काठमाण्डौ महानगरले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने

 वैशाख ९, २०८० शनिबार ८:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीले शुक्रवार किताब बोकेर विद्यालय जानुपर्ने छैन तर उनीहरु नियमित समयमै विद्यालय जानेछन् । उनीहरुलाई अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान दिइनेछ ।

हरेक सामुदायिक विद्यालयले यो कार्यक्रम लागू गर्ने महानगरको भनाइ छ । कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई सञ्चालन गर्ने योजना छ । अहिले विद्यार्थी भर्ना अभियान चलिरहेको छ । काठमाण्डौ महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनका लागि महानगरले हरेक सामुदायिक विद्यालयलाई पत्राचार गरिसकेको छ । यसअघि विद्यालयले हरेक शुक्रवार एक बजेपछि अतिरिक्त क्रियाकलाप गर्ने गरेका थिए । यसलाई पूरा दिन गर्ने र सबै शुक्रवार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको हो ।

अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूहगत छलफलका क्रियाकलाप गर्दैै रमाउँदै कार्यक्रम सञ्चालन गरिनेछ । साथै खाना पकाउने, व्यक्तिगत र घर सरसफाइका कलासहित अन्य व्यावहारिक ज्ञानका विषय समावेश गरिनेछ ।

कार्यतालिका नै बनाएर शुक्रवार खेतबारीको स्थलगत अवलोकन पनि गराइनेछ । सुरुआती चरणमा सामुदायिक विद्यालयमा मात्रै कार्यक्रम सञ्चालन भए पनि पछि निजी विद्यालयमा पनि विस्तार गर्ने योजना रहेको महानगरले जनाएको छ ।

कार्यक्रम सञ्चालन गर्न महानगरले हरेक माध्यमिक विद्यालयलाई एक लाखका दरले बजेट वितरण गरिसकेको छ । काठमाण्डौ महानगरमा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्छन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।   

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Yashu Shrestha

    April 24, 2023, 10:18 a.m.

    बुक फ्रि हाेइन कि टेक्स्ट बुक फ्रि भन्नुपर्ला । अझ नेपालीमै भने राम्राे, पाठ्यपुस्तक बिनाकाे शुक्रबार । यस दिन के के गर्ने ? कसरी गर्ने र यसकाे सिकाइ उपलब्धि के के हुने पनि तय गर्नुपर्ला है केही रूपमै भए पनि । पाठ्यपुस्त बिनाकाे बिद्यालयचाहिँ हाम्राे चाहाना र अभियान पनि हाे । यसमा सहयाेग भएकै देख्याैँ । यसका लागि धेरै धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया