नितिन मिश्रको उपन्यास “म र म” सार्वजनिक

 बैशाख ३, २०८० आइतबार ८:३६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नितिन मिश्रको उपन्यास “म र म” सार्वजनिक भएको छ । शनिवार हिजाे नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्राध्यापक डा ज्ञानु पाण्डे, समालोचक गुरुङ शुसाङ्क, कलाकार मदनदाश श्रेष्ठ तथा प्रभाकर शर्मा र नेपाल सरकारका पूर्व सचिव खेमराज नेपालले संयुक्त रूपमा पुस्तककाे विमाेचन गर्नुभएकाे हाे । 

कार्यक्रमा डा.ज्ञानु पाण्डेले उपन्यास एकपटक मात्र होइन, पटक पटक पढ्दै जाँदा झन् नवीन सिकाइ थपिँदै जाने बताउनुभयो । उपन्यासमा समाज, प्रेम, ईश्वर, परिवार र सम्बन्धको चिन्तनशीललाई मनोवैज्ञानिक तरिकाले उठान गरिएकाे उहाँले बताउनु भयो । 

कार्यक्रममा बोल्दै समालोचक गुरुङ शुसाङ्कले पुस्तकले नितिनका थप अनुभव र भोगाइलाई समेटेको उल्लेख गर्नुभयो । उपन्यासमा कथा र भाषा सरल र मिठो भएकाले पनि पढ्न सहज भएको उहाँले बताउनु भयो । 

'उपन्यासले नेपाली समाजको तस्बिर देखाउनु पर्छ । समाजको सङ्घर्ष बदलिँदो समयको राजनीतिक आर्थिक पारिवारिक सम्बन्धबारे गाउँ सहरबीचको सम्बन्ध देखाउन सक्नु पर्छ' गुरुङले भन्नुभयाे। ‘म र म’ ले पनि नेपाली उपन्यासको क्षेत्रमा सुगन्ध थपेको  उहाँले बताउनु भयो । 

यस्तै, कलाकार मदनदाश श्रेष्ठले किताबले अमेरिका बसाइको भोगाइ, वातावरण र चहलपहललाई राम्रोसँग समेटेको बताउनु भयो । नेपालमै भएका साहित्यकारहरुले सोचेअनुसार साहित्यमा योगदान गर्न नसकेका बेला विदेशबाटै नेपाली साहित्यमा योगदान दिनु ठूलो कुरा भएकाे उहाँकाे भनाइ छ। 

अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बसोबास गर्ने नितिन भिश्रको ‘म र म’ पहिलो नेपाली उपन्यास हो । व्यावसायिक रुपमा सूचना प्रविधिको क्षेत्रमा विगत १० वर्षदेखि कार्यरत मिश्र नेपाली साहित्यमा रुचि राख्नु हुन्छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया