बर्दियामा बाघसँग जम्काभेट हुँदा...

 चैत १०, २०७९ शुक्रबार २०:१:३० | प्रेमनारायण आचार्य
unn.prixa.net

बर्दियाको ठाकुरद्वारामा रहेको गैँडा क्याम्प रिसोर्टमा बास बसेका हामीले बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गर्ने निर्णय गर्यौँ । 

अहिलेसम्म जङ्गल सफारी नगरेको मलाई सफारी कस्तो होला ? जङ्गलमा के–के वन्यजन्तु देख्न पाइने होला भन्ने कौतुहलता छाएको थियो । सफारीका लागि गाडीमा बसेदेखि नै मन चञ्चल भइरहेको थियो अनि बर्दिया राष्ट्रिय निकुञ्जको मूल गेटमा गएर टक्क गाडी अडियो । 

गाडीमा रहेका सबैले नाम, उमेरलगायतको विवरण मूल गेटमा रहेका कर्मचारीलाई टिपाएर आवश्यक प्रक्रिया पूरा गर्ने काम सुरु हुँदै थियो । त्यही बेला आफ्नै वडा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० को टोल सुधार समितिको भ्रमण टोली पनि त्यहीँ आएको रहेछ । आफ्नै गाउँका सबै चिनजानका मानिसहरू देखेपछि सँगै फोटो पनि खिचाइयो । तस्बिर खिचाउने र सामान्य भलाकुसारीपछि हाम्रो यात्रा जङ्गलतर्फ सुरु भयो । 

हामीलाई यात्रा गराउन आएका टुरिस्ट गाइड विनय चौधरीले जङ्गलमा बाघ, गैँडा, हात्ती, मृगलगायतका जन्तु र विभिन्न चराचुरुङ्गी पाइन्छ, तपाईँहरूले बढी होहल्ला गर्नुभयो भने देख्न सकिँदैन भनेर सम्झाएका थिए । 

म गाडीको अगाडि बसेको थिएँ । पाँच मिनेटको सफारीमा मयुर देख्यौँ । त्यसको झन्डै २५ मिनेटको सफारीमै पाटेबाघ बायाँतर्फ जाँदै गरेको देखेँ । मैले नजिकै रहेका पत्रकार विक्रम खड्कालाई ‘दाइ, बाघ हेर्नु त उता गयो’ भनेर भनेँ । त्यही समयमा गाडीका चालक हरि थारुले गाडी दौडाए । मलाई लाग्यो, बाघ देखेर चालकले डरले दौडाएका होलान् । तर बाघ गएको ठाउँ नजिकै गएपछि गाडी झ्याप्पै रोकियो । 

गाडी रोकिएपछि झन्डै १५ मिटरको दुरीमा बसिरहेको पाटेबाघ देखियो । अनि झट्ट मोबाइल झिकेर बाघको फोटो र भिडियो कैद गर्न सुरु गरेँ । झन्डै चार मिनेटपछि बाघ जुरुक्क उठेर हामीतिर फर्कियो । हामी सबैलाई डर लाग्यो । तर डर लागे पनि हात हल्लाउँदै, मुटु कमाउँदै मोबाइलमा भिडियो खिच्न छोडेको थिइँन । हामीतिर फर्किएको बाघ दाहिने मोडिएर दक्षिण बघौराफाटातिर गयो । 

गाइड चौधरीले बाघ पानी खान तलको खोलामा जान्छ, हेर्न जाऔँ भनेपछि हामी जङ्गलभित्र पस्यौँ । चालक र गाइडले हातमा लौरो लिएका थिए । हामीसँगै जाऔँ, एकलै गएँ बाघले झम्टिन्छ भन्दै थिए । सामान्य खोल्सी तरेर खोलाको किनारमा पुगियो । 

गाइड चौधरीले खोलातिर देखाउँदै ‘उ त्यो तल देखिएको घाँस नजिकै बाघ आउँछ’ भने । केही समयमै बाघ खौराहा खोलामा पानी खाएर खोला गरेर गयो । 

बाघ खोला तरेपछि हामीहरू गाडी रोकिएको ठाउँमौ आयौँ र फेरि सफारी सुरु भयो । सफारी सुरु भएको केही समयपछि विपरीत दिशाबाट अर्को गाडी आयो । त्यो गाडीमा विदेशी पर्यटकहरू थिए । उनीहरूले उत्तरतिर देखाउँदै ‘राइनोज... राइनोज..’ भने अनि हामीले जङ्गलमा दौडिरहेको गैँडा देख्यौँ । 

गैँडा हेरेपछि हामीले फेरि जङ्गलको यात्रा सुरु गर्यौँ । हामीले फाँट र घाँसे मैदानमा चित्तल, बार्ह सिङ्गे जरायो, चित्तललगायतका जन्तु चरिरहेका थिए । यात्राकै क्रममा हामी बघौरा फाटा पुग्यौँ । कतै मयुर नाचिरहेको देख्यौँ । लालीगुराँस फुलेर रातै भएसरी राता रुखको जङ्गल देखेपछि गाइड चौधरीलाई सोध्यौँ । उनले कुसुमको बोट हो भने । यात्राका क्रममा यस्तै सुन्दर दृश्य देख्न पायौँ । 

सफारीका क्रममा हामीले देखेका ठाउँ र जनावरको बारेमा चालकले जानकारी वर्णन गरिरहेका थिए । चालकले हामीहरूलाई ‘दाइ, तपाईँहरू त भाग्यमानी हुनुहुँदो रहेछ, त्यति नजिकबाट बाघ हेर्न पाउनुभयो । कति मानिसहरू दुई/तीन दिन जङ्गल सफारी गर्दा पनि बाघ देख्न सक्दैनन्’ भने । 

यसरी हाम्रो एकदिने जङ्गल सफारी सकियो । यात्रा एकदिनको भए पनि निकै अविस्मरणीय रह्यो । 

बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा–

सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्जको नाम पछि बर्दिया वन्यजन्तु आरक्ष रह्यो । २०४५ साल मङ्सिर २० गते यो बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भागसमेत समेटिएको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । धेरैजसो भाग सालको जङ्गलले ढाकेको र बीच–बीचमा घाँसे मैदान रहेको छ । पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा, जङ्गली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी जन्तु यस निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा अहिलेसम्म चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराहरूको अभिलेख राखिएको छ । 

अन्तिम अपडेट: जेठ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया