उपचुनाव : चितवनमा रविलाई पहिलेको मत जोगाउन चुनौती, तनहुँमा स्वर्णिम र बारामा खरेलको पनि उस्तै चर्चा

 बैशाख ७, २०८० बिहिबार १९:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

आउँदो १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा हुन लागेको उपचुनावले राष्ट्रिय राजनीतिलाई नै तताएको छ । गएकाे मङ्सिर ४ गतेको चुनाव जितेर उपप्रधान एवम् गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामेछानेको चुनावी क्षेत्र चितवन–२ अझ बढी चर्चामा छ ।

मङ्सिर ४ गतेको चुनावबाट रास्वपा प्रत्यक्षमा सात तथा समानुपातिकमा १३ गरी २० सिट जितेर संसदमा चौथो शक्तिको रूपमा देखा परेको थियो । पार्टी सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो । तर दोहोरो नागरिकता प्रकरणमा लामिछानेलाई सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो । लामिछानेले पुनः नागरिकता प्राप्त गरी दोस्रो पटक उम्मेदवार बनेका कारण पनि चितवन–२ विशेष चर्चामा छ ।

तनहुँ–१ पनि उसैगरी चर्चामा छ । यसै क्षेत्रबाट चुनाव जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपचुनाव हुन लागेका कारण चर्चित बनेको होइन । रास्वपाका उम्मेदवार अर्थविद् डा. स्वर्णिम वाग्लेका कारण यो क्षेत्र पनि चर्चामा आएको हो । योजना आयोगका पूर्वउपाध्यक्ष एवम् मङ्सिर ४ गते भएको चुनावमा नेपाली कांग्रेसको चुनावी घोषणापत्र मस्यौदा समितिको संयोजककारूपमा रहेका वाग्ले कांग्रेस छोडेर रास्वपाबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

बारा–२ चाहिँ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पुनः उम्मेदवार भएकाले चर्चित बनेको छ । यादव मङ्सिर ४ गते भएको चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग सप्तरी–२ मा पराजित हुनुभएको थियो । जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा–२ मा उपचुनाव हुन लागेको हो ।  

चितवन–२ मा त्रिपक्षीय प्रतिस्पर्धा

सधैँ अरूलाई प्रश्न सोधेर हायलकायल बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई गएको मङ्सिर ४ गतेको चुनावमा जति अरूको प्रश्नको उत्तर दिनुपरेको थियो अहिले वैशाख १० गते हुन गइरहेको चुनावमा त्योभन्दा धेरै प्रश्नको उत्तर दिनु परिरहेको छ ।

अदालतले लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा दोषी ठहर गरेपछि लामिछानेकै कारण उपचुनाव हुन गइरहेको भन्ने आरोप लगाइरहेका छन् भने पछिल्लो समय रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको अडियो टेप प्रकरण, लामिछानेको चालक छतबाट खसेर गम्भीर घाइते भएकादेखि दोहोरो राहदानीका सन्दर्भमा मुद्दा नचलाउन अहिलेको गठबन्धन सरकारलाई समर्थन दिएको सन्दर्भमा हरेक कोणसभादेखि सामाजिक सञ्जालसम्म पनि उहाँले उत्तर दिनु परिरहेको छ ।

गएको मङ्सिरमा भएको चुनावमा लामिछाने प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठभन्दा ३४ हजार दुई सय ८१ बढी मत ल्याएर विजयी हुनुभएको थियो । अहिले भने उहाँकै विषयमा धेरै प्रश्नहरू उठेको र उहाँकै कारण उपचुनाव हुन लागेको भन्ने विपक्षी दलको प्रचारबाजीका कारण रास्वपाका लागि सोचेजस्तो सजिलो छैन । उपचुनावमा कांग्रेसबाट पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेका जिल्ला अध्यक्ष एवम् युवा नेता नारायणप्रसाद न्यौपाने उम्मेदवार हुनुहुन्छ ।

अघिल्लो चुनावमा लामिछानेले राम्रो भोट ल्याएको कालिका नगरपालिकाका स्थायी बासिन्दा श्रेष्ठ तथा भरतपुर महानगरपालिकामा राम्रो पकड भएका एमालेका नेता न्यौपाने दुवै स्थानीय बासिन्दा एवम् युवा उम्मेदवार भएका कारण पनि रास्वपाले यसअघि आफूले ल्याएको मत जोगाउन निकै मुस्किल पर्ने देखिन्छ ।

मङ्सिर ४ गतेको चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार नाै सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ६७ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेसले आफ्ना महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई चुनावी मोर्चा सम्हाल्न चितवनमा खटाएको छ । एमालेले गोकुल बाँस्कोटालाई खटाएको छ भने अन्य केन्द्रीय तहका नेताहरूको चितवन दौडाहा पनि राम्रै छ । यसअघि सहरी क्षेत्रबाट कम भोट पाएका कारण कांग्रेस र एमाले यस पटक सहरी क्षेत्रमा बढी केन्द्रित भएका छन् भने रास्वपा भने यसअघि ग्रामीण क्षेत्रमा कम भोट पाएका कारण ती क्षेत्रमा बढी केन्द्रित भएको छ । 

तनहुँ–१ मा कांग्रेस र रास्वपा को बलियो ?

तनहुँ–१ कांग्रेसको गढकोरूपमा चिनिन्छ । गएको मङ्सिरमा भएको चुनावमा वर्तमान राष्ट्रपति एवम् कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार तीन सय १३ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार नाै सय २५ मत ल्याउनुभएको थियो । त्यस बेला कांग्रेसका बागी तथा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८ मत ल्याउनुभएको थियो । रास्वपाका विकास सिग्देलले छ हजार ३२ मत ल्याउनुभएको थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थ विज्ञकोरूपमा परिचय बनाएका स्वर्णिम वाग्ले कांग्रेस छोडेर उम्मेदवार बनेपछि अहिले भने यहाँको अवस्था भिन्न छ । युवा नेतृत्वको चर्चा चलिरहेको तथा वैकल्पिक शक्तिको उदय हुनुपर्छ भनेर आफूलाई चिनाइरहेको रास्वपाबाट उम्मेदवार बनेका कारण पनि वाग्लेको पक्षमा वातावरण राम्रो बनेको छ । तर टिकट नदिएका कारण कांग्रेस त्यागेको तथा पहिले राम्रो अवसर दिँदा दिँदै पनि कांग्रेस छोडेको भन्ने आरोपका कारण वाग्लेलाई सोचेजस्तो सहज भने छैन । 

यस क्षेत्रमा कांग्रेसका तर्फबाट युवा नेता गोविन्द भट्टराई उम्मेवार हुनुहुन्छ । स्थानीय क्षेत्रमा भिजेका नेताको परिचय बनाउनुभएका भट्टराईलाई माओवादी र समाजवादीले पनि समर्थन गरेका कारण जित हुनेमा विश्वस्त देखिनुहुन्छ । कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू तथा पार्टी र गठबन्धन दलका अन्य नेताहरू पनि भट्टराईलाई मत माग्न तनहुँ आएर कोणसभा गर्दै कांग्रेसको पक्षमा वातावरण बनाएका कारण कांग्रेस विजयी हुनेमा आश्वस्त देखिन्छ । त्यसमा कांग्रेसको गढकोरूपमा पनि परिचित भएका कारण तनहुँ–१ मा यस पटक पनि आफूहरूकै जित हुनेमा कांग्रेसका नेता कार्यकर्ता ढुक्क देखिन्छन् ।

एमालेका तर्फबाट पूर्व प्रहरी निरीक्षक सर्वेन्द्र खनाल उम्मेदवार हुनुहुन्छ । उहाँले पनि प्रचार अभियानलाई तीव्रता दिनुभएको छ । यस क्षेत्रमा आफूहरूको पनि राम्रो पकड रहेको भन्दै एमाले नेताहरू खनालकै जित हुने दाबी गर्छन् ।

अहिलेसम्म कांग्रेसका बागी नेताकारूपमा परिचित गोविन्दराज जोशीले कसलाई सहयोग गर्ने भन्ने खुलेको छैन । जोशीसँग प्रायः सबै उम्मेदवारले भाेट मागे पनि कांग्रेसको बागी मतकारूपमा उहाँले रास्वपालाई सघाउने आँकलन गरिएको छ । 

बारा–२ मा यादव र कुशवाहासँगै रमेश खरेलको चर्चा

जसपाका अध्यक्ष उपेन्द्र यादव जसरी पनि संसदमा छिर्न चाहनुहुन्छ । मङ्सिर ४ गते जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतले पराजय भोगेपछि उहाँ अहिले त्यसको क्षतिपूर्ति एवम् राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका छ भन्ने देखाउन पनि बारा–२ बाट चुनाव जित्ने दाउमा हुनुहुन्छ । मङ्सिरको चुनावबाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफ्ना लागि ठाउँ खाली गराएको भन्ने आरोपसमेत यादवलाई लाग्ने गरेको छ ।

कांग्रेस, माओवादीलगायतका दलले समर्थन गरेका कारण पनि यादव धेरै आशावादी देखिनुहुन्छ । अझ त्यसमा मङ्सिर ४ गते भएको चुनावमा जसपाकै उम्मेद्वारले विजय हासिल गरेको र तराईमा जातिवादी भोटले प्रभाव पार्ने कारणले पनि जसपा बढी आश्वस्त देखिएको हो ।

मङ्सिरमा जसपाका सांसद रामसहाय १३ हजार आठ सय २२ मत ल्याएर विजयी हुनुभएको थियो भने प्रमुख प्रतिस्पर्धीकोरूपमा माओवादीले १३ हजार चार सय ६८ मत ल्याएको थियो । अहिले कांग्रेस, माओवादी दुवैले जसपालाई समर्थन गरेका छन् ।

यति हुँदा हुँदै पनि जसपा जित्नेमा भने ढुक्क छैन । कारण मधेसमा जनमतमको सशक्त उपस्थिति । मङ्सिरको चुनावमा सप्तरी–२ मा यादवलाई जनमतका अध्यक्ष राउतले भारी मतले पराजित गरेपछि अहिले जनमत आत्मविश्वासी देखिएको छ । त्यस बेला जसपाका प्रमुख प्रतिस्पर्धी माओवादीका शिवचन्द्र कुशवाहा अहिले जनमत पार्टीबाट उम्मेदवार बन्नुभएको छ ।

यस क्षेत्रका अर्का चर्चित उम्मेदवार हुनुहुन्छ रास्वपाका रमेश खरेल । पूर्व प्रहरी अधिकृत खरेलले वीरगञ्जमा बस्दा राम्रो काम गरेका कारण उहाँको यस क्षेत्रमा चर्चा राम्रै छ । अहिले वैकल्पिक शक्तिकोरूपमा हेरिएको तथा सभापति रवि लामिछानेको चर्चाका कारण पनि रास्वपा चर्चाको केन्द्रमा नै छ । यस कारण पनि खरेलले राम्रै मत ल्याउने अनुमान गरिन्छ ।

यहाँ एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार हुनुहुन्छ । अरू तीन प्रतिस्पर्धीको तुलनामा उहाँको चर्चा कम देखिएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया