चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
संघीयता खारेज नै गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ । संघीयता खारेज नगर्ने हो भने संघीयताले देश नै खारेज गर्छ । कुनै कुरा नयाँ आउने वित्तिकै नागरिकले बुझ्छन् भन्ने हुन्न । हामीले बुझ्नेहरुले त्यो सम्झाउनु पर्छ । संघीयताकै कुरा गर्नुपर्दा यो हाम्रो देशको लागि उपयुक्त छ कि छैन भनेर नागरिकका अगुवाहरुले बुद्धि पुर्याउने कुरा हो । विचार गर्ने कुरा हो । आम सर्वसाधारण नागरिकले त त्यसबाट असर परेपछि मात्रै थाहा पाउँछन् ।
हामीले २०६४ सालदेखि नै जुनबेला संविधानसभाको पहिलो बैठक बस्यो । सार्वभौमसत्ता सम्पन्न संविधानसभामा नै संघीयताका बारेमा छलफल गराईएन । षड्यन्त्रपूर्वक, दबाबमा खासगरि कांग्रेस, एमाले र माओवादीले संघीयताको भारी बोके । त्यतिबेला संविधानसभामा रहेका २५ दल मध्ये राष्ट्रिय जनमोर्चाले मात्रै यो संघीयता अव्यवहारीक छ भनेर विरोध गर्यो ।
नेपालको सन्दर्भमा संघीय प्रणाली संभव नै हुँदैन भन्ने कुरा राष्ट्रिय जनमोर्चाले त्यतिबेलैदेखि भन्दै आएको हो । धेरैले समर्थन गरे त्यसैले यो त ठिक रैछ भन्ने कुरो हुँदैन । यहाँ त विभिन्न शक्ति राष्ट्रको दवाव, प्रभाव र प्रलोभनले हाम्रा देशका ठूला भनाउदा पार्टीहरुले संघीयताको भारी बोकेका हुन् ।
संघीय प्रणालीमा जाने राजनीतिक आधार, सांगठनिक आधार, भौगोलिक आधार, आर्थिक आधार यो सबै हिसाब गरेर संघीय प्रणाली जानु पथ्र्यो । तर यहाँ त नेपाललाई क्षत–विक्षत गराउने कु नियतबाट विदेशीहरुले भिराईदिएका हुन् । ठूला भनिएका पार्टीहरुले पनि खुसी राजीले यो पार लगाउन सकिने प्रणाली हो भनेर बोकेका होइनन् ।
अहिले त जनताले पनि बुझ्न थालेका छन् । संघीय प्रणाली यसै पनि महंगो प्रणाली हो । खर्चिलो प्रणाली हो । अहिले संघीयताको कार्यान्वयनका लागि जनतामाथि कर थोपर्नु पर्ने स्थिति आएको छ । त्यति बेलै राष्ट्रिय जनमोर्चाले यसबाट राष्ट्रले दुष्परिणाम भोग्नुपर्छ भन्दा जनताले बुझेनन् । उनीहरु भ्रममा परे । तर अहिले कार्यान्वयनमा जाँदै गर्दा साच्चै खराब रैछ भन्ने त अनुभव हुन थालेको छ ।
हिमालबाट, पहाडबाट तराईलाई अलग गर्ने गरि ल्याइएको संघीयता हो यो । जातीय द्वन्द बढाएर यसलाई नाइजेरिया बनाउने मनसायले बोकाईएको संघीयता हो । नेपाली नागरिकको दवावबाट जातीय संघीयता भिराउन, बोकाउन सकेनन् विदेशीहरुले । विशेष गरि युरोपियन र अमेरिकनहरुले । त्यसमा उनीहरुको केही लागेन । तर भारतीय डिजाइनको संघीयता त बोक्नु पर्यो नि राष्ट्रले । तराईका ८ वटा जिल्ला त अहिले पनि हिमाल पहाडबाट अलग गरे त ।
उनीहरुको लगातारको प्रयास भनेको तराईलाई हिमाल पहाडाबाट अलग गर्ने र कालान्तरमा सिक्किमिकरण गर्ने नै हो । प्रदेशलाई स्वतन्त्र बनाउने र उसले आफ्नो सिमाना आफै टुग्याउन पाउनु पर्छ भन्ने जस्तो अधिकार खोज्नु भनेको सिक्किमिकरण भन्दा अरु हो र ?
प्रदेश नम्वर २ त आफ्नै प्रहरी राख्नु पर्यो भनेर विधेयक नै षड्यन्त्र गरेर पारित गरिसकेको छ । अब सेना पनि हाम्रै हुनु पर्छ, पुलिस हाम्रै, कर्मचारी हाम्रै हुनु पर्छ भनेर उसले यस्ता विधेयक ल्याउँछ । तपाई हेर्दै जानुस । जसले भारतीय विस्तारबादको विरोध गर्छ तिनलाई आतंककारी हो भन्दै समातेर थुन्न पाइयोस भनेर नै प्रहरी राख्ने विधेयक आएको हो त्याहाँ । भित्री नियत नै त्यही हो ।
त्याहाँ कति भूमिहीन किसान छन् । दलित र पिछडिएका वर्ग कति छन् कति । तर उनीहरुको कुरै हुँदैन । भूमिसुधारको कुरा गर्नु भयो भने यो त पहाडियाको कुरा हो भन्छन् त्याहाँका जमिन्दारहरुले । जमिन्दारहरुले आफ्नो जमिन्दारीलाई कायम गराउनका लागि र कालान्तरमा सिक्किमिकरण गर्ने डिजाइनका अनुसार भारतको योजनामा यो काम भइरहेको हो । तराईलाई हिमाल पहाडबाट अलग गर्नुपर्छ भन्ने नियत त पृथकतावादहरुकै खेति हो । त्यसका पछाडि भारतीय विस्तारवादकै योजना छ ।
केही दिन पहिले राजपा अध्यक्ष महन्थ ठाकुरले देश टुक्र्याउछु भन्ने सिके राउतसँग पार्टी एकिकरण गर्न खोजेको तपाई हामीले जानकारी पाएकै कुरो हो । नेपाल भन्दा बेग्लै हो मधेस भन्ने अभियान चलाएकासँग पार्टी एकीकरण गर्न मधेसी दलले वार्ता गर्छन । टोक्ने कुकुरको पुच्छरबाटै चिनिन्छ भने झै राजनीति बुझ्नेले पनि यो के भइरहेको हो भन्ने बुझ्न त सक्छन् नि । उनीहरुको चिन्तन् के हो ? के मा वार्गेनिङ गरिरहेका छन् उनीहरु ? संविधान संशोधन गर्न खोज्नुको पछाडिको उद्धेश्य के हो ? भन्ने कुरो त छर्लङ्ग छ नि ।
नेपालको केन्द्रीकृत शामन्त, भ्रष्ट शासनले तराईका जनतामाथि थिचोमिचो गरेको इतिहास सत्य हो । तराई मात्रै नभएर हिमाली, भित्रि मधेस, कर्णालीका जनताले पनि थिचोमिचो भोग्नु पर्यो । अद्यपि त्यो थिचोमिचो अझैसम्म पनि पूर्णतः हट्न सकेको छैन । तराईको कुरा गर्नुपर्दा त्यहीँका सामन्त र जमिन्दारहरुले त्याहाँका दलित, शोषित, उत्पिडित, भूमिहीन, किसान प्रति सबैभन्दा पीडा दिए, उत्पिडन गरे । केन्द्रसँग त त्याहाँका सामन्त, जमिन्दारहरुको सँधै मितेरी साइनो रह्यो ।
दलित, शोषित, उत्पिडित, भूमिहीन, किसान प्रति उनीहरुले कहिल्यै पनि उदार भाव देखाएनन् । दयामाया देखाएनन् । अहिले पनि सामन्ती र शोषण प्रधान समाज कायम गराउन नै उनीहरु लागि परेका छन् । मधेसकै सामन्ति र जमिन्दार यसमा लागिरहेका छन् ।
भिडले सबै कुरा ठिक निर्णय गर्छ भन्ने छैन । नेपालीमाथि पनि संघीयताको भ्रमको खेति छरियो । उनीहरुलाई के लाग्यो भने संघीयताले देश विकास हुन्छ कि ? समृद्ध बन्छ कि ? शोषित पीडितले अधिकार पाउँछन् कि भन्ने भ्रम रह्यो । तर यो संघीयताले त नागरिकलाई झनै बढी पिल्साउने काम भयो । केन्द्र सरकार बनेको ७/८ महिना मात्रै भएको छ । स्थानीयत तह बनेको एक डेढ वर्ष भयो । तर यो छोटो अवधिमा नै जनताले राष्ट्रिय जनमोर्चाले जुन कुरा गर्यो यो त व्यवहारीक रहेछ ।
संघीयता मुलुकले धान्न नसक्ने रहेछ भन्ने कुरा त अहिले जनजनको मुखबाट आउन लाग्यो त । जुन बेलामा राणाशासनको विरुद्धमा केही २/४ जना बाहिर निस्किए । त्यतिबेला जनताले गालि गरे । यत्रो दरबार यतिकै कहाँ पल्टन्छ भन्थे मान्छेहरु ।
मेरै पनि अनुभव छ । जुनबेला निरंकुश पचायतको विरुद्धमा मैले काम गर्न थालें । त्यतिवेला मेरै घरका बाउ आमा, मावला, ससुराल जहाँ गए पनि यो पंचायती व्यवस्था एउटा पहरो हो । यो पहरोलाई कुहिनाले हानेर फोर्न सकिन्न । यो दुस्साहस नगर भनेर मलाई अर्ति दिईरहनु हुन्थ्यो । तर आखिर निरन्तरको प्रयासले ढल्यो त ति व्यवस्थाहरु ।
त्यसकारण कुनै प्रणाली आफूमाथि थोपरिने वित्तिकै नागरिकले ठ्याक्कै बुझ्ने भए त यस्तो अवस्था आउने नै थिएन नि । नागरिकलाई बुझ्न समय लाग्छ । नागरिकले बुझ्न लाग्ने समय सम्ममा देशले ठूलो कुर्वानि गर्नुपर्छ । ठूलो क्षति व्यवहोर्नु पर्ने हुन्छ । तर ढिलो चाँडो नागरिकले बुझेपछि इन्द्रको बाउ चन्द्र आए पनि त्यो प्रणाली रहन्न फ्याकिन्छ । मुख्य कुरो के हो भने संघीयताको आवरणमा नेपाल रहनु पर्यो भन्ने हो ।
हामीले पनि बुझाउन नसकेकै हो । नेपाली नागरिकले पनि बुझ्न सकेनन् । नागरिकको बुझ्न सक्ने चेतना छैन । उनीहरुको चेतनाको स्तर उठेको भए ।
के ठिक के बेठिक भन्ने चेतनाको स्तर रहेको भए त बारम्बार शत्तामा गएर शक्तिमा गएर भ्रष्टाचार गरिरहने, लुटिरहनेलाई फेरी लाईसेन्स दिएर पठाउने थिएनन् नि । त्यसो भएर नागरिकको चेतना स्तर उठाउन र उनीहरुले बुझ्ने समय नै हो लामो ।
यो संघीयता राज्यले धान्नै सक्दैन । प्रदेशको संरचना स्थानीय निकायलाई दिनुपर्छ । एकात्मक प्रणालीमा पनि प्रदेशको व्यवस्था हुन सक्छ । स्थानीयत तहलाई बरु शक्तिशाली बनाउनु पर्छ । अधिकार त अझै बढाउनु पर्छ । यो बिचको प्रदेशको यत्रो ठूलो भार किन ? प्रादेशिक संरचनाको कुनै औचित्य नै छैन ?
संघीयता बोकेका ठेकेदारहरुले नै मलाई भन्ने गर्छन । यो चलाउन निकै गाह्रो भयो भनेर । पहिले ६ सय १ जना सांसद हुँदा बढी भयो भन्ने हामीले अहिले त ८ सय भन्दा बढीलाई बोकेर हिँड्नु परेको छ ।
केन्द्र र स्थानीय निकायसँगको समन्वय गर्न प्रदेशमा सानो खुकुलो एउटा प्रशासनिक संयन्त्र चाहिं बनाउनु पर्छ । जति सक्दो छिटो यो प्रदेशलाई खारेज गर्नुपर्छ, हटाउनुपर्छ ।
नागरिकले मत दिएनन् त्यस कारण नेपालको सन्दर्भमा संघीय प्रणाली ठिकै हो भनेर तीनै संघीय प्रणाली बोकेकालाई भोट दिनेहरुलाई अहिले पछुतो छ । न्याउली मारी पछुतो छ ।
नर्क गए पनि, स्वर्ग गए पनि मरे पछि न हो जाने त । त्यसैले अहिले थाहा पाइराखेका छन् नागरिकले पनि । संघीयताले दिएको भारी पीडा अहिले जनताले बुझ्न थालिसके हेर्नुस् ।
नागरिकलाई कुरा बुझ्न समय लाग्छ । तर नागरिकले त बुझेनन्, यो कुरा सत्य नै भए पनि छाड्नु पर्छ भन्ने चै हामी होइनौँ । सिद्धान्तको राजनीति गर्ने हामीले कहिले पनि सहीलाई छाडेर गलत अंगाल्न सक्दैनौँ ।
केही मुट्ठिभर मान्छेको समृद्धि त राणाशासनमा पनि थियो । राणाको भाइ भारदारहरुको कत्रा कत्रा दरबार थिए त्यति बेला पनि । तर सर्वसाधारणको त अहिले पनि विचल्ली छ । दैनिक हजारौँ युवा अरबको खाडि मुलुकमा जान परिरहेको छ । उद्योग धन्दा कलकारखाना छैन । खेतबारी सबै बाँझै छ । मुलुक उजाड बन्दै छ । कमजोर बन्दै छ । झन झन परनिर्भरता बढ्दै गइरहेको छ । यो सरकारको समृद्धि र सुखी भनेको यही हो त ?
खोइ त शान्तिसुरक्षा ? भ्रष्टाचारी, ठेकेदार, माफियाहरुको चंगुलबाट सरकार मुक्त हुनै सकेन । नाम कम्युनिष्ट सरकार । नाम सुब्बिनी के खाएर उभिनि भने जस्तो बनेको छ । नाम कम्युनिष्ट सरकार, दुई तीहाईको सरकार । तर यो सरकार शान्तिसुरक्षा कायम गर्न सक्दैन । महंगी नियन्त्रण गर्न सक्दैन, भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भने के को दुई तीहाईको सरकार ?
त्यसो हुनाले नागरिकले पाँच वर्ष सम्मका लागि भोट हाल्ने बेला त हाले तर कति सम्म सहन सक्छन् हेर्न बाँकी छ । नागरिकले त राम्रो काम गर भनेर भोट दिएका हुन् नि । जे पनि गर भनेर त होइन नि ।
ठूल ठूला कुरा गर्न त पाईयो । यस्ता कुरा गर्नेलाई दण्ड गर्न त सकिँदैन । रेल ल्याउँछौँ । जहाज ल्याउछौँ । समृद्धि ल्याउछौँ । भन्न त पाईयो । पंचले नि यही भन्थे । ०४६ पछि पनि कतिपय नेताले गरेका भाषण अझै पनि जनताका कानमा गुन्जिएकै छन् । भन्न त पैसा तिर्न परेन नि । यो सब सपना देखाउने काम मात्रै हो ।
राणा गए, राजा गए तर हाम्रा नेताहरुको प्रवृत्ति कहिल्यै गएन । समृद्धि भनेको पहिले आफूलाई, आफ्ना परिवारलाई, आफ्ना नाता गोतालाई अनि बढी गर्यो भने आफ्ना गुट भित्रका मान्छेलाई भएको छ । आमूल परिवर्तन नभई देशका नागरिकको आधारभूत समस्या समाधान हुनै सक्दैन । हिजोको मेसिनरी सबै फाल्नु पर्छ । राणा कालमा रहेको मेसिनरी पंचायतकालमा रह्यो । पंचायतकालको मेसिनरी बहुदल आएपछि रह्यो । गणतन्त्र आएपछि पनि त्यही मेसिनरी छ । सडेगलेको मेसिनरी । त्यो मेसिनरीले राष्ट्र र जनताको स्वार्थलाई अगाडि राखेर भन्दा आफ्ना स्वार्थ अगाडि सार्छ ।
राष्ट्रिय जनमोर्चाले अहिले देशव्यापी रुपमा संघीयता विरोधी अभियानमा छ । संघीयता खारेज भएन भने संघीयताले देशै खारेज गर्छ भनेर देशैभर हामी बुझाउँदै हिँडेका छौँ ।
अब संघीयता खारेजीको विकल्प नै छैन । देशै भर अभियानमा हिँड्दा नेपालीको समृद्धि, जातीय भाषिक एकताको लागि संघीयता होइन रहेछ भनेर धेरैले बुझेको मैले पाएँ ।
संघीयताको विरोध नगर भनेर हामीलाई पनि प्रलोभन देखाइयो । आर्थिक प्रलोभन आयो । धम्कि पनि आयो । संघीयताको विरोध गरे माछौँ भन्ने सम्मको धम्की आयो । सरकारले त्यो पत्ता लगाउन एउटा छानविन समिति पनि बनायो । पछि त्यो फास फुस भयो । छानविन समितिले के गर्यो थाहा भएन ।
तर मलाई पार्टी चलाउन १० करोड दिन्छु संघीयताको विरोध गर्न छाडिदेउ सम्म भने । अन्तिममा ५० करोडसम्मको अफर आयो । मलाई मार्ने धम्की आएको, आर्थिक प्रलोभन दिइएको बारेमा आएको टेलिफोन कुराकानी त माधव नेपाल, झलनाथ खनाल सबैले सुनेकै छन् । उनीहरुकै अगाडि आयो फोन ।
तर हामी त्यो प्रलोभनमा परेनौँ । मार्ने धम्कीको प्रवाह मलाई थिएन । हाम्रो पार्टी एउटै विचार लिएर त्यो बेलादेखि अहिलेसम्म पनि अनवरत लागिरहेका छौँ । हाम्रो यो सम्झाउने बुझाउने र जागरुक पार्ने अभियान देशका नागरिक सचेत नहुँदासम्म चलिनै रहन्छ ।
(नेता केसीसँग उज्यालोका लागि नवराज फुयाँलले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
केसी राष्ट्रिय जनमाेर्चाका अध्यक्ष हुन् ।
Thapa chhabiraj
Oct. 23, 2018, 1:47 p.m.Yes we need kingdom Nepal