सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि इतिहासकै धेरै आरोहीले अनुमति लिएका छन् । सगरमाथामा आज बुधवारसम्म चार सय ६३ जनाले आरोहण अनुमति लिएका र यो अहिलेसम्मकै धेरै रहेको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका संयोजक युवराज खतिवडाले जानकारी दिनुभयो ।
यसअघि सबैभन्दा धेरै सन् २०१९ मा तीन सय १५ जनाले आरोहण अनुमति लिएका थिए । कोरोना महामारीका कारण प्रभावित भएको पर्यटन व्यवसाय लयमा फर्कँदै गर्दा पर्वतारोहणसम्बन्धी व्यवसायले भने इतिहासकै 'रेकर्ड' तोड्दै उत्साहित बनाएको खतिवडाले बताउनुभयो ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणको अनुमतिबापत मात्रै ६५ करोड तीन लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । अनुमति लिएकामध्ये नेपालका १२ जना र बाँकी विदेशी नागरिक हुन् । सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर रोयल्टी बुझाउनुपर्छ । यस्तै नेपालीले ७५ हजार रुपैयाँ रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ ।
आधार शिविरमा पुग्दै आरोही
अनुमति लिएका आरोहीहरू सगरमाथालगायतका हिमालको आधार शिविरमा पुग्ने क्रम चलिरहेको छ । अन्नपूर्णलगायतका केही हिमालमा आरोहण सुरु भइसकेको छ भने विशेष आकर्षण र धेरै आरोही रहेको सगरमाथाको आधार शिविरमा आरोहीहरू आफूहरूलाई उचाइमा अनुकूल बनाउने प्रयास गर्न थालेका निर्देशक खतिवडाले बताउनुभयो । सगरमाथा आारहेणका लागि आरोहीहरू झन्डै एक महिना आधार शिविरमा बिताउँछन् । आधार शिविरमा रहँदा उनीहरू दोस्रो शिविरसम्म पुग्ने र फर्कने गरेर आफूलाई उचाइमा अनुकूल बनाउने प्रयास गर्दछन् । अहिले सगरमाथाको आधार शिविर रङ्गीचङ्गी टेन्टले भरिएको सुन्दर सहरजस्तै बनेको छ ।
सगरमाथा आधार शिविरमा सरकारको कार्यालय
यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले सगरमाथाको आधार शिविरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यसअघिका वर्षहरूमा सगरमाथामा विभिन्न गैरकानुनी क्रियाकलाप हुने गरेको तथा विभिन्न आरोही समूहबीच झगडासमेत हुने गरेको गुनासो आउने गरेकोमा त्यसलाई निगरानी र नियन्त्रण गर्न सम्पर्क कार्यालय नै स्थापना गरेको विभागका निर्देशक युवराज खतिवडाले बताउनुभयो ।
सगरमाथामा अनुमति नलिएकाहरूले विभिन क्रियाकलाप गरेको तथा आरोहण नै नगरि नक्कली कागजात बनाएर आरोहण पूरा गरेको प्रमाणपत्र लिएकोसम्म घटनाहरू बाहिरिएपछि विभागले यस पटक कार्यालय नै स्थापना गरेको हो । यस्तै विभागले खटाएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगेको गुनासोको समेत समाधानका लागि कार्यालय स्थापना गरेको विभागले जनाएको छ ।
नेपालका हिमालमा एक हजारभन्दा बढी आरोही
यस वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि आजसम्म २४ वटा हिमालमा एक हजार ४६ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ७३ करोड ५४ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । सरकारले नेपालका चार सय २९ वटा हिमाल आरोहणका लागि खुला गरेको भए पनि यस पटक आरोहीले २४ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका छन् ।
तस्बिर : सेभेन समिट ट्रेक्स
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।