बर्खा नलाग्दै पहिरोको चिन्ता

 चैत २९, २०७९ बुधबार १३:४०:३४ | रासस
unn.prixa.net

बाग्लुङ – आठ महिना पहिले गाउँमाथिबाट आएको पहिरोले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिरोको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन ।

घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदको महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन । बाग्लुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिरोले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने बिस्तारै चिन्ताले पिरोल्न थालेको छ ।

गएको भदौ २१ गतेदेखि सुरु भएको पहिरो असोजको अन्तिमसम्म रोकिएन । दशैँका बेला एक हप्ता निरन्तर बर्खा हुँदा पहिरो निरन्तर बगिरह्यो । गाउँले घर छाडेर छिमेकमा बसे । हिउँद लागेपछि आफ्नै घर फर्किएका गाउँले आउँदो बर्खायाममा फेरि घर छाड्नुपर्ला कि भन्ने चिन्तामा छन् ।

‘हिउँदमा त दिन काटियो तर बर्खामा घर बस्न सकिँदैन’, स्थानीय कुलराज शर्माले भन्नुभयो, ‘अन्त जाने ठाउँ छैन, घरमै बस्ने वातावरण छैन ।’ पहिरोका कारण घर चर्किएका स्थानीय ढालनाथ शर्माले घर छाडेर हिँड्नुभयो । पोखरामा रहेका छोराले कोठा भाडामा लिएर उहाँलाई पोखरा लानुभयो । कुलराज शर्मा, नैनकली केसी र वीरबहादुर केसीका घर गोठ चर्केका छन् ।

‘पहिरोले घरगोठ नपुरेसम्म सरकारले केही नदिने रहेछ, हामी त दिनरात तड्पेर बसेका छौँ’, शर्मा भन्नुहुन्छ, ‘घरगोठ सग्ला छन् तर भरिला भएनन् ।’ आउँदो बर्खाको चिन्ता हिउँदबाटै सुरु भएको शर्माको गुनासो छ । अघिल्लो बर्खा सकिनै लाग्दा सुरु भएको पहिरोबाट हिउँदमा भएको बर्खामा समेत माटो बगिरहेको थियो । 

‘पहिरोको प्रभाव गाउँका अन्य ११ घरमा पनि परेको छ, पूर्ण प्रभाव परेका सात घर छन्’, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भन्नुभयो, ‘पहिरो नियन्त्रणको प्रयास भइरहेको छ, बस्ती स्थानन्तरण गर्न सकिएन, यो कठिन काम रहेछ ।’ हिउँदभरि प्रयास गरेर पहिराको अध्ययन गर्ने, भलबाढी तर्काउने र सम्भावनाको खोजी गर्ने काममात्रै गर्न सकिएको उहाँले बताउनुभयो ।

बाग्लुङ नगरपालिकाले पहिरो नजिक जाने भल तर्काएको छ । घरगोठ नजिक भल नजाने गरी निकास दिइएको वडाध्यक्ष गौतम बताउनुहुन्छ । ‘हामीले बस्ती स्थानान्त्रण गर्न खोजेका छौँ, तर जग्गाको अभाव छ’, उहाँले भन्नुभयो, ‘वडाभित्र उपयुक्त जग्गा छैन, बाहिर कसले दिन्छ र ?’

वडामै रहेको जग्गामा बस्तीमात्रै स्थानान्तरण गरे पनि पीडित घर छाडेर हिँड्ने मानसिकतामा नरहेको गौतम बताउनुहुन्छ । खेतीपातीका कारण सर्वसाधारणले आफू बस्दै आएको ठाउँ छाड्न नमानेको उहाँले बताउनुभयो । डाँडै पहिरो खसेपछि जोखिममा परेको बाग्लुङ–११ को रायडाँडाको रामतोलामा प्रदेश सरकार र बाग्लुङ नगरपालिकाको ध्यान जान आवश्यक छ । ‘जिल्लामा रहेको विपद् व्यवस्थापन समितिमार्फत निर्णय गराएर बस्ती स्थानान्तरणका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छौँ । 

पहिरोले जैमिनी नगरपालिका–१ वडारको बस्ती पनि जोखिममा छ । गएको हप्ताको बर्खापछि पहिरोले माटो बगाउँदा वृहत् कुश्मीशेरा खानेपानी आयोजनाको मुहान बगाएको छ । वडारका केही परिवार पहिरोका कारण विस्थापित हुने अवस्थामा छन् ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया