आउँदो आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गरिने

 वैशाख ५, २०८० मंगलबार ७:२५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कृषि सामग्री कम्पनी लिमिटेडले आउँदो आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने भएको छ ।

लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार आउँदो आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायसँगको छलफलपछि निर्णय भएको छ ।

बजेट समयमा विनियोजन नहुँदा हरेक वर्ष रासायनिक मलको कमी हुने गरेको उहाँको भनाइ छ । मल अभाव हुन नदिन आउँदो वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायलाई बेलैमा जानकारी गराएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

मल वितरण निर्देशिका अनुसार लिमिटेडले पाँच हजार तीन सय सहकारी संस्थामार्फत् पालिकाबाट मल बिक्री वितरण गर्दै आएको छ । साल्ट ट्रेडिङले ३० प्रतिशत र लिमिटेडले ७० प्रतिशत मल आपूर्ति गर्दै आएका छन् ।

यस आर्थिक वर्ष किसानलाई रासायनिक मल बढीमा सात लाख मेट्रिक टन र कम्तीमा पाँच लाख मेट्रिक टन आवश्यक छ । चार लाख मेट्रिक टन आउने क्रममा रहेको तर समयमा बजेट विनियोजन नभएका कारण एक लाख मेट्रिक टन कमी हुने देखिएको लिमिटेडका प्रबन्ध सञ्चालक पोखरेलले बताउनुभयो ।

अहिले कृषि सामग्री कम्पनी लिमिटेडमा एक लाख मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र अरू आपूर्ति गर्नका लागि टेण्डर खोलिएको छ । आर्थिक वर्ष २०७८/७९ मा झण्डै एक लाख ७७ हजार पाँच सय छ मेट्रिक टन आपूर्ति गरेकोमा यो आर्थिक वर्षमा अहिलेसम्म खरिद र टेण्डर भएको जम्मा तीन लाख २४ हजार मेट्रिक टनमध्ये एक लाख ३८ हजार एक सय टन भित्रिएको र एक लाख ३६ हजार छ सय टन बिक्री वितरण भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

भारत सरकारबाट खरिद भएको युरियामध्ये आठ हजार दुई सय मेट्रिक टन प्राप्त भएको र २१ हजार आठ सय मेट्रिक टन आउने क्रममा रहेको छ । एक लाख २३ हजार मेट्रिक टन सम्झौता भएको र ४० हजार मेट्रिक टन टेण्डर भएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया