‘पानी नपर्नु र डढेलो लाग्नु प्रदूषणको मुख्य कारण’, सकेसम्म घरबाहिर ननिस्कन आग्रह

 वैशाख ३, २०८० आइतबार १६:१६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – वातावरण विभागले जङ्गलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको बताएको छ ।

आइतवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदूषणको मात्रा बढेको बताउनुभएको हो । उहाँले पानी नपर्दा र हावा बहन नसक्दा प्रदूषण एकै ठाउँमा थुप्रिएको बताउनुभयो । उहाँले काठमाण्डाै उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको बताउनुभयो । 

प्रवक्ता पाैडेलले काठमाण्डाै प्रदूषणको पहिलो नम्बरमा पर्‍याेजस्ता समाचारहरू सञ्चारमाध्यममा आइरहेको तर त्यसले ठूलो फरक नपार्ने बताउनुभयो । प्रदूषणको पहिलो, दोस्रो नम्बरमा पर्‍याे भन्ने कुरा प्रचारबाजीको विषयवस्तुमात्रै भएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले वायु प्रदूषण बढेको डढेलोको कारणले हो । अरू वर्षकाे तुलनामा याे हिउँदमा पानी कम पर्दा पनि याे समस्या देखिएकाे छ । स्याटलाइट इमेजबाट हेर्दा बारा, पर्सा र चितवनमा अलि बढी नै तुवाँलो निस्किरहेको छ । त्यो प्रदूषण बाग्मती काेरिडोरबाट काठमाण्डाै प्रवेश गरेको हो । त्यसले नै काठमाण्डाैमा अहिले तुवाँलोको समस्या छ । हावा पनि एकदम कम चलिरहेको छ । पानी पनि नपरिरहेको भएर यो समस्या आएको हो । प्रदूषणमा विश्वकै एक नम्बरमा छ भन्ने चाहिँ महत्त्व हुँदैन । प्रदूषणको स्तर धेरै हुँदा पनि हामी २० नम्बरतिर हुनसक्छौँ फेरि कहिलेकाहीँ कम नै छ भने पनि पहिलो हुनसक्छौँ । यो तुलनात्मक अध्ययनमा भर पर्ने कुरा हो । पहिलो, दोस्रो हुने भनेको फेसबुकमा प्रचार गर्नका लागि हो, त्यसले सकारात्मक सन्देश दिन्छ कि दिँदैन भन्ने मतलब नराखिकन गरेका प्रचारबाजी हो । नम्बरमा अर्थ राख्दैन तर काठमाण्डाैकाे वायु प्रदूषण बिग्रिएको छ । अहिलेको अवस्थामा का रेड कलरमा काठमाडौं उपत्यकाको प्रदुषण छ । त्यो भनेको सेन्सेटिभ मानिसहरु सकेसम्म घरबाट बाहिर ननिस्किने र हामी पनि शतर्क हुनुपर्छ । अहिलेको समयमा मास्कको प्रयोग गर्नुपर्छ ।’

प्रवक्ता पौडेलले अहिलेकाे अवस्थामा काठमाण्डाैकाे प्रदूषण 'रेड कलर' मा रहेकाे भन्दै सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, थप सतर्कता अपनाउनुपर्ने र सकेसम्म घरबाहिर निस्किन नहुने बताउनुभयो । घरबाहिर निस्कनै परे मास्ककाे प्रयाेग गर्न उहाँकाे आग्रह छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया