बढ्दै आगलागीका घटना : रसुवामा एक दम्पतीकाे ज्यान गयाे, एक वर्षमा झण्डै १ सय ९ जनाले ज्यान गुमाए

 चैत २८, २०७९ मंगलबार ८:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—८ लेङवा क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा नआउँदा गाउँ नै आगलागीको जोखिममा परेको छ । तस्बिर : रासस

काठमाण्डाै - रसुवामा भएको आगलागीमा एक दम्पतीको ज्यान गएको छ । आमाछोदिङ्मो गाउँपालिका–५ छोदुममा हिजो टहरोमा आगलागी हुँदा घाइते भएका दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ८६ वर्षका लोप्साङ्ग तामाङ र उहाँकी श्रीमती ८६ वर्षकै छेकी तामाङ रहेका जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । आगो बालेर सुतेका उनीहरु टहरोमा आगो सल्केपछि घाइते भएका र उपचारका लागि जिल्ला अस्पताल लैजानेक्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । 

गएको बिहीवार गुल्मीको मदानेमा एक घरमा आगलागी हुँदा ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको थियो ।

त्यस्तै, हिजो बाँकेको जानकी गाउँपालिका–५ बकसपुर बस्तीमा आगलागी हुँदा चार वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । खरानीसँगै फैलिएको आगोबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । 

यस्तै, ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ढुसेनी क्षेत्रमा गएको शनिवारदेखि लागेको डढेलो नियन्त्रणमा आएको छैन । सुक्खा र हावाहरी चल्ने भएकाले जंगल नजिकैको गाउँ जोखिममा परेको स्थानीय हरिप्रसाद नेपालले बताउनुभयो । बस्तीमा प्रायजसो खरको छानो भएकाले जोखिम बढेको फुङ्लिङ नगरपालिका–८ का वडासदस्य भुपिन्द्र मगरले बताउनुभयो । ढुसेनी क्षेत्रमा प्रायः हरेक वर्ष डढेलो लाग्दै आएको छ । 

गर्मी बढेसँगै आगलागी, डढेलो तथा चट्याङका घटना बढ्न थालेका छन् । यी घटनाबाट हुने मानवीय क्षति पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी २० ठाउँमा आगलागी, ४ ठाउँमा डढेलो र एक ठाउँमा चट्याङको घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार झण्डै एक वर्षमा आगलागीबाट मात्रै १ सय ९ जनाको ज्यान गएको छ ।

त्यस्तै, वैशाखयता भएका चट्याङका २ सय ९० वटा घटनामा ८४ जनाले ज्यान गुमाएका छन् । बर्सेनि वन, जङ्गलमा आगलागी हुँदा लोप हुन लागेका प्रजाति थप जोखिममा पर्ने र यसले गर्दा पर्यावरणलाई नै असर पुर्याउने जैविक विविधता क्षेत्रमा काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभएको छ ।  

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया