चितवन र तनहुँमा पर्ने मुख्य राजमार्गमा सार्वजनिक गाडी चलाउन रोक : बारामा लामो दूरीकाबाहेक अन्य गाडी नचल्ने

 वैशाख १०, २०८० आइतबार ७:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन क्षेत्र नम्बर २ मा उपचुनावकाे सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भरतपुरको चौबिसकोठीमा चेकिङ्ग गर्दै । तस्बिर : रासस

काठमाण्डाै - उपचुनावका लागि चितवन र तनहुँमा पर्ने मुख्य राजमार्गमा आज सार्वजनिक गाडी चलाउन रोक लगाइएको छ । त्यस्तै बारामा पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज राजमार्गमा लामो दूरीकाबाहेक अरु गाडीलाई बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज अत्यावश्यकबाहेक अन्य गाडी चलाउन रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उपचुनाव हुने क्षेत्रका राजमार्ग एवं भित्री सडकमा गाडी चलाउन रोक लगाइएको छ । चितवन–२ मा पर्ने राजमार्गसहितका सबै सडकमा अत्यावश्यक सेवा एम्बुलेन्स र दमकलबाहेकका अन्य गाडी चल्न रोक लगाइएको छ । तर यसअघि प्रशासन कार्यालय चितवनले राजमार्गमा गुड्ने लामो दूरीका गाडीलाई चल्न दिने बताएको थियो ।

गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार पछिल्लो निर्णय भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभएको छ । चितवन–२ मा पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् । यो निर्णयसँगै राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाण्डौ–पोखरातर्फ जाने लामो दूरीका गाडी पनि सञ्चालन हुन नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँले पनि आज पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले निकाल्नुभएको सूचनामा आज बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म राजमार्गमा समेत गाडी चलाउन नपाइने उल्लेख छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीसहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।  

यस्तै, बारामा पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज राजमार्गमा लामो दूरीकाबाहेक अरू अरु गाडीलाई बन्द गरिएको छ । बारामा नेपाल–भारत ६५ किलोमिटर सीमानाका बन्द गरिएको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान सुरु भएको छ । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदाताले बेलुका ५ बजेसम्म मतदान गर्न पाउनेछन् । उपचुनाव भइरहेका क्षेत्रमा आज सार्वजनिक बिदा छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया