विदेशमा ज्यान गुमाउने श्रमिकको खुल्दैन मृत्युको यकिन कारण

 जेठ ३, २०८० बुधबार १५:७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सर्लाहीका दीपेश कुर्मी सन् २०२२ को जुलाईमा सुरक्षा गार्डको रूपमा मलेसिया पुग्नुभएको थियो ।

तर मलेसिया पुगेको चार महिनामै उहाँको प्राण सधैँका लागि निभ्यो । म्यानपावर कम्पनीलाई एक लाख ७० हजार रुपैयाँ तिरेर जानुभएका दीपेशको के कारणले मृत्यु भयो भन्ने यकिन कारण लेखिएको छ ।

मृत्युको कागजातमा ‘नेचुरल डेथ’ अर्थात् प्राकृतिक मृत्यु भनिएको छ । तर दिनभरि काम गरेर बेलुका खानपिन गरी सुतेको मानिस बिहान नबिउँझिनु कसरी प्राकृतिक मृत्यु हुन्छ रु परिवारले चित्त बुझाउन सकेको छैन ।

सिराहाका ध्रबकुमार काँपर सन् २०१८ को जुनमा म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानुभएको थियो । साउदीमा निर्माणकाे क्षेत्रमा लेबरको रूपमा जानुभएका ध्रबकुमार त्यहाँ पुगेको चार महिना मात्र पुग्दै थियो ।

अक्टोबर १२ का दिन पनि उहाँ सधैँ झैँ काम गरेर फर्कनुभएको थियो । तर भोलिपल्ट बिहान नबिउँझिएको खबर परिवारले पायो । बेलुकीपख खाना खाएर सद्दे ज्यान निदाउनुभएका ध्रुबकुमारको मृत्युको कारण यकिन गरिएको छैन। 

कतारमा काम गरिरहेका धनुषाका शिवलाल मेहताको परिवारले सन् २०२० को जुनमा एक्कासी उहाँको मृत्युको खबर पायो । कतारमा निर्माणकै क्षेत्रमा काम गर्न जानुभएका शिवलालको शव सँगै आएको कागजमा भने मृत्युको कारण प्राकृतिक लेखिएको थियो । 

‘बिरामी भएको पनि थाहा थिएन, हामीलाई त एक्कासी यस्तो भयो भन्ने खबर मात्र आएको थियो’ श्रीमती रिंकुदेवी भन्नुहुन्छ ‘के कारणले यस्तो भयो भन्ने नै थाहा भएन, सद्दे मान्छे गएको थियो ।’

नेपालबाट स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र लिएर वैदेशिक रोजगारीमा गएर उतै ज्यान गुमाएका ३३.१४ प्रतिशतभन्दा धेरै नेपालीको मृत्युको यकिन कारण नखुल्ने गरेको प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले गरेको एक अध्ययनले देखाएको छ ।

विदेशमा ज्यान गुमाएका श्रमिकको शवमा आउने अधिकांश कागजातमा मृत्युको कारणमा कि त प्राकृतिक कि त ह्दयघात लेख्ने गरिएको पाइए पनि प्राकृतिक मृत्यु भनेको कस्तो अवस्थामा भएको हो भनेर लेख्ने गरेको नपाइएको अध्ययनले देखाएको छ ।  

श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाल विदेशमा कमाएर नेपालको अर्थतन्त्रलाई टेको दिइरहेका मृत्युको कारण खोज्न सरकार पछि पर्न नहुने बताउनुहुन्छ ।

‘प्राकृतिक मृत्यु भनिएको छ त्यो भनेको के हो, आफ्ना नागरिकले कुनै पनि देशमा के करणले ज्यान गुमायो भनेर सरकारले सोधिखोजी दह्रोसँग गर्न पर्छ ’ नेपाल प्रश्न गर्दै भन्नुहुन्छ ‘कोही नेपाली दिनभर काम गरेर फर्किएको हुन्छ बेलुका सद्दे सुत्छ बिहान उठ्दैन त्यो मृत्यु प्राकृतिक कसरी हुन्छ ।’

नेपालबाट रोजगारीका लागि गएका थुप्रै नेपालीको सडक दुर्घटनामा परेर पनि ज्यान जाने गरेको छ भने केही श्रमिकको आत्महत्याको कारण पनि ज्यान गुमाउने गरेको बोर्डको तथ्याङ्कले देखाउँछ । तर यसबाहेक रोजगारीका लागि गएको आफ्नो मानिसको के कारणले मृत्यु भयो भन्ने कुरा धेरैजसो परिवारका सदस्यलाई जानकारी नहुने गरेको छ ।

नेपालीको मृत्युको प्रमुख कारण असुरक्षित कार्यस्थल र वासस्थान

स्वास्थ्य परीक्षण गराएर स्वस्थ ठहरिएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरूको ज्यान जानुमा कुनै घातक रोगको कारणभन्दा पनि काम गर्ने वातावरण र व्यवसायजन्य सुरक्षा कमजोर हुनु मुख्य कारण भएको एक अध्ययनले देखाएको छ । 

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको ‘नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ ले स्वास्थ्य परीक्षण गरेर स्वस्थ ठहरिएका नेपालीहरूको गन्तव्य देशमा मृत्यु हुने क्रम बढ्नुमा विदेशमा बस्ने वासस्थान, खानपान, व्यवसायजन्य सुरक्षा र काम गर्ने क्रममा अपनाइने सुरक्षाका उपायहरू कमजोर भएको ठहर गरेको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्य परीक्षणमा पास भएका स्वास्थ्य व्यक्तिहरूले मात्र वैदेशिक रोजगारीको यात्रा गर्न पाउँछन् । तर पछिल्लो समय रोजगारीको क्रममा ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०६५/२०६६ देखि  २०७७/२०७८ सम्ममा मात्रै ९ हजार तीन ३६८ जनाको ज्यान गएको छ ।

यो सङ्ख्या विदेशमा श्रम अवधि भित्रै ज्यान गुमाएका श्रमिकका परिवारलाई बोर्डले आर्थिक सहायता दिएकाको तथ्याङ्क हो । जसमध्ये ९ हजार १४८ जना पुरुष र २१५ जना महिला रहेका छन् । तर यो सङ्ख्या यो अवधिमा ज्यान गुमाउने सबैको भने होइन । बोर्डले श्रम स्वीकृतिको अवधि सकिएकाहरूलाई आर्थिक सहायता प्रदान गर्दैन र उनीहरूको तथ्याङ्क बोर्डसँग हुँदैन ।

विदेशमा ज्यान गुमाएका व्यक्तिका परिवारले पाउँदैनन् कम्पनीबाट राहत

प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सन् २०१७ मा विदेशमा ज्यान गुमाएका ३०५ जना श्रमिकको केशमा गरेको अध्ययनले ७० प्रतिशतभन्दा बढी मृतकका परिवारले कम्पनीबाट र गन्तव्य देशबाट कुनै पनि सहयोग र राहत नपाएको देखाएको छ ।

उनीहरू मध्ये २९ प्रतिशतले मात्र गन्तव्य देशबाट पाउने आर्थिक सहायताको लागि प्रक्रिया अघि बढाएको बताएका छन् भने एक प्रतिशतले मात्र रोजगारदाताबाट आर्थिक सहायता पाएको प्रतिवेदनले देखाएको छ ।

यस्तै विदेशमा ज्यान गुमाएका श्रमिकको शव नेपालसम्म ल्याउन पनि समय लाग्ने गरेको पाइएको छ ।

मृतक श्रमिक मध्ये ४४ प्रतिशत श्रमिकको शव एक हप्ता भित्र र १३ प्रतिशत श्रमिकको शव दुईदेखि तीन हप्तामा नेपाल आइपुग्ने गरेको र बाँकी शव भने लामो समयसम्म पनि स्वदेश आई नपुग्ने गरेको आयोगको अध्ययनले देखाएको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया