बाग्लुङमा किसानको बाली जोगाउन ‘बाँदर उद्यान’

 वैशाख २५, २०८० सोमबार १०:३४:४२ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाग्लुङ - जैमिनी नगरपालिका–८ को पुरानो गाउँ वन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरु गरिएको छ । बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले छलफल सुरु गरेकाे हाे । 

जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बाग्लुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने सहमति भएको छ । साथै भेलाले बाँदर पार्क बनाउन आवश्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारलाई  आग्रह गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो । 

भेलामा नगरका मेयर नरबहादुर पुन, उपमेयर हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीयकाे सहभागिता थियाे ।उनीहरुले जैमिनी नगरपालिकाभित्रको बसाइँसराइ रोक्न पनि बाँदर आतङ्क रोक्नुपर्ने बताएका छन् । 

'हामीलाई बाँदरले धेरै दुःख दिएको छ, बालीनाली खाएको छ, नष्ट गरेको छ जसका कारण घरमा खाने केही बाँकी छैन', स्थानीय दुर्गाबहादुर थापाले भन्नुभयो, 'जैमिनी नगरभित्रका बाँदर ल्याएर संरक्षण गरियो भने खेतीपाती लगाएर खान पाइएला ।' हरेक घरमा बाँदरको हेरालो राख्दा पनि बाली जोगाउन नसकिएको उहाँले बताउनुभयो । 

वडा वडामा बाँदरको समस्या भएपछि कतिपय घरै छाडेर बसाइँ सरेका छन् । घरहरु रित्तिन थालेको र खेतीपाती लगाउने क्रम घटेपछि बस्तीमा छिरेर बाँदरले आतङ्क मच्चाउने गरेको स्थानीयकाे गुनासो छ । याेजना अनुरुप नगरपालिकाले डिभिजनसँगको सहकार्यमा डीपीआर बनाउने, लगानीका बाटा खोज्ने र दीर्घकालीनरुपमा बाँदर नियन्त्रण गर्ने लक्ष्य राखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । 

'बाँदर नियन्त्रण गर्न सकियो भने कम्तीमा बसाइँसराइ रोक्न सकिन्छ', उपमेयर हरिहर शर्माले भन्नुभयो, 'दिनदिनै बसाइँ जाने अवस्था भएमा गाउँमा विकास निर्माण पुग्दा बस्ती रित्तो हुनेछन्', खेतबारी बाँझो भएको र आयातको भरमा बाँच्नुपर्दा नगरपालिका दिनदिनै गरिब बन्दै गएकाे छ ।'

कालीगण्डकी करिडोरको छिस्ती सडकदेखि ११ किमी यात्रा गरेपछि पुरानो गाउँ पुगिन्छ । करिडोर कालोपत्रे भएपछि यहाँ पुग्ने सडकस्तरीय बनाउँदा पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने स्थानीय बताउँछन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया