जनकपुर–जयनगर रेल आजदेखि दिनको ४ पटक आउजाउ हुने

 वैशाख १, २०८० शुक्रबार १२:५८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

धनुषा – नेपालको कुर्थाबाट भारतको जयनगरसम्म आज शुक्रवारदेखि दिनको चार पटक रेल आउजाउ हुने भएको छ ।

अहिले नेपालको कुर्थाबाट भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एकमात्र रेल सेवा नेपाल रेल्वेले शुक्रवारदेखि दिनको चार पटक आउजाउ गर्दै सेवा विस्तार गरेको हो । यसअघि दुई पटकमात्र आउजाउ गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चार पटक आउजाउ गर्ने गरी सञ्चालनमा आउने भएको हो ।

रेल्वेका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि छुट्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे छुट्नेछ । यो सेवा विस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ । यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र भिड हुने गरेको थियो ।

महाप्रबन्धक झाले बिजलपुरासम्म रेल सेवा विस्तारका लागि दुई चरणको 'इन्पेक्सन' को काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरू छिट्टै पूरा गरेर आफूहरूलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताउनुभयो । उहाँले चाँडै नै बिजलपुरासम्म रेल सेवा विस्तारका लागि प्रयासरत रहेको बताउनुभयो । उहाँले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई वटा रेल सरकारसँग माग गरेको बताउनुभयो । उहाँले अब सहज र सुलभ रेल सेवा उपलब्ध हुने बताउनुभयो ।

यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र फेरि दिउँसाे ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल (भारतीय बजार) का लागि समेत समय अभाव हुने गरेको थियो ।

महाप्रबन्धक झासहित भारतीय प्राविधिकहरूको टोलीसमेत मिलेर रेल अगाडिको लिकमा नरिवल फोड्दै सेवा विस्तारको शुभारम्भ भएकाे हाे ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया