गण्डकीमा कुन दललाई कति वटा मन्त्रालय ?

 वैशाख २६, २०८० मंगलबार १७:५४:२४ | रासस
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारमा कुन दलले कति वटा मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र) ले दुई र नेकपा (एकीकृत समाजवादी) ले एउटा मन्त्रालय पाउने भएको हो ।

कांग्रेसको प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । ‘कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा गृहकार्य भइरहेको छ’, उहाँले भन्नुभयो, ‘केही दिनमै मुख्यमन्त्रीज्यूले सरकारलाई पूर्णता दिनुहुन्छ ।’

मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरूले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताउनुभयो । ‘केन्द्रीय गठबन्धनसँग पनि जोडिएको विषय भएकाले नेकपा एसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा माथि नै सहमति बन्छ’, उहाँले भन्नुभयो ।

प्रदेश सभामा राजीव गुरुङ नेकपा (एस) का एक्लो सदस्य हुनुहुन्छ । मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित हुनुभएका उहाँ पछि नेकपा एसमा प्रवेश गर्नुभएको थियो । प्रदेश सभामा सत्तारूढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात (सभामुखबाहेक) प्रदेश सभा सदस्य छन् । 

माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरूले तीन वटा मन्त्रालयमा दाबी गर्दै आए पनि दुई वटा मन्त्रालय पाउने सहमति बनेको बताउनुभयो । ‘कांग्रेस र माओवादी केन्द्रबीच सहमति भइसकेको छ, नेकपा एसको विषयमा मुख्यमन्त्रीज्यूले नै मिलाउनुहुन्छ’, उहाँले भन्नुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका नेता चुमानले माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पाउने सम्भावना रहेको उल्लेख गर्नुभयो । ‘अब माओवादीका कारण मन्त्रिपरिषद् विस्तार रोकिन्न, बरु कांग्रेसभित्रै मन्त्रीका आकाङ्क्षीलाई मिलाउन समय लाग्न सक्छ’, उहाँले भन्नुभयो ।

निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा पनि माओवादीले दुई वटा मन्त्रालय पाएको थियो । त्यही सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा पुर्‍याएको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले गएको २१ गते प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको थियो । विश्वासको मत पाएसँगै उहाँ मन्त्रिपरिषद् विस्तारको तयारीमा जुट्नुभएको छ । 

अहिले मन्त्रिपरिषदमा मुख्यमन्त्री पाण्डेसहित विनाविभागीय मन्त्रीका रूपमा माओवादी केन्द्रकी प्रदेश सभा सदस्य सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी रहनुभएको छ । मन्त्रिपरिषद्को पूर्णतापछि सरकारका काम कारबाहीले गति लिने सरकारका प्रवक्ता एवम् विनाविभागीय मन्त्री तिवारीले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया