काठमाण्डौसहित धेरै ठाउँमा आज पनि बिहानैदेखि घाम चर्कियो, गर्मी बढ्दै

 वैशाख २४, २०८० आइतबार ८:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज पनि  बिहानैदेखि घाम चर्किएको छ ।

पश्चिमी वायु कमजोर बनेसँगै घाम चर्किन थालेको मौसमविद् संजिव अधिकारीले बताउनुभयो । पानी पर्न रोकिएर घाम चर्किन थालेसँगै गर्मी बढ्न थालेको छ ।

अघिल्लो हप्ता लगातार मौसम बदली भइ पानी पर्दा अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियससम्मले घटेको थियो । तर, हिजो अस्तिदेखि फेरि तापक्रम बढ्न थालेको छ ।

तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस भन्दा धेरै छ।

काठमाण्डौमा हिजो अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुगेको थियो । आज पनि २८ देखि ३० डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ । 

काठमाण्डौमा न्यूनतम तापक्रम पनि खासै घटेको छैन । बिहानको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । 

पानी पर्नु भन्दा अगाडि वैशाख पहिलो हप्ता काठमाण्डौको अधिकतम तापक्रम २९ देखि ३० डिग्री सेल्सियस थियो ।

तर, पानी पर्न थालेपछि अघिल्लो हप्ता काठमाण्डौको अधिकतम तापक्रम २१ डिग्री सेल्सियसमा झरेको थियो ।

यस्तै, तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० देखि ४१ डिग्री सेल्सियससम्म पुगेकोमा पानी पर्न थालेपछि ३४ देखि ३५ डिग्री सेल्सियसमा झरेको थियो ।

धेरै ठाउँमा तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् ।

पहाडी क्षेत्रका एक दुई ठाउँमा भने स्थानीय वायुको प्रभावले बेलुकीपख हल्का पानी पर्न सक्ने मौसमविद्को भनाइ छ ।

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया