अर्घाखाँचीमा वनमा आगो लगाउने ४ जना पक्राउ

 जेठ २, २०८० मंगलबार १९:३०:३६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका–२ ढाकाबांगकाे वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई पक्राउ गरेर आज मङ्गलवार सार्वजनिक गरेको हाे । जङ्गली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिए ।

गएकाे वैशाख २६ गते मङ्गलवार भूमिकास्थान २ ढाकाबांगकाे वनमा काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो । आगलागीमा ढाकाबांगका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेको ज्यान गएकाे थियाे ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । यो नियममा छ महिनादेखी दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सन्धिखर्क नगरपालिका–७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क–३ खाँचीखर्कमा आगो लगाउने ५० वर्षीय मजुना निशालाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

जनावरलाई धपाउने, काँडा तथा पात पतिङ्गर जलाउने, हेलचेक्र्याइँ गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षति बढेपछि प्रहरीले सक्रियता देखाएको छ । ‘हेलचेक्र्याइँ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ’, डीएसपी रिजालले भन्नुभयाे,‘ विशेषगरी फागुनदेखि असारसम्म सबै चनाखो बन्नु होला ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया