३१ जिल्लाका २ सय ३४ ठाउँमा डढेलाे, प्रदूषण र गर्मी कायमै

 वैशाख ६, २०८० बुधबार १९:११:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनदेखि फैलिरहेको डढेलो आज (बुधवार) झनै बढेको छ । यस बेला देशका ३१ वटा जिल्लाका दुई सय ३४ ठाउँमा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ ।

विभागका अनुसार दाङमा मात्रै ४२ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै प्युठानका २८, अर्घखाँचीका १६, सुर्खेतका १६ र मकवानपुरको १४ ठाउँमा डढेलो लागिरहेको छ । गएकाे २४ घण्टामा देशका तीन सय ७९ ठाउँमा डढेलो लागेको छ भने एक हप्तामा सात सय ६३ ठाउँमा डढेलो लागिसकेको छ । केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।

डढेलोसँगै प्रदूषण पनि उच्च भएको छ । केही दिनयता काठमाण्डौ उपत्यकासहित तराई तथा देशको मध्य र पूर्वी भागमा बाक्लो तुवाँलोको तह देखिएको छ । यो वायु प्रदूषण भएको वातावरण विभागले जनाएको छ । 

यसैबीच आज पनि देशभर गर्मी कायमै रहेको छ । केही दिनदेखि बढिरहेको गर्मी आज पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भैरहवाको अधिकतम तापक्रम आज ४२ दशमलव दुई डिग्री सेल्सियस भएको छ । भैरहवाको अधिकतम तापक्रम हिजो (मङ्गलवार) ४२ दशमलव चार डिग्री सेल्सियस पुगेको थियो । यस्तै नेपालगञ्ज, सिमरा, जनकपुरलगायतका ठाउँको तापक्रम आज पनि ४० डिग्री सेल्सियसभन्दा बढी रहेको छ । दिपायल, धनगढी, विराटनगरलगायतका ठाउँको तापक्रम पनि ४० डिग्री सेल्सियस नजिक पुगेको छ ।

यस्तै आज काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव आठ डिग्री सेल्सियस पुगेको छ । हिजो काठमाण्डाैकाे अधिकतम तापक्रम ३२ दशमलव सात डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार अप्रिलमा काठमाण्डाैकाे औसत तामक्रम २८ दशमलव दुई डिग्री सेल्सियस हुने गरेको छ । आजको तापक्रम औसतभन्दा चार दशमलव छ डिग्री सेल्सियसले धेरै हो ।

यसैबीच विभागले काठमाण्डाैमा तत्काल पानी पर्ने सम्भावना नरहेको जनाएको छ । भोलि बेलुकादेखि मौसम बदली रहने र बादल लाग्ने सम्भावना रहेकोले त्यसले तापक्रम केही घटाउने विभागको अनुमान छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली र केही ठाउँमा सामान्य वर्षाको सभ्भावना रहेकोले ती क्षेत्रको गर्मी केही घट्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया