको बागद्वारदेखि चोभारसम्म बाग्मतीलाई सफा बनाउने उद्देश्य राखेको छ ।
यसको अर्को उद्देश्य भनेको बाग्मतीलाई सुन्दरीजलदेखि पशुपतिसम्म ढलमुक्त बनाउने पनि हो । जसका लागि १४ अर्ब रुपैयाँ बजेट खर्च पनि भइसकेको छ । तर, परिणाम भने अहिले पशुपति वरपरका बाग्मती हेर्दा पुग्छ ।
अधिकार सम्पन्न बाग्मती सम्यता एकीकृत विकास समितिको प्रवक्ता तथा बोर्ड सदस्य वीरेन्द्र थपलिया ढलमुक्त बाग्मती बनाउनका लागि नदी किनाराका दुवैतिर ढल बनाउने काम जारी रहेको तर, विभिन्न अवरोधका कारण पूरा हुन नसकेको बताउनुहन्छ ।
अहिले समितिले बाग्मतीलाई पूर्णरुपमा ढलमुक्त बनाउनका लागि ‘ढलरहित बाग्मती फेज १’ सुरु गरेको छ । जुन भनेको गोकर्णदेखि शङ्खमूल तल मनोहरा दोभानसम्म पूर्णरुपमा ढलरहित बाग्मती बनाउने योजना हो । यसै योजनाको लागि गोकर्णेश्वर तथा कागेश्वरी मनोहराका नगरपालिकाका जनप्रतिनिधिहरुसँग समन्वयात्मक ढङ्गले काम अघि बढिरहेको थपलिया बताउनुहुन्छ ।
पशुपति क्षेत्रमा कमसेकम सफा पानी बगोस् भनेर गुह्येश्वरीमा समितिले दुई वटा ठूला ढल प्रशोधन केन्द्र पनि स्थापना गरेको छ । तर, सम्पूर्ण ढल प्रशोधन केन्द्रसम्म नआउँदा बाग्मतीमा फोहर पानी बगेको थपलिया बताउनुहुन्छ ।
बाग्मतीलाई सफा बनाउन यसका सहायक नदीहरु पनि सफा बनाउनु पर्ने भएकाले यसतर्फ पनि काम भइरहेको उहाँ बताउनुहुन्छ । अब नदीहरु क्रमशः सफा हुँदै जानेमा पनि आशावादी देखिनुहुन्छ थपलिया । यसका लागि सर्वोच्च अदालतले नदीमा ढल मिसाउन नपाइने तथा घरघरमा सेप्टिक ट्याङ्क बनाउनु पर्ने आदेश जारी भएका कारण अहिले ढलमुक्त बाग्मतीका लागि पनि विभिन्न पालिकाहरुले यो अवधारणामा काम सुरु गरिसकेकोले आफू आशावादी रहेको थपलियाले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘यसले छिट्टै परिणाम दिनेछ ।’
बाग्मती नदीलाई सफा बनाउन काठमाण्डौ उपत्यकामा रहेका १८ वटा पालिकालाई पूर्वी, उत्तरी, दक्षिणी, पश्चिमी र केन्द्रीय गरी पाँच क्षेत्रमा विभाजन गरी उहाँहरुसँग समन्वय गरेर समितिले काम गरिरहेको हुनाले पनि चाँडै नै परिणाम देख्न पाइने बताउनुहुन्छ थपलिया ।
बाग्मतीमा सफा पानी बगाउनका लागि ढाप ड्याम निर्माण भइसकेको र अर्को नागमती ड्याम पनि योजना पनि रहेको उहाँले बताउनुभयो । अहिले सुन्दरीजलमा निर्माणसम्पन्न भएर उद्घाटनसमेत भएको ढाप ड्यामबाट पशुपतिमा हुने विशेष चाडपर्वमा प्रतिसेकेण्ड चार लाख लिटर पानी छोड्ने र पछि नियमित गरिने पनि उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘यो एउटा वृहत् र एकीकृत आयोजना हो । यसमा केही समय लागेको छ । ढिलाइ भएको छ । हामीले पनि महसुस गरेका छौँ । तर, परिणाम चाँडै नै आउँछ ।’
उहाँले समयसीमाको ठ्याक्कै यकिन गर्न नसकिए पनि आउँदाे आर्थिक वर्षको लक्ष्य नै यही भएका कारण आउँदाे आर्थिक वर्षमा भने बाग्मतीमा सफा र स्वच्छ पानी बगेको देख्न पाइने पनि बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘दिन महिना ठ्याक्कै तोक्न नसके पनि आउँदाे वर्षको लक्ष्य यही भएको हुनाले आउँदाे आर्थिक वर्षसम्म परिणाम देख्न पाइन्छ ।’
समितिले गर्ने बाहेक बाग्मती नदीलाई सफा बनाउनका लागि २०७० साल जेठ ५ गते तत्कालीन मुख्य सचिव लिलामणि पौडेलले बाग्मती सफाइ महाअभियान पनि सुरु गर्नुभएको थियो जुनक्रम अहिले पनि जारी छ। पाँच सय १४ हप्तामा यो कार्यक्रम चल्दै गर्दा पनि बाग्मतीको अवस्था भने उस्तै छ ।
बाग्मती सरसफाइ महाअभियानमा अहिलेसम्म झण्डै दश लाख स्वयम्सेवक परिचालन भएको र झण्डै २० हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन गरिएको पनि समितिले जनाएको छ । अभियन्ताले एक दिन सफा गर्ने तर, उपभोक्ताले सात दिन फोहर गर्ने गर्दा त्यो अभियान चलिरहे पनि सफल हुन नसकेको थपलिया बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।