बाग्मती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै, एमाले सरकारबाट बाहिरिने

 चैत १०, २०७९ शुक्रबार ८:५५:४६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज दिउँसो १ बजेका लागि बोलाइएको बाग्मती प्रदेश सभा बैठकमा विश्वासको मत लिने हुनुभएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने दिनमै आज नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा सम्बाेधन गरेर सरकारबाट बाहिरिने तयारी गर्नु भएको छ । बाग्मती प्रदेशमा एमालेका चार जना मन्त्री छन् । सबैजनाले सरकार छाड्ने र त्यही स्थानमा नेपाली कांग्रेस रहने छ । 

यसअघि चैत ८ गतेका लागि बोलाइएको प्रदेश सभा बैठकमा कांग्रेसका सांसदहरु मुख्यमन्त्रीलाई विश्वासको मत दिनका लागि हेटौँडा नआएपछि स्थगित भएको थियो । आजको बैठकमा भने कांग्रेसले विश्वासको मत दिने भएको छ । बैठकमा विश्वासको मत दिने सबै तयारी गरिएको नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाले बताउनुभयो । प्रदेश सरकारबाट एमाले बाहिरिएपछि मात्र सरकारमा जाने अनि विश्वासको मत पनि मुख्यमन्त्रीलाई दिने तयारी भएको लामाले बताउनुभयो ।  

यसअघि सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरु बैठकमा उपस्थित नभएपछि शुक्रवार आजका लागि बैठक सारिएको थियो । बुधवारकै दिन काठमाण्डौमा बसेको बाग्मती प्रदेश कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो । अब बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गर्नु भएको छ । 

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको चुनावसँगै भत्किएपछि राप्रपाले गएकाे फागुन १३ गते शनिवार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री जम्मकट्टेलले चैत १३ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । यसअघि मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनु भएकाे थियाे । उहाँलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गएकाे पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्मकट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।

११० जना सांसद रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

मुख्यमन्त्री जम्मकट्टेललाई सत्ता गठबन्धनका ३ वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ। कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन पाउने देखिन्छ । राप्रपाका १३, नेमकिपाका ३ र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया