मुगुको पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता, खोजीका लागि टोली पुग्दै

 बैशाख २४, २०८० आइतबार ७:३७:५७ | नेत्र शाही
unn.prixa.net

प्रतीकात्मक तस्बिर

जुम्ला – मुगुको पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता भएका छन् । मुगूम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा उनीहरु बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीका अनुसार मुगु र डोल्पाको सीमामा रहेको पाटन च्यार्खु लेखमा बेपत्ता हुनेमा जुम्ला पातारासी–२ तल्फि गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्ण सिंह सार्की र ३६ वर्षका बीर बोहोरा रहेका छन् ।

पातारासीका यार्सा टिप्न गएमा १५ जनामध्ये ३ जना हिमपहिरोमा पुरिएको जानकारी आएपछि खोजीका लागि आज इलाका प्रहरी कार्यालय मुगुबाट टोली खटिएको प्रहरी निरीक्षक पन्थीले जानकारी दिनुभयो । तर टोली पुग्न नै तीन दिन लाग्ने र हिमपात पनि भैरहेकाले समस्या भएको उहाँको भनाई छ ।

उहाँका अनुसार तीन जना शुक्रवार नै हिमपहिरोमा पुरिएका भए पनि ढिला गरी जानकारी प्राप्त भएको हो । स्थानीय बासिन्दाले तत्काल खोजी र उद्धारका लागि माग गरेका छन् ।

गएको मंगलवार दार्चुलाको व्यास गाउँपालिका– १, भोलुङमा हिमपहिरो जाँदा यार्सागुम्बा टिप्न गएका पाँच जना बेपत्ता भएका थिए ।

बेपत्ता पाँच जनामध्ये दुई महिला र एक पुरुष गरी तीन जनाको शव भेटिएको थियो भने दुई जनाको अवस्था अझै थाहा हुन सकेको छैन । 

उनीहरुको खोजी भैरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया