नेपालगञ्ज, भैरहवालगायतका ठाउँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्याे, काठमाण्डाैमा ३२ डिग्री माथि

 वैशाख ५, २०८० मंगलबार १७:५४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – देशको तराई तथा मध्यपहाडी क्षेत्रमा गर्मी बढेको छ । पछिल्लो केही दिनदेखि गर्मी बढेको हो । नेपालगञ्ज, भैरहवा, जनकपुर, सिमरालगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै भएको छ । ती क्षेत्रमा न्यूनतम तापक्रमसमेत २० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

दिपायल, धनगढी, वीरेन्द्रनगर, घोराही, विराटनगरलगायतका क्षेत्रमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ । आज काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । अधिकतम र न्यूनतम तापक्रम दुवै बढेका कारण देशका सबैजसो ठाउँमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गर्मीसँगै देशभर वायु प्रदूषण पनि बढेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका सबैजसो सहरी क्षेत्रमा राखिएका वायु प्रदूषण मापन केन्द्रहरूले हावाको गुणस्तर खराब अवस्थामा पुगेको देखाइरहेका छन् । गर्मीसँगै डढेलो पनि बढेको छ । बितेको २४ घण्टामा देशका दुई सय ३६ ठाउँमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जनाएको छ । केही दिनदेखि तराईका क्षेत्रमा फैलिएको डढेलो मध्यपहाड हुँदै उच्चपहाडतर्फ पनि बढिरहेको छ । बढ्दो गर्मी, डढेलो र उच्च वायु प्रदूषणका कारण जनजीवन प्रभावित भएको छ । यो समस्या कम हुन पानी पर्नु आवश्यक रहेको वातावरण विज्ञहरू बताउँछन् ।

देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिएको भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका जिल्लामा कतै–कतै सामान्य पानी परे पनि डढेलो निभाउने तथा प्रदूषण कम गराउने खालको वर्षाको सम्भावना तत्काल नदेखिएको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया