चितवन र तनहुँका सडकमा दिनभर गाडी बन्द, बेलुकी ६ बजेपछि खुल्ने

 वैशाख १०, २०८० आइतबार १२:३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - उपचुनावका कारण चितवन र तनहुँका सडकमा लामो र छोटो दूरीका सबै गाडी चलाउन रोक लगाइएको छ ।

बारामा भने लामो दूरीका गाडी सञ्चालन गर्न दिइएको छ । चितवन र तनहुँमा पर्ने पृथ्वी र पूर्व पश्चिम राजमार्ग लगायतका मुख्य सडक र अरु सहायक सडक खण्डमा भने अत्यावश्यक बाहेक कुनै पनि गाडी चलेका छैनन् ।

आज बिहान ६ बजेदेखि चितवनको क्षेत्र नम्बर–२ छुने सडक खण्ड धादिङ र नवलपरासीमा गाडी रोकिएका छन् । नवलपरासीतर्फ गैँडाकोट, रजहर र कावासोतीमा पनि गाडी रोकिएका छन् । त्यस्तै, मकवानपुरको हेटौँडा भएर चितवन चल्ने गाडीलाई पनि रोकिएको छ । ५ बजे चुनाव सकिएपछि बेलुका ६ बजेपछि मात्रै गाडी चल्ने ट्राफिक प्रहरीले जनाएको छ । अत्यावश्यक सेवाका गाडी एम्बुलेन्स, फोहर उठाउने, दूध बोक्ने तथा अनुमति लिएका गाडी भने चलेका छन् ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार पूर्व सूचना दिएर आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चितवन–२ मा पर्ने राजमार्ग एवं भित्री सडकमा गाडी चलाउन रोक लगाइएको हो । चितवन–२ मा पूर्व–पश्चिम महेन्द्र राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् ।

राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाण्डौ–पोखरातर्फ जाने लामो दूरीका गाडी चल्न नपाउँदा यात्रु मर्कामा परेका छन् । तर बेलुका ६ बजेपछि सार्वजनिक गाडी चल्न पाउनेछन् । यस्तै जिल्ला प्रशासन कार्यालय तनहुँले पनि पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीसहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिनुभयो ।

बारामा भने पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज राजमार्गमा लामो दूरीका गाडी सञ्चालन गर्न दिइएको छ । अरू गाडी भने बन्द छन् । बारामा नेपाल–भारत ६५ किलोमिटर सीमानाका पनि बन्द गरिएको छ । आज चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान भइरहेकोले ती क्षेत्रमा भने सडकमा गाडी सञ्चालनमा रोक लगाइएको हो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया