सशस्त्र प्रहरीका सईको मृत्यु प्रकरणमा दुई जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
डाेटी – कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरू जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि अछामका विभिन्न पालिकामा पुनर्भरण पोखरी (रिचार्ज पोखरी) निर्माण गर्न थालिएको छ ।
पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (ईबीए) द्वारा यहाँका विभिन्न पालिकामा पानीका मूल फुटाउने प्रयोजनका लागि यस्ता पोखरीहरू निर्माणको कार्यक्रम अघि सारिएको हो । यस प्रयोजनका लागि यहाँका कतिपय पालिकामा पुनर्भरण पोखरी निर्माणको काम सुरु भइसकेको र केहीमा निर्माण आयोजनाहरू तय भएका जानकारी दिइएको छ ।
अछामको साँफेबगर नगरपालिका–१३ बाब्लामा ईबीएको सहयोगमा रिचार्ज पोखरी निर्माण गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस आयोजनाबाट विनियोजन भएको ५५ लाख र १९ लाख ६४ हजार जनश्रमदान गरी ७४ लाख ६४ हजार रुपैयाँकाे लागतमा निर्माण भएको रिचार्ज पोखरीबाट एक सय तीन घरधुरी लाभान्वित भएका वडाअध्यक्ष रुपबहादुर कुँवरले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनले पानीका मुहान सुक्दै जाने तथा खडेरी पर्नेजस्ता वातावरणीय समस्या देखिँदै आएको र पानीलाई केही समय रोकेर राख्दा जमिनमुनि पानीको भण्डार बढ्ने र पानीको स्रोत संरक्षण हुने भएकाले पानीका मूल फुट्न सक्ने बताइएको छ ।
त्यसैगरी तल्लो तटीय क्षेत्रका पानीका मुहान बढ्ने, वन जङ्गलसँगै वन्यजन्तु र जङ्गली जनावरको समेत संरक्षण हुने भएकाले पहाडी भेगका लागि जलवायु परिवर्तनको प्रभाव कम गर्ने उत्तम विधि रिचार्ज पोखरी भएको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (ईबीए) का राष्ट्रिय शिक्षाविज्ञ दीपेन्द्र जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अछाममा गाईभैँसीपालनदेखि भूक्षय रोक्न उपयोगी नेपियर घाँसको बिउ किसानलाई उपलब्ध गराइएको छ । ईबीएद्वारा प्राप्त नेपियर घाँसको बिउ पाएपछि साँफेबगर नगरपालिका बाब्लाका केही किसानले बाँझो जमिनको सदुपयोग गर्दै घाँस खेती गरेका स्थानीयवासी कविराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार घाँस खेतीले गाईवस्तु पाल्न सहजमात्रै भएको छैन, भिरपाखातिर जोखिममा घाँस काट्ने समस्या पनि टरेको छ ।
ईबीएले अछामको मेललेख गाउँपालिका–१ रिसिदहमा किसानलाई आलुको बिउसमेत वितरण गरेको छ । आलु समथर मैदानी भू–भागदेखि चिसो पहाडसम्म उत्पादन हुन्छ । मेल्लेख गाउँपालिका–१ र २ मा केही किसानलाई आलु उत्पादनका लागि बिउ वितरणसँगै प्राविधिक सहयोगसमेत गरिएको ईबीएका अछाम जिल्ला संयोजक भोला ढकालले जानकारी दिनुभयो ।
अहिले विश्वमा हुने हरित गृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ० दशमलव ०२५ प्रतिशत रहेको छ । कार्बनडाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखापरेको डिभिजन वन कार्यालय अछामका प्रमुख भोजराज शर्माले बताउनुभयो । उहाँका अनुसार अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनालाहरू पनि कालान्तरमा सङ्कटमा पर्ने खतरा रहेको जलवायु परिवर्तनसम्बन्धी विषयका जानकारहरु बताउँछन् ।
नेपालमा पनि यसको प्रभाव कम गर्नका लागि प्रत्येक घर र कार्यालयमा कम्तीमा पनि एउटा रुख रोप्न सक्ने हो भने यसबाट धेरै फाइदा पुग्ने बताइन्छ । त्यसैगरी सडकको दायाँ–बायाँका किनारामा वृक्षरोपण गर्न आवश्यक रहेको विज्ञहरू बताउँछन् । चुरे पहाडको संरक्षणका लागि पनि त्यत्तिकै ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । लगाताररूपमा चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भू–सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ । देशभरि नै वातावरणमैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्ने आजको आवश्यकता रहेको जलवायु विज्ञको भनाइ छ ।
हरित गृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय भएको बताइएको छ । ऊर्जाका रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्य शक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक रहेको वन तथा वातावरण विभागका महानिर्देशक देवेश त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार पृथ्वीमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित सहरीकरण र तीव्र औद्योगिकीकरणले अनेक समस्या निम्त्याएको छ । यिनै समस्याहरूको न्यूनीकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन पहिलो जरुरी रहेको छ ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थलका रूपमा रहेको अछामकाे रामारोशन ताल संरक्षणका लागि ईबीएले जनचेतनामूलक कायर्मक्रमहरू सञ्चालन गर्दै आएको छ । हावापानीका दृष्टिले लेकाली भेकमा रहेको रामारोशन ताल संरक्षणका लागि आउँदा दिनमा बृहत्तर कार्य योजना लागू गर्ने गरी काम गरिने ईबीएका राष्ट्रिय शिक्षाविज्ञ जोशीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।