उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
पहिला पनि अरु धेरै काण्डहरु बाहिर आएका थिए । तर, कुनै पनि काण्ड छानबिनको दायरामा आएन र निष्कर्षमा पनि पुगेन । धेरै काण्ड गुपचुप राखियो । त्यसै सकियो । सुडान काण्ड बाहेक खास मान्छे समाएर जेल हाल्ने काम भएन । त्यसकारण भ्रष्टाचार गर्दा केही हुँदैन, गर्दा हुन्छ भनेर भ्रष्टाचार गर्नेहरु उत्साहित हुँदै गए । यस्ता काण्डमा नागरिकबाट पनि जुन किसिमको पहरेदारी हुनुपर्ने हो त्यस्तो हुन सकेन होला शायद । अब यसमा नागरिकलाई पनि केही भन्ने कुरा भएन उसको आफ्नो रोजीरोटीमै दिन जान्छ । शान्ति, सुरक्षा, नियम, कानुन बनाएर देश हाँक्न चुनिएकाबाट यस्तो घटना हुन्छ भनेर कल्पना गर्न सकिने कुरा पनि भएन ।
अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरण एकै पटक झ्वाट्टै बाहिर आयो । मैले सुनेको जानेको अनुसार यो प्रकरणमा ठगिएकाहरुले प्रहरीलगायत अन्य धेरै ठाउँमा निवेदन दिएका थिए । अब दुई/चार जनालाई थामथुम गरेर हुने भए गर्थे पनि होला तर, धेरै भएको हुनाले शायद यसमा थामथुम पनि भएन त्यसकारण बाहिर आयो भन्ने सुनेको छु । तर, जे होस् अहिले प्रहरी प्रशासन अनि सरकार यसमा लागेको छ त्यो प्रशंसनीय नै छ । अब हामी टनेलतिर छिरिसकेका छौँ । अब त्यो अँध्यारोबाट निष्कर्षतिर उज्यालोतिर आउनुपर्यो । यसमा चलखेल अझै हुनसक्छ । निर्दोष छ भने कारबाही हुनु भएन दोषी छ भने उसलाई छोड्नु भएन । यो ठूलो प्रकरण हो त्यसकारण यसमा सबैको जागरुकता अनि पहरेदारी पनि आवश्यक छ ।
नेताहरुले नागरिकको विश्वास गुमाएको अवस्था
शीर्ष नेताहरुले विगतको व्यवहारले धेरै कुरा गुमाइसक्नु भएको छ । उहाँको बोली, व्यवहारलाई नागरिकले विश्वास गर्दैनन् । पटक पटक उहाँहरुबाट धोका पाएको हुनाले उहाँहरुलाई विश्वास गर्ने आधार पनि देखिँदैन । उहाँहरुकै कारणबाट यो अवस्था आएको हो । उहाँहरुलाई चुनेर सरकारमा पठाउनु भनेको बिर्ता दिएको हो र ? नेपाल तपाईँको बिर्ता हो भनेर हामीले उहाँहरुलाई दिएको हो र ? संस्थाहरु हेर्नुस् त कुन गति बनाउनु भएको छ उहाँहरुले । कुन गतिमा लग्नु भएको छ । यसका बारेमा नागरिकको तर्फबाट हामीले नभनेको होइन । पटक पटक भनेका छौँ । संस्था बिग्रियो भने देशलाई घात हुन्छ भनेर भन्दा पनि नमानेर आफ्नो मान्छे राख्नलाई, आफ्नो मान्छे च्याप्नलाई, आफ्नो मान्छे घुसाउनलाई जुन चलखेल भयो यसकारण उहाँहरुप्रति नागरिकको विश्वास छैन ।
उहाँहरुले धेरै कारणले विश्वास गुमाइसक्नु भयो । उहाँहरुले पनि आफ्नो समयमा धेरै योगदान पुर्याउनु भएकै हो । तर, केही वर्षयता उहाँहरुले विश्वसनीयता गुमाउनु भएको छ । अब उहाँहरुको विश्वसनीयता भनेको यसलाई सघाएर निष्कर्षमा पुर्याउनु हो । यदि सबैले सहयोग गरेर निष्कर्षमा पुर्याउनु भयो भने उहाँहरुको विश्वसनीयता बढ्छ । नत्र जनताको माझमा उहाँहरुको विश्वसनीयता सकिन्छ । चुनाव भनेको त यस्तै हो कसरी जितिन्छ थाहा छ तर, जनताको विश्वास पाउनु भनेको ठूलो कुरा हो ।
कर्मचारीले हुँदैन भन्न सक्नुपर्छ
अन्तर्राष्ट्रिय स्तरमा पनि यसले नेपालको बदनाम गरेको छ । साथीहरुलाई मैले भन्ने गरेको छु यदि अहिले राजदूत भइदिएको भए कुन मुखले मैले मुकाबला गरेर विदेशीहरुसँग कुरा गर्ने होला ? कसरी देशको मुद्दा उठाउने होला ? उनीहरुले त्यहाँ राजदूतभन्दा पनि कुन सरकारबाट आएको भन्ने कुरा हेर्छन् । यो चानचुने कुरा होइन । अमेरिकाले कसरी हेर्छ अब हामीलाई । भोलि गएर ब्रिटिशले हेर्ला, भारतले हेर्ला । यो चानचुने कुरा पटक्कै होइन । यो ठूलो प्रकरण हो । यो सुन काण्ड जस्तो सानो घटना होइन । त्यो घरेलु मामिला पनि मान्न सकिएला । तर, यसले अन्तर्राष्ट्रिय स्तरमै हामीले शिर निहुराउनु पर्ने अवस्था आएको छ ।
यसलाई सरकारले निष्कर्षमा पुर्याएछ भने हाम्रो विश्वसनीयता केही बढ्छ । नेपालमा पनि केही प्रणाली, संरचना रहेछ अन्त जस्तै यसले निष्कर्षमा पुर्यायो भन्ने हुन्छ । नेपालमा पनि लोकतन्त्रले काम गरेको रहेछ, प्रणालीगत संरचना राम्रो रहेछ भन्ने देखाउँछ । हामीले यसलाई निष्कर्षमा पुर्याउन सक्यौँ भने त्यहाँ पनि प्रजातान्त्रिक व्यवस्था रहेछ, सुशासन रहेछ, संयन्त्र राम्रो रहेछ भन्ने सन्देश जान्छ । यत्तिकै फासफुस बनायो भने कसैले विश्वास नगर्ने संसारका अरु देश जस्तो बन्न जान्छ ।
यस्ता घटनामा कर्मचारीले हुँदैन पनि भन्न सक्नुपर्छ । हामीले राजनेताहरुसँग काम गर्यौँ । कतिपय कुरामा यो हुँदैन, हुँदै हुन्न, गर्न सकिँदैन भनेर अडान लिएको थाहा छ । जुन मन्त्रीलाई यस्ता कुराका बारेमा भन्नुपर्छ त्यस्तो भनेको धेरै उदाहरण छन् । त्यसका लागि आँट पनि चाहिन्छ । पहिला त्यस्ता आँट भएका मान्छे पनि देखिए । देवेन्द्रराज पाण्डे त्यसैगरी बाहिरिनु भयो । पेन्सन पाउन केही समय बाँकी हुँदा उहाँ छोडेर निस्कनु भएको हो ।
सचिव भनेको तलको खरिदार त होइन नि । बिसौँ, पच्चीसौँ वर्षको लगानी पछि ऊ त्यो पदमा पुगेको हुन्छ । सचिव पढाइले मात्र हुने होइन । अनुभव, नेतृत्व, क्षमता, दृढता सबैले सचिव हुने हो । पहिले पहिले हामीले त्यस्तो सचिव देखेकै हो । त्यस्ता एक से एक सचिव देखेको, भेटेको छौँ हामीले । प्रधानमन्त्रीलाई हुँदैन भने सिधा क्याबिनेटमा भन्न सक्ने मान्छेहरु थिए । त्यस्तै मान्छेहरु ल्याउनुपर्छ माथि । जब तपाईँले प्रशासनमा आफ्ना चाप्लुसीका मान्छेहरु मात्रै ल्याउनुहुन्छ भने यस्तै गति हुन्छ ।
पार्टीहरुले पूर्ण सहयोग गर्नुपर्छ
अहिलेको घटनामा दोषी देखिएका राजनीतिका पात्रलाई निलम्बन गर्ने कुरा त छँदैछ । पार्टीहरुले यो प्रकरणमा छानबिनलाई सहयोग गर्दै पूर्णरुपमा निष्कर्षमा पुर्याउन सहयोग गर्नुपर्छ । अहिले तीन दलका शीर्ष नेताहरु भेट्दा पनि यो प्रकरणलाई प्रभाव पार्नलाई गरेको हो कि भन्ने छ । त्यसकारण विश्वसनीयता भनेको धेरै ठूलो कुरा हो । उहाँहरु भित्र चिया खाएर गम्भीर कुरा गरिरहनु भएको होला तर, बाहिर नागरिकलाई यिनीहरु भित्र बसेर ह्वीस्की खाएर बदमासी गरिरहेका छन् भन्ने ठान्छन् । उहाँहरुले राम्रै कुरा गरे पनि नराम्रो कुरा गर्छन् भन्ने छाप परेको छ नागरिकमा । किनकि उहाँहरुले त्यो विश्वसनीयता गुमाइसक्नु भएको छ ।
नागरिकहरु नै अहिले यो प्रकरणमा जागिसकेको हुनाले उहाँहरु मिले पनि अब त्यो सम्भव छैन । अब नेपाली नागरिकहरु धेरै सचेत भइसकेका छन् । त्यसकारण अब आउने चुनाव पनि पहिलेको जस्तो हुँदैन । फरक हुन्छ । युवा पुस्ताहरु माथि आउँदैछन् । नागरिकहरु पनि सचेत देखिएका छन् । मानिसहरुले दुःख खेप्दा खेप्दा एउटा चरम अवस्था भएको छ । नागरिकहरु वैदेशिक रोजगारीमा छन् । गाउँ खाली छ । सुशासनको अवस्था छैन । नागरिकहरु किङ्कर्तव्यविमूढको अवस्थामा छन् । नागरिहरुले राम्रो नेतृत्व आओस् भनेर खबरदारी पनि गरिरहेका छन् ।
यसअघिका काण्डको पनि छानबिन होस्
नागरिक समाजको अहिलेको कुरा भनेको यो घटनामा मात्र नभएर यस अघिका भ्रष्टाचार विभिन्न काण्डको छानबिन होस् र कोही पनि दोषी नछुटोस् भन्ने नै हो । दोषी छुट्दा ऊ छुट्ने मात्र नभइ जस्ले दुःख पाएका थिए तिनीहरु पनि अन्यायमा परे । त्यो भन्दा पनि डरलाग्दो भनेको यसरी खाएर गर्दा पनि हुने रहेछ भन्ने मनोबल बढ्ने भयो । यसले देशको राष्ट्रिय नैतिकताको जालो अर्थात् ‘मोरल फाइबर’ लाई नै असर पुर्याउँछ । डेनमार्क, फिनल्याण्डतिर अलिकति तलमाथि भयो भने उसको जागिर जान्छ । उसले राजीनामा दिनुपर्ने हुन्छ । उनीहरुले आफूलाई नैतिकताको त्यो धरातलमा राखेका छन् । पहिला पहिला नेपालीको अवस्था पनि त्यस्तै थियो । हामीले विदेशमा पढ्दा नेपाली विद्यार्थी भनेपछि उनीहरुको हेर्ने दृष्टिकोण नै अर्को हुन्थ्यो । सानो, कठिन पहाडी भूगोल भएको ठाउँबाट आएको तर इमानदार हुन्छन्, प्रष्ट बोल्छन् भन्ने छाप थियो । तर, यस्तो प्रकरणलाई माफी दिने हो भने यस्ता कुराहरुमा असर पर्दै जान्छ ।
भ्रष्टाचारको अरु काण्डको छानबिनमा पनि यस्तै दबाब दिनुपर्ने हो नागरिक समाजले । एउटा आयोग नै बनाएर यस्ता सबै अनियमितताको जाँच होस् भन्ने हो । कसरी सुरु भयो, को को दोषी थियो भन्ने नागरिकको जानकारीमा त आउनु पर्यो नि । अहिले यो काण्डमा निष्पक्ष छानबिन होस् भन्ने नेताहरु पनि अरु काण्डमा दोषी छन् भन्ने कुरा आइरहेको छ त्यसकारण त्यसको पनि छानबिन हुनुपर्छ भनेको हो । हेर्नुस् बढारेर कार्पेटमुनि कहिले पनि फोहर राख्नुहुन्न । सरकार राम्रोसँग सञ्चालन गर्ने अनि नागरिकको विश्वास जित्ने हो भने त्यसलाई सधैँ सफा नै राख्नुपर्छ । यसमा प्रोत्साहन दिने हो भने यस्ता घाउहरु अझ ठूला हुँदै जान्छन् । यसमा केही नगर्ने हो भने यतिसम्म खाँदा केही पनि हुँदैन भन्ने मापदण्ड बस्न जान्छ ।
नागरिक समाजलाई अस्ति माइतीघरमा आएर खबरदारी गरेझैँ अन्य मुद्दामा किन गरेन भन्ने पनि आरोप छ तर नागरिक समाज भनेको के हो भनेर पनि बुझ्नुपर्छ । आफू भने घरको कौसीबाट तल नझर्ने अनि खोइ त नागरिक समाज आएको भनेर भन्नेहरुले आफ्ना परिवारका सदस्य अनि छोराछोरीलाई चाहिँ नपठाउने अनि आफू चाहिँ कराउने गरेको सुनिन्छ । त्यसो गर्नु भएन । नागरिक समाज भनेको हरेक नागरिक हो । उनीहरु आउनुपर्छ । हरेक नागरिकले चासो दिनुपर्छ । यसको नेतृत्व गर्ने भनेको फेरि युवा पुस्ताले नै हो । उहाँहरुले नेतृत्व गरिरहनु पनि भएको छ । नागरिक आन्दोलन पनि कमजोर भएका कारण यस्ता कुराहरु आएका हुन् । यसलाई सशक्त बनाउन विश्वविद्यालयको पढाइसँग गाँस्नुपर्छ।
विश्वविद्यालयले जागरुक नागरिक तयार पार्नुपर्छ
अहिले विश्वविद्यालयमा हुने पढाइ त जाँचको लागि मात्रै हुने पढाइ भयो । तर, त्यसो होइन । यस्ता देश, समाज र आफूसँग सम्बन्धित प्रश्नहरु कोट्याउने, जुध्ने, लड्ने, प्रश्न गर्ने खालको हुनुपर्यो । संस्कृतिका लागि भनेर हामीले त्यत्रो गर्यौँ तर संस्कृतिका विषयमा न प्राध्यापकहरु बोल्छन् न त विद्यार्थीहरु नै बोल्छन् । त्यहाँको पढाइ जागरुक गर्ने खालको भएन । जागरुक भनेको सडकमा ल्याउने खालको भन्ने होइन । प्रश्न गर्ने हुनुपर्यो नि पढाइ भनेकै प्रश्न गर्ने हो नि । प्रश्न गरेर यो किन भयो, कसरी भयो भन्न सक्नुपर्छ । हाम्रो विश्वविद्यालयको पढाइ नै अहिले जागिरको लागि तयार गर्ने जस्तो देखियो । विश्वविद्यालयको पढाइ भनेको जागिरे तयार गर्ने हो कि एउटा जागरुक नागरिक तयार गर्ने हो । त्यो बनाउन हामी चुकेका छौँ ।
अहिले सामाजिक सञ्जालका कारण पनि यो प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब परिरहेको छ । यो उमेर सडकमा गएर आन्दोलन गर्ने उमेर होइन । तर, पनि के बुझियो भने नागरिकले खबरदारी गरेन भने प्रजातन्त्र बाँच्दैन । प्रजातन्त्र बचाउने हो भने सचेत नागरिक चाहिन्छ । पश्चिमाहरुले यसलाई ‘गुड सिटीजनरी’ भन्ने गर्छन् । यसकारण अहिले सामाजिक शिक्षा पढाउनलाई जोड दिनुपर्ने भएको छ । अरु भूगोल, इतिहास, नेपाली, अंग्रेजी आदि हामी पढ्छौँ ठीकै छ ।
तर, जागरुक नागरिक बनाउने भनेको समाजशास्त्रले हो । समाजशास्त्रको राम्रो अध्ययन/अध्यापन हुनुपर्छ । एक पटक बर्गीन युनिभर्सीटी पुग्दा त्यहाँको भीसी दिक्क मानेर बसिरहेको पाएँ । किन दिक्क मानेको भनेर सोध्दा उहाँले हिजो विद्यार्थीहरुको चुनाव थियो तर, दश प्रतिशत विद्यार्थीले मात्र भाग लिए अब हाम्रो देशको भविष्य के होला भनेर घोत्लिएको भन्ने उहाँको जवाफ थियो । विद्यार्थीलाई उनीहरुको युनियनमा रुचि छैन भने भोलि के होला भन्ने चिन्ता उनीहरुमा देखियो ।
हामीले शिक्षामा भुल्नै नहुने कुरा भनेको जागरुक नागरिक कसरी तयार पार्ने भन्ने हो । आफ्नो आफ्नो विषयमा योग्य होला तर, आफ्नो विषयमा भने जागरुक हुनैपर्छ । त्यो भनेको शिक्षा, स्वास्थ्य, वातावरण, सुरक्षा अनेक विषयमा नागरिक जागरुक हुनैपर्छ अनि मात्र नेताहरुलाई ठीक ठाउँमा राख्छ । त्यो नभएर पनि यहाँका नेताहरु मात्तिएका हुन् । हामीले जे गरे पनि हुन्छ, जुनसुकै संस्थामा जस्लाई टीका लगाइदिएर पठाए पनि ऊ ठीक भन्ने भयो । उहाँहरुले कस्ता कस्ता मान्छे चयन गर्नुहुन्छ भन्ने हामीले देखेका छौँ ।
संसदबाट नै खबरदारी
अहिले सरकारले जताततै सेटिङ मिलाएको भन्ने सुनिन्छ । अख्तियारलाई पनि पूर्ण अधिकार छैन भन्ने सुनिन्छ । मन्त्रिपरिषदमा भएको निर्णय पनि कसैले हेर्न पाउँदैन भनेको सुनिन्छ। कर्मचारीको तहमा हुने निर्णय पनि माथि मन्त्रिपरिषदमा लगेर निर्णय गराएपछि कसैले नछुने भयो । धेरै नियम, कानुनलाई सम्बोधन गर्नुपर्ने हुन्छ । त्यो गरेपछि उहाँहरुलाई पनि डर हुन्छ । अहिले काम हुनुपर्ने भनेको संसदमै हो ।
अहिले संसद्ले एउटा समिति नै बनाएर सरकारमा रहेका र अन्य सरकारी निकाय तथा राजनीतिक व्यक्तित्वहरुलाई कसरी निगरानीमा राख्ने भनेर समिति नै बनाउनुपर्छ । नेताहरुले आफ्नो सुविधाको लागि सबैलाई कमजोर बनाउँदै लगे । अहिले भएको पनि त्यही हो । अख्तियारले यो विषयमा अहिलेसम्म एक शब्द पनि बोलेको छैन । कहाँ छ भन्ने नै थाहा छैन ।
नियम कानुन संसदबाट बनाउने हुनाले संसदबाट नै खबरदारी हुनुपर्यो । नागरिकहरु पनि यो कुरामा मात्र नभएर सबै कुरामा सचेत हुनुपर्यो । अहिले त सामाजिक सञ्जाल तथा अन्यत्र पनि यस्ता विषयमा चासो र छलफल भएको सुनिन्छ । साथै नागरिकहरु पनि चाहेको बेलामा बाहिर आउनुपर्छ । नागरिकले पनि निरन्तर खबरदारी गर्नुपर्छ । प्रजातन्त्र बलियो हुने भनेकै नागरिकको खबरदारीले हो ।
(शिक्षाविद् समेत रहेका नागरिक अभियन्ता माथेमासँगको कुराकानीमा आधारित।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
माथेमा पूर्व राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं नागरिक अगुवा हुनुहुन्छ ।
Buddhi bastola
May 14, 2023, 12:18 p.m.खै के खै के भने जस्तै हामी जनता र बिज्ञ बनाउदा पनि दोषी हौ यस प्रकारका घटना बारम्बार दोहरिनमा खै हामिले बारम्बार खवरदारी गरेको केही समय करायो बिर्सियो अव पहिलाको काण्डहरुमा हामीले खवरदारी गरी रहेको भए आज आएर फेरी यस्तो काण्ड दोहोरिने थिएन कि सायद