ओखलढुङ्गामा दुर्घटना कम गर्न गाडीमा ‘टाइमकार्ड’

 चैत १३, २०७९ सोमबार ८:३१:२४ | रासस
unn.prixa.net

ओखलढुङ्गा - ओखलढुङ्गामा तीव्र गतिका कारण हुने गाडी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ । ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सार्वजनिक गाडीहरूका लागि टाइमकार्ड लागू गरिएको हो । 

ओखलढुङ्गामा पछिल्लो समय दुर्घटना बढेकाले तीव्र गतिका कारण हुने गाडी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गरिएको ओखलढुङ्गा ट्राफिक प्रहरी प्रमुख होमप्रसाद खतिवडाले बताउनुभयो । टाइमकार्डमा निर्धारण गरिएको समयमा निश्चित दूरीमा मात्र गाडी कुदाउन पाइने गरी टाइमकार्डको व्यवस्था गरिएको प्रमुख खतिवडाको भनाइ छ । 

'यात्रुलाई छिटो पुग्नुपर्ने र चालकलाई जतिसक्दो कुदाउन मन लाग्ने हुँदा गाडीको गति बढ्छ । तीव्र गतिको गाडी दुर्घटनाको जोखिममा पर्छ । गाडी अनियन्त्रित भएरै धेरैजसो दुर्घटना भएका छन्', प्रमुख खतिवडाले भन्नुभयो, 'तीव्र गतिका कारण हुने दुर्घटना रोक्न हामीले टाइमकार्डम लागू गरेका छौँ । निश्चित समय तोकिएको हुन्छ, यदि त्यो समयभन्दा अगाडि आइपुग्ने गाडीलाई प्रहरीले तत्काल कारबाही गर्छ ।' 

पत्ताले–सोलु सल्लेरी एक घण्टा ३० मिनेट, ओखलढुङ्गा–जन्तरखानी ठाडे एक घण्टा १५ मिनेट, मानेभञ्ज्याङ–गोरुमारेभञ्ज्याङ मिलनचोक एक घण्टा र हर्कपुर–मानेभञ्ज्याङका लागि ४५ मिनेटको समयसीमा निर्धारण गरिएको छ । प्रायजसाे गाडी दुर्घटना तीव्र गतिका कारण भएको भन्दै निश्चित दूरी पार गर्न समय तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्लामा यसअघि पनि टाइमकार्ड लागू गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । पछिल्लो समय प्रहरीले टाइमकार्ड हेर्न छाडेपछि चालकले सक्दो तीव्र गतिमा गाडी चलाउने गरेका थिए। 

यसैबीच ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाण्डाैलगायत देशका विभिन्न ठाउँमा आवतजावत गर्ने सार्वजनिक गाडीले अनिवार्य बस पार्कमा प्रवेश गराउनुपर्ने व्यवस्था गरिएको छ । सिद्धिचरण नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सुरक्षा निकाय र सरोकारवाला कार्यालयहरूको सर्वपक्षीय बैठकले दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गर्ने र रमाइलो डाँडाको बसपार्क सञ्चालन गर्ने निर्णय गरेको थियोे ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया