एकै ठाउँबाट सेवा दिन काठमाण्डाै प्लाजा सर्दै महानगर

 चैत ९, २०७९ बिहिबार २०:६:४६ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका काठमाण्डाै प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाण्डाै प्लाजामा सर्न लागेको हो । 

नेपाल ट्रस्टकाे स्वामित्वमा रहेको काठमाण्डाै प्लाजामा सर्नका लागि महानगर र ट्रस्टबीच बुधवार सहमति भएको छ । सहमतिपत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रस्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गर्नुभयो ।

महानगरले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाण्डाै प्लाजामा सार्ने तयारी गरेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । महानगरअन्तर्गतका १६ वटा विभागले अहिले फरक–फरक ठाउँबाट सेवा प्रदान गर्दै आएको छ । 

सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी महानगरले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ । 

पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको यस सात तले भवनको तल्लो तलामा ७० वटा चारपा ङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्छ । सूचना अधिकारी आचार्यका अनुसार २०७२ सालको भूकम्पअघि महानगरको सेवा बागदरबारबाट प्रवाह भइरहेको थियो । भूकम्पका कारण भवन जीर्ण भएपछि केही समयका लागि राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरिएको थियो । अहिले सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ । 

कम्प्लेक्समा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखापरीक्षण इकाइ, खरिद इकाइ छन् । साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुनसम्बन्धी सेवा, ट्राफिक व्यवस्थापन विज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन इकाइ छन् । टेकुमा उद्यान तथा हरियाली प्रवर्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ । 

राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । सहकारी विभाग बिजुली बजारमा छ । सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद् व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी इकाइलगायत कार्यालय छन् ।  

हनुमान ढोका दरबार संरक्षण कार्यालय वसन्तपुरमा छ । राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखालगायत संरचना छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया