रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न

 चैत २४, २०७९ शुक्रबार १९:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न भएकाे छ । वैशाख कृष्ण प्रतिपदाको दिन दिउँसो मूर्तिलाई तःबहाल मन्दिरबाट पहिले टोली बिसाएको भनिएको ठाउँ लगनखेलकाे रुखका फेदमा स्थायी रूपले निर्मित मण्डपमा ल्याएर महास्नान सम्पन्न गरिएको हो । मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँ–ठाउँबाट ल्याइएका जलले भरिएको घडा बोकी चार दिशामा उभिएर मन्त्रोच्चारणसाथ विधिपूर्वक स्नान गराइएको छ ।

आज नै दिनको मध्यरातको समयमा सुटुक्क तःबहालमा भएको मन्दिरको पिँढीमा ल्याएर राख्ने परम्परा छ । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म झन्डै दुई महिनासम्म मनाइन्छ । याे जात्राको विशिष्ट सांस्कृतिक एवम् धार्मिक महत्त्व छ । पाटनको सबैभन्दा महच्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा पनि हो ।

लोक कथनअनुसार टौदहका नागराज कर्कटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भिडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दाबी गरेको कथन छ । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍याे । त्याे विवाद राजासमक्ष पुर्‍याउँदा लिच्छिवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल त्याे भोटो मच्छिन्द्रनाथको जिम्मा लगाएर रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । त्यही परम्पराअनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन त्याे भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया