इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – संसदीय समितिहरूको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
प्रतिनिधि सभा नियमावली प्रतिनिधि सभाबाट पारित भएसँगै सङ्घीय संसद् सचिवालय संसदीय समिति गठनको प्रक्रियामा अगाडि बढेको छ । यससँगै समिति सभापति कुन दलले कति पाउने र क–कसलाई सभापति बनाउने भन्नेतर्फ दल र सांसदहरूको ध्यान गएको छ । सांसदहरूले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रभावकारी काम गर्नसक्ने र समितिलाई गतिशील बनाउनसक्ने मान्छे समिति सभापति बन्नुपर्ने बताउनुभयो । विगतमा राजनीतिक जिम्मेवारी नपाएकाहरूलाई समिति सभापति बनाउँ भन्ने दलहरूको धारणा हुँदा समिति निष्प्रभावी भएको उहाँको तर्क छ । सांसद पौडेलले तीन वटा समितिको सभापतिमा माओवादी केन्द्रको दाबी रहेको पनि बताउनुभयो ।
त्यस्तै माओवादी केन्द्रकै सांसद लेखनाथ दाहालले राजनीतिक दलहरूका बीचमा सहमतिमा सभापति चयन गर्ने कुरालाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सहमतिका आधारमा हुँदा माओवादी केन्द्रले कम सङ्ख्यामा सभापति स्वीकार गर्ने तर निर्वाचन प्रक्रियामा सभापति चयन गर्ने अवस्थामा धेरै सङ्ख्यामा दाबी रहने बताउनुभयो । उहाँले समिति सभापतिमा सक्रिय र ऊर्जाशील व्यक्ति चाहिने बताउनुभयो । निष्क्रिय मान्छेलाई पार्टीको वरिष्ठ नेता भएको आधारमा सभापति बनाउन नहुने उहाँको भनाइ छ । वरिष्ठ नेताहरूलाई सम्मान गर्ने र कनिष्ठ नेताहरूलाई काम दिने परिपाटी बसाउन आफूहरू आवाज उठाउने उहाँले बताउनुभयो ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले समितिलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न सक्ने व्यक्ति सभापति बन्नुपर्ने बताउनुभयो । उहाँले योग्य र दक्ष व्यक्तिको चयन गर्नुपर्नेमा जोड दिनुभयो । अन्य राजनीतिक दलमा समिति सभापति चलाउने योग्यता र दक्षता भएकाहरू निकै कम भएको भन्दै उहाँले पाँचदेखि सात वटा समिति सभापतिमा एमालेको दाबी रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले संसदीय अभ्यास बुझेका र अध्ययनशील व्यक्तिलाई समिति सभापति छनाेट गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले पाँच वटाभन्दा बढी समिति सभापति पाउनुपर्ने माग गर्नुभयो ।
समिति सभापति चयन गर्दा महिलाको समान प्रतिनिधित्वको आवाज पनि महिला सांसदहरूले उठाइरहेका छन् । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले दश वटा विषयगत समितिमध्ये महिलालाई ५० प्रतिशत समिति सभापति दिनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसकै सांसद नागिना यादवले सक्षम महिलालाई समिति सभापति बनाउनुपर्ने माग आफूहरूले पार्टीभित्र राखिसकेको बताउनुभयो । समिति सभापति चयन गर्दा समानुपातिक र समावेशी रूपमा गर्नुपर्नेमा उहाँको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।